Archive for November, 2023

नेपालको साधारण नागरिकको हैसियतमा अभिमत

November 25, 2023

निर्मलमणि अधिकारी

(१) नेपाली समाज धर्म मान्ने समाज भएको हुनाले हाल बहाल रहेको संविधानमा लेखेको धर्मनिरपेक्षता हटाई नेपाल “सनातन धर्मसापेक्ष राष्ट्र” संविधानतः हुनुपर्छ र संविधानमा सनातन धर्म भन्नाले वैदिक र हिन्दू, बौद्ध , किरात, बोन, जैन, प्रकृतिपूजक आदि भनेर उल्लेख गर्नुपर्छ ।

नेपाललाई धर्मनिरपेक्ष बनाउनु हुँदैन । नेपाललाई “हिन्दू राष्ट्र” / “बौद्ध राष्ट्र” / “किरात राष्ट्र” भन्नु पनि द्वन्द्वकै निहुँ हुनेछ । “सनातन धर्मसापेक्ष राष्ट्र” नेपालको सर्वाधिक उपयुुक्त परिचय हो ।

(२) गणतन्त्र वा संवैधानिक राजसंस्थामध्ये कुन चाहिँ विकल्पलाई बहुसङ्ख्यक जनताले चाहन्छन् भन्ने यथार्थ तथ्य थाहा पाउन शान्तिपूर्ण कुनै उपयुक्त विधिद्वारा जनताको मत लिनु उपयुक्त हुन्छ ।

(३) नेपाल जस्तो निकै विविधतापूर्ण राष्ट्रमा ढङ्ग पुर्याएर लागू गर्ने हो भने सङ्घीयताले राष्ट्रको समग्र विकासका लागि अवसर मिल्छ । अहिले लागू गरेको सङ्घीयता बेढङ्गको, खर्चिलो, असक्षम देखिएको छ । नदी प्रस्रवण क्षेत्रका आधारमा उत्तर-दक्षिण तीन-जोड-एक (३+१) प्रान्तीय (तीनवटा प्रान्त र एउटा राष्ट्रिय राजधानी क्षेत्र) संरचना हुनुपर्छ । नेपालमा कानुन निर्माण अर्थात् विधायनका लागि निर्वाचित सांसदहरू मन्त्री बन्न नपाउने कानुनी प्रावधान बनाउनु पर्छ । सांसदलाई सांसद विकास कोष वा अन्य कुनै बहानामा राज्य कोषबाट करोडौँ रकम दिइने प्रावधान पनि बन्द गर्नु पर्छ । सांसदहरू कानुन निर्माण र सुशासनको निगरानीमै केन्द्रित हुनुपर्छ ।

सांसद संख्या न्यूनतम् राख्नुपर्छ, तर समावेशी चाहिँ हुनुपर्छ । नेपालमा संघीय सरकार (केन्द्र) को मन्त्रीमण्डल जम्मा नौजनाको र प्रान्त (प्रदेश) सरकारको मन्त्रीमण्डल जम्मा पाँच जनाको हुनु नै पर्याप्त हो । त्योभन्दा बढी संख्या आवश्यक होइन । प्रान्तीय प्रादेशिक तहमा प्रदेश प्रमुख र मुख्यमन्त्री राख्ने अहिलेको संरचना हटाई प्रदेशाध्यक्षको विशिष्ट संरचना राख्नु उपयुक्त हुन्छ ।

स्थानीय तहमा व्यक्ति व्यक्ति स्वतन्त्र निर्वाचनमा उठ्ने, राजनीतिक पार्टीगत चुनाव नहुने र उमेदवारको गुट वा सूची प्यानल बनाउन नपाउने कडा कानुनी व्यवस्था उपयुक्त हुन्छ ।विधायनको अधिकार संघ (केन्द्र) र प्रान्त (प्रदेश) मा मात्रै रहनु उपयुक्त हुन्छ र स्थानीय तहलाई विकास निर्माण, नागरिक कल्याण, स्रोत तथा संसाधनको व्यवस्थापन, संरक्षण, संवर्धन र प्रवर्धन, कानुन कार्यान्वयन, सांस्कृतिक समावेशीकरण, धर्म संस्कृतिको संरक्षण, शिक्षा, स्वास्थ्य, रोजगारी लगायतको प्रत्याभूति आदि जिम्मेवारीमा केन्द्रित गराउनु पर्छ ।