Archive for August, 2022

पाँचौँ विश्व संस्कृत दिवसको अवसरमा संकल्पकर्ताको वक्तव्य

August 12, 2022

श्रावणपूर्णिमा (ऋषितर्पणी)

मिति २०७९ साउन २७ गते (सन् २०२२ अगष्ट १२), शुक्रबार

हामीले विक्रम संवत् २०७५ सालमा जस्ता उद्देश्य राखेर विश्व संस्कृत दिवस मनाउने संकल्प एवं आह्वान गरेका थियौँ, तदनुरूप धेरै कार्यहरू अगाडि बढेका छन् । यद्यपि नेपाल सरकार मार्फत् संयुक्त राष्ट्रसंघसम्म विश्व संस्कृत दिवसको प्रस्ताव पुर्याई यसको वैश्विक मान्यता औपचारिक रूपले नै हासिल गर्ने उद्देश्य हासिल गर्न बाँकी नै छ । उपर्युक्त उद्देश्य प्राप्तिका लागि हामी अविच्छिन्न प्रयास गरिरहने छौँ ।
प्रत्येक वर्ष तिथि अनुसार श्रावणपूर्णिमा अर्थात् ऋषितर्पणीका अवसरमा विश्व संस्कृत दिवस भनेर नेपालमा औपचारिक मान्यताको निर्णय गर्न र यसलाई वैश्विक मान्यताका लागि संयुक्त राष्ट्रसंघ समक्ष पनि पेश गर्न विगतमा जस्तै अहिले पनि हामी नेपाल सरकारसँग माग गर्दछौँ । भारत, चीन र अन्य देशका सरकारहरूले पनि यस प्रक्रियामा मद्दत गर्ने आशा हामीले लिएका छौँ ।
प्रत्येक वर्ष विश्व संस्कृत दिवसको आयोजना गर्न थालिएपछि यसैका कारणले सञ्चार माध्यममा संस्कृतका सन्दर्भमा समाचार र अन्य सामग्रीको प्रकाशन एवं प्रसारण बढेको देखिएको छ । नेपालका सन्दर्भमा कुरा गर्ने हो भने हालैका वर्षहरूमा संस्कृतानुरागी व्यक्तिहरूको संख्यामा राम्रो बढोत्तरी देखिएको छ । संस्कृत सम्बद्ध क्रियाकलापका संख्या र गुणस्तरमा पनि उल्लेख्य प्रगति देखिन्छ । भारतमा पनि पछिल्ला वर्षहरूमा संस्कृतको पुनःजागरणका संकेत देखा परेका छन् । वैश्विक पटलमै संस्कृतको अवस्था आजभन्दा एक वा दुई दशक पहिलेको तुलनामा केही सुधारिएकै देखिन्छ ।
विश्व संस्कृत दिवसको पाँचौँ वर्षको शृंखलामा आइपुग्दा मुख्यतया आज र यसै सन्दर्भ पारेर केही दिनदेखि नेपालका अनेकौँ स्थानहरू र अन्य करिब ३० देशहरूमा विश्व संस्कृत दिवस सम्बद्ध कार्यक्रमहरू आयोजना गरिएका वा गरिँदै गरेका जानकारी हामीले पाएका छौँ । पोहोर परारको अवस्थासँग अहिलेको अवस्था तुलना गर्दा विश्व संस्कृत दिवसको प्रचार र स्वीकार्यता निकै बढेको हाम्रो अनुभव छ । यसको प्रभावले अन्ततोगत्वा संस्कृतको प्रवर्धन, संवर्धन एवं उन्नयनमा नै सकारात्मक प्रभाव पार्ने हो ।
हामीले पोहोर चौथो विश्व संस्कृत दिवसको मूल समारोहमा केही विशेष योजनाहरू घोषणा गरेका थियौँ । सोही घोषणा अनुसार नै यस वर्ष हामीले विशेष सम्मान र आरुणि संस्कृत शोधवृत्ति प्रदान गर्न प्रारम्भ गरेका छौँ । संस्कृतका क्षेत्रमा प्रभावकारी योगदान पुर्याउने वरिष्ठ एवं वयोवृद्ध विद्वान—विदुषीमध्येबाट एकजनालाई समष्टि योगदानको कदर हुने गरी विशेष सम्मान गर्ने हाम्रो पहल हो । यो सम्मान नेपाल, भारत वा विश्वका जुनकुनै देशका विद्वान—विदुषीलाई प्रदान गर्न सकिने छ ।
संस्कृत माध्यमबाट प्राचीन वा आधुनिक विषय वस्तु बारे अनुसन्धानका लागि युवा पुस्ताका संस्कृतज्ञलाई ने.रु. १ लाख राशिको आरुणि संस्कृत शोधवृत्ति प्रदान गर्न पनि हामीले सुरु गरेका छौँ । यसको आर्थिक प्रबन्ध जरो किलो प्रतिष्ठान नेपालले गरेको छ । यो शोधवृत्ति नेपालभित्रैका युवा संस्कृतज्ञलाई प्रदान गर्ने सोचिएको छ । शोधवृत्ति अन्तर्गत तयार हुने पुस्तकको प्रकाशनको व्यवस्था पनि हामीले गर्नेछौँ । यस वर्ष राज्यराष्ट्रम् पुस्तक प्रकाशित गरी आजै लोकार्पण गरिएकोमा यहाँहरू नै साक्षी हुनुहुन्छ । यसरी संस्कृत भाषामा प्रत्येक वर्ष कम्तीमा एउटा अनुसन्धानपुष्ट पुस्तक प्रकाशन हुनसक्ने अपेक्षा गरिएको छ ।
चौथो विश्व संस्कृत दिवसमा घोषणा गरिएअनुसार अनलाइन गुरुकुल र प्रणव सहितका मन्त्रका अनुष्ठान सम्बद्ध क्रियाकलाप पनि सुचारु रहेका छन् । तिनमा मात्रात्मक एवं गुणात्मक विस्तारका लागि हामी थप प्रयत्नशील रहने नै छौँ । संस्कृतको उन्नयनका लागि थप क्रियाकलाप पनि अवश्य गर्ने नै छौँ ।
जरो किलो प्रतिष्ठान नेपालको आह्वानमा प्रारम्भ भएको विश्व संस्कृत दिवसको संयुक्त एवं स्वतन्त्र आयोजनामा विश्वविद्यालयहरू, संस्कृत अभियानकर्ता संस्थाहरू, धार्मिक संस्थाहरू, सामाजिक संस्थाहरू एवं स्वतन्त्र अभियानकर्ताहरूको पनि सहकार्य जुट्न सकेकोमा हामीलाई धेरै हर्ष लागेको छ । सहकार्यमा जुटेका नेपाल संस्कृत विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, जयतु संस्कृतम्, सनातन धर्म महासंघ नेपाल, सहृदयता समाज नेपाल, युगनिर्माण महिला समाज नेपाल, राष्ट्रिय हिन्दू एकता मञ्च, हिमवत् आर्ष प्रज्ञा सहित नेपालका धेरै संस्थाहरूलाई हार्दिक धन्यवाद टक्र्याउँछु । अन्तरराष्ट्रिय तहबाट विश्व संस्कृत दिवसको आयोजनमा जुटेका इन्टरनेशनल फेडेरेशन अफ् सनातन धर्म, सहृदयता इन्टरनेशनल, नेपाली हिन्दू फोरम युके लगायतका धेरै संस्थाहरूलाई पनि हार्दिक धन्यवाद टक्र्याउँछु ।
विश्व संस्कृत दिवस कार्यपरिषद्का संयोजक, सहसंयोजक, कार्यपरिषद् सदस्यहरू र सल्लाहकारहरूको योगदान प्रशंसनीय रहेको छ । उहाँहरूलाई पनि धन्यवाद छ ।
विश्व संस्कृत दिवसलाई साधन बनाएर संस्कृतको प्रवर्धन, संवर्धन एवं उन्नयका लागि थप योगदान गर्न सकौँ ।
पुनश्चः हार्दिक धन्यवाद । नमस्कार ।


डा. निर्मलमणि अधिकारी
संकल्पकर्ता, विश्व संस्कृत दिवस