Archive for February, 2021

सनातन धर्म महासङ्घ नेपाल

February 20, 2021

धर्मसंस्था / धार्मिक सङ्गठनहरु असम्मेयता दोषको भुमरीमा नफसून् ।

नाकको कार्य मुखबाट र मुखको कार्य नाकबाट गर्ने हो भने के हुन्छ ? विचार गरौँ त !

राजनीतिक पार्टीका कार्य धर्मसंस्था / धार्मिक सङ्गठनबाट गर्नु गराउनु असम्मेयता दोष हो, गलत व्यवहार हो, घातक परिणाम हुने प्रवञ्चना हो । धर्मसंस्था / धार्मिक सङ्गठनको कार्य राजनीतिक पार्टीहरुले खोसेर लिनु तिनीहरुले गरेको अपराध थियो । तिनीहरुले गरेका आपराधिक दुव्र्यवस्थालाई सच्याउनेतिर नलागी झन् उल्टै धार्मिक सङ्गठनलाई राजनीतिको अखाडामा उतार्ने हो त ? धर्मसंस्था / धार्मिक सङ्गठनको नाममा धर्ममूलक कर्ममा केही नगर्ने, तर राजनीतिक मुद्दाहरुमा आन्दोलन गर्ने, जुलुश गर्ने, गुटबाजी गर्ने प्रवृत्ति अस्वीकार्य छ । तृष्णा राजनीतिको भएका, तर धर्मसंस्था धार्मिक संस्थामा ढलीमली गरिरहेका व्यक्तिहरुले धर्मसंस्था / धार्मिक सङ्गठनको शक्तिलाई दुरुपयोग गरिरहेको अवस्था छ । त्यस्तो अवस्थालाई परिवर्तन गरी धर्मसंस्था / धार्मिक सङ्गठनको शक्तिलाई मुख्यतः धर्ममूलक कर्ममा नै लगाऔँ ।

कहिले हिन्दूराष्ट्रका नाममा, कहिले हिन्दू गणतन्त्रका नाममा, कहिले हिन्दू अधिराज्यका नाममा त कहिले राजतन्त्र वा गणतन्त्रको कित्ताकाट र कहिले सङ्घीयताको समर्थन वा विरोधको होहोरीमा धार्मिक सङ्गठनहरुलाई राजनीतिक आन्दोलनमा उतार्ने प्रवृत्तिले धार्मिक सङ्गठनहरुले खास गर्नु पर्ने धर्ममूलक कर्ममा साधन, स्रोत एवं शक्ति पुगेको छैन । धर्म, संस्कार, संस्कृति, स्वसंस्कृतिकरण, सामाजिकीकरण, मौलिक शिक्षा पद्धति, गोरक्षा एवं धर्ममूलक सम्पदाको अनुसन्धान, संरक्षण, संवर्धन, प्रवर्धनका लागि केही नगर्ने, तर राजनीतिक मुद्दामा नाराजुलुश / आन्दोलनमा सडक तताइरहने प्रवृत्तिले घातक परिणाम निम्त्याइरहेको तथ्यप्रति विचार गरौँ । राजनीतिक आन्दोलन यदि आवश्यक छ भने त्यो राजनीतिक सङ्गठन वा अभियान वा पार्टीहरु मार्फत् नै हुनु पर्छ र धर्मसंस्था / धार्मिक सङ्गठनको शक्तिलाई मुख्यतः धर्ममूलक कर्ममा नै लगाउनु पर्छ ।

उही व्यक्ति धार्मिक सङ्गठनमा पनि रहन सक्छ र राजनीतिक सङ्गठनमा रहन सक्छ, तर राजनीतिक सङ्गठनको मुद्दा (एजेण्डा) को भारी धार्मिक सङ्गठनलाई बोकाउँछ भने त्यो अस्वीकार्य हो । राजनीति पनि धर्मको विवेकले चल्नु पर्ने परिस्थिति बनाऊँ, तर धर्मको नाममा अधार्मिक राजनीति गर्नेहरुलाई चलखेल गर्न नदिऊँ । हाम्रा धर्मसंस्था / धार्मिक सङ्गठनहरु असम्मेयता दोषको भुमरीमा नफसून् । नाकको कार्य नाकबाट नै गरौँ र मुखको कार्य मुखबाट नै गरौँ ।

धर्मका सवालमा धार्मिक क्षेत्रले निर्णय गर्ने हाम्रो अधिकार पुनः स्थापित गराउनको लागि आवश्यक परेको हो राजनीतिक पार्टी भन्दा पनि माथि रहेर कार्य गर्न सक्ने शक्तिशाली महासङ्घ । सोही आवश्यकतालाई सम्बोधन गर्न सनातन धर्म महासङ्घ नेपालको स्थापना भइसकेको छ । यो धर्मसंस्थालाई कुनै राजनीतिक पार्टीले निर्देशन दिन सक्दैन । आवश्यक परेको अवस्थामा सनातन धर्म महासङ्घ नेपालले चाहिँ राजनीतिक पार्टीहरुलाई निर्देशन दिन र सो निर्देशन कार्यान्वयन गराउन सक्छ ।राजनीतिक पार्टी वा अभियान वा सङ्गठनहरुको गुटबन्दी, कित्ताकाट तथा प्रवञ्चनाबाट मुक्त रहेर धर्ममूलक कार्यहरु गर्न चाहने धर्मसंस्थाहरु, धार्मिक सङ्गठनहरु एवं धार्मिक व्यक्तिहरुलाई सनातन धर्म महासङ्घ नेपालमा स्वागत छ ।