Archive for December, 2021

हाम्रा नीति स्थितिगत्यात्मक

December 27, 2021

जरोकिलो महाअभियान

हामी हिजोवादी होइनौँ । हामी यथास्थितिवादी होइनौँ । हामी स्थितिगत्यात्मक हौँ । तसर्थ हाम्रा नीति स्थितिगत्यात्मक छन् र हुनै पर्छ । जस्तै :-
नेपालमा हाल बहाल रहेको संघीयता मिलेको छैन, हाम्रो मौलिक संघीयता हुँदा चाहिँ हितकारी नै हुनेछ । नेपालको लागि नदी प्रस्रवण क्षेत्रको आधारमा पानी ढलोको ढाँचा अनुसार तीन जोड एक (३+१) प्रान्तहरू हुनु उचित हुन्छ ।
नेपालमा विशेष मौलिक निर्वाचन विधिबाट प्रत्यक्ष निर्वाचित प्रमुख कार्यकारीले सरकार चलाउनु उपयुुक्त हुन्छ । निर्वाचित हुनका लागि देशभरिको भोटबाट सिधा बहुमतको विधिबाट होइन, देशका सबै प्रान्तहरू र जिल्लाहरूमा निश्चित भोट (थ्रेसहोल्ड) कटाउनै पर्ने प्रावधान सहितको निर्वाचन विधि आवश्यक छ । यस्तो विधि हुँदा देशभित्रका सानो जनसङ्ख्या भएका समुदाय र भौगोलिक क्षेत्रले पनि महत्त्व पाउनेछन् र समावेशी, सहभागितामूलक, सहृदयतापूर्ण राष्ट्रियता हुनेछ ।
नेपालमा कानुन निर्माण अर्थात् विधायनका लागि निर्वाचित सांसदहरू मन्त्री बन्न नपाउने कानुनी प्रावधान बनाउनु पर्छ । सांसदलाई सांसद विकास कोष वा अन्य कुनै बहानामा राज्य कोषबाट करोडौँ रकम दिइने प्रावधान पनि बन्द गर्नु पर्छ । सांसदहरू कानुन निर्माण र सुशासनको निगरानीमै केन्द्रित हुनुपर्छ ।
सांसद संख्या न्यूनतम् राख्नुपर्छ, तर समावेशी चाहिँ हुनुपर्छ । नेपालमा संघीय सरकार (केन्द्र) को मन्त्रीमण्डल जम्मा नौजनाको र प्रान्त (प्रदेश) सरकारको मन्त्रीमण्डल जम्मा पाँच जनाको हुनु नै पर्याप्त हो । त्योभन्दा बढी संख्या आवश्यक होइन । प्रान्तीय प्रादेशिक तहमा प्रदेश प्रमुख र मुख्यमन्त्री राख्ने अहिलेको संरचना हटाई प्रदेशाध्यक्षको विशिष्ट संरचना राख्नु उपयुक्त हुन्छ ।
स्थानीय तहमा व्यक्ति व्यक्ति स्वतन्त्र निर्वाचनमा उठ्ने, राजनीतिक पार्टीगत चुनाव नहुने र उमेदवारको गुट वा सूची प्यानल बनाउन नपाउने कडा कानुनी व्यवस्था उपयुक्त हुन्छ ।विधायनको अधिकार संघ (केन्द्र) र प्रान्त (प्रदेश) मा मात्रै रहनु उपयुक्त हुन्छ र स्थानीय तहलाई विकास निर्माण, नागरिक कल्याण, स्रोत तथा संसाधनको व्यवस्थापन, संरक्षण, संवर्धन र प्रवर्धन, कानुन कार्यान्वयन, सांस्कृतिक समावेशीकरण, धर्म संस्कृतिको संरक्षण, शिक्षा, स्वास्थ्य, रोजगारी लगायतको प्रत्याभूति आदि जिम्मेवारीमा केन्द्रित गराउनु पर्छ ।