Archive for February, 2023

सुनिश्चित तथ्य

February 26, 2023

पहिलो तथ्य :-
पृथ्वीनारायण शाहलाई हामी नेपालको पुनःजागरणका नायक मान्छौँ । नेपालको पुनः एकीकरण, राष्ट्रको समष्टिमूलक मान्यता एवं समावेशी नीति आदिका कारणले पृथ्वीनारायण शाहको सार्वकालिक सान्दर्भिकता भएको हो । उनका विचार र व्यवहारलाई विश्लेषण गर्दा उनी “राज्यराष्ट्र सिद्धान्त” सँग निकट देखिन्छन् । धर्मसंस्कृतितन्त्र, शिक्षातन्त्र, अर्थतन्त्र र राज्यतन्त्र सबै क्षेत्रमा “जरोकिलो” चिन्ने र स्वाधीन, सार्वभौमसत्तासम्पन्न, शक्तिशाली, न्यायकारी राज्य सुनिश्चित गर्ने उनको नीति देखिन्छ । पृथ्वीनारायण शाह र उनका नीति बारे छरिएका फैलाइएका भ्रम चिर्ने हो र उनले अवलम्बन गरेका राष्ट्रको समष्टिमूलक मान्यता, बृहत्तर राष्ट्रिय चिन्तन, समावेशी नीति, लोकसम्मतिको प्राधान्य आदिलाई वर्तमान युगसापेक्ष स्थितिगत्यात्मक अर्थापन पनि गर्ने हो । नेपाल सबैथरि नेपालीजनको साझा घर हो भन्ने मान्यता पृथ्वीनारायण शाहको हो र त्यसलाई वर्तमान युगमा सार्थक बनाउने सिद्धान्त, नीति, पद्धति एवं विधि जरोकिलो महाअभियानले अगाडि ल्याएको छ ।
दोस्रो तथ्य :-
पृथ्वीनारायण शाहको नीति अनुसार देश चलाउनुपर्नेमा उनको देहावसानको लगत्तै नेपालमा उनको नीतिलाई उल्लङ्घन गरे । उनका छोरा नातीकै पालादेखि त्यस्तो समस्या देखिन्छ, सुगौली सन्धिपछि उनलाई सत्तावृत्तले बेवास्ता गर्ने र उनको नीतिलाई उल्लङ्घन गर्ने प्रवृत्ति झन् तीव्र देखिन्छ र जहानीया राणाशासन त बिल्कुलै उल्टो, गलत तथा पृथ्वीनारायण शाहको विरोधी थियो ।
तेस्रो तथ्य :-
वि.सं. २००७ सालको क्रान्तिले धेरै आयाममा नेपालमा युगान्तकारी परिवर्तन ल्याएको देखिन्छ । त्यो क्रान्तिले नेपाल देश एवं नेपालीजनका लागि धेरै अवसर ल्याएको थियो । तर मौलिक दर्शन, मौलिक सिद्धान्त, मौलिक नीति र मौलिकतावादी राजनीतिक शक्तिको अभावमा त्यो अवसर खेर गयो । क्रान्ति लगत्तैको बहुदलीय व्यवस्था र त्यसपछिका पञ्चायती व्यवस्था, पुनःस्थापित प्रजातन्त्र, माओवादी युद्धका कारणले बिथोलिएको प्रजातन्त्र, राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन, संक्रमणकाल र हाल बहाल रहेको गणतन्त्रमा कपूतन्त्र को हालीमुहाली रजगज रह्यो, रहेको छ । नेपालमा मौलिक राज्यतन्त्र स्थापना गर्न सकिने जुन अवसर वि.सं. २००७ सालको क्रान्तिले ल्याएको थियो, त्यसलाई गुमाएको कारणले नेपाल सङ्कटै सङ्कटको सङ्क्रमणमा फस्नु परेको हो ।
चौथो तथ्य :-
दर्शन, सिद्धान्त, नीति, पद्धति, विधि आदि अर्थात् पूर्ण विचारधारा सहित जरोकिलो महाअभियानको प्रारम्भसँगै नेपाल देश एवं नेपालीजनका लागि पुनः अवसर आएको छ । वि.सं. २००७ सालपछि गुमेको अवसर अहिले पुनः प्राप्त भएको छ । नेपाल पुनःएकीकरणकर्ता एवं पुनःजागरणका नायक श्री ५ पृथ्वीनारायण शाहको वैचारिक पुनःजन्म जरोकिलो महाअभियानका रूपमा भएको छ भन्दा अत्युक्ति हुँदैन । धर्मसंस्कृतितन्त्र, शिक्षातन्त्र, अर्थतन्त्र र राज्यतन्त्र सबै क्षेत्रमा “जरोकिलो” चिन्ने र स्वाधीन, सार्वभौमसत्तासम्पन्न, शक्तिशाली, न्यायकारी राज्य सुनिश्चित गर्ने पृथ्वीनारायण शाहको नीतिको पुनःजागृतिका लागि अवसर मिलेको छ ।
सुनिश्चित तथ्य :-
नेपाल राष्ट्रको राष्ट्रोदयका लागि जरोकिलो महाअभियान परिवारमा सहभागी हुनु एवं चार प्रधान कार्यक्षेत्र (धर्मसंस्कृतितन्त्र, शिक्षातन्त्र, अर्थतन्त्र र राज्यतन्त्र) मा संस्थानीकृत, सुसंगठित, सुव्यवस्थित, योजनाबद्ध एवं स्वक्रियात्मक कर्म गर्ने कर्तव्य पूरा गर्नु हामी सबैको दायित्व हो ।

पारिस्थितिक सम्भाव्यताको नियम (प्रारम्भिक चिन्तन)

February 12, 2023

A Preliminary Thought on Principle of Situational Probability

डा. निर्मलमणि अधिकारी
भाषा तथा आमसञ्चार विभाग, काठमाडौँ विश्वविद्यालय

आज म यहाँहरु समक्ष पारिस्थितिक सम्भाव्यताको नियम अंग्रजीमा भन्नुपर्दा  principle of situational probability यो विषयमा बोल्नको लागि उपस्थित भएको छु । वैचारिक अभिमुखीकरणको हाम्रो सिलसिला वा उपक्रमसँग  यो सम्बन्धित छ ।  पारिस्थितिक सम्भाव्यताको नियम भनेको कुनै पनि घटना अथवा परिघटनाको पर्यवेक्षण वा पर्यालोचन गर्ने वा विश्लेषण गर्ने विधि हो । यो विधिको बारेमा, यो नियमको बारेमा बताउन म यहाँ उपस्थित भएको छु । धेरै जनाबाट मैले जिज्ञासा प्राप्त गरेकोले म यहाँ यसकाे समाधानकाे लागि उपस्थित भएको छु । धेरै जनाले राज्यराष्ट्र पढ्दा खेरी यो पारिस्थितिक सम्भाव्यता भन्ने शब्दावलीलाई याद गर्नुभएको रहेछ । यहाँ मलाई प्राप्त भएका प्रश्नहरुमा राज्यराष्ट्र पुस्तकको तेस्रो संस्करणको पृष्ठ २० मा यो पारिस्थितिक सम्भाव्यता भनेर उल्लेख भएको रहेछ।  त्यस्तै राज्यराष्ट्र पुस्तककै पृष्ठ ६७ मा पनि याे उल्लेख रहेछ याे भनेको के हो ? याे कस्तो नियम हो ? याे कस्तो सिद्धान्त हो ? भनेर जिज्ञासा आएको छ । राज्यराष्ट्रको पहिलो संस्करण देखि यो पारिस्थितिक सम्भाव्यता (situational probability) भनेर उल्लेख भएको छ । त्यहाँ त्यसको विशेष उपोयता छ । त्यसले राज्यराष्ट्र सँग सम्बधित केहि कुरा व्याख्या गर्नको लागि यो नियम त्यहाँ आवश्यक छ । केहि पछि म यहाँ जोड्ने छु ।

अब राज्यराष्ट्र सिदान्तमा त यसको उपादेयता छ नै सँगसँगै यहाँहरु मध्य कतिपयले याद गर्नुभएको हुन सक्छ कतिपयले याद नगर्नु भएको पनि हुन सक्छ । यो स्थितिगत्यात्मक प्रगतिवादसँग सम्बन्धित प्रसंग आउँदाखेरी पनि कतैकतै यो परिस्थितिक सम्भाव्यताको त्यहाँ उजागर गरिएको छ ।   त्यस्तै हामीले सम्मेयता र असम्मेयता (commensurability and incommensurability) को जुन चर्चा गर्छाैँ । यसको र पारिस्थितिक सम्भाव्यताको नियम पनि जोडिएको छ । अथवा सम्मेयता असम्मेयता बुझियो भने पारिस्थितिक सम्भाव्यताको बारेमा बुझ्न सजिलो हुन्छ । म सकेसम्म सरल बनाउन खोजिरहेको छु । यहाँहरुलाई थाहा भएकै कुरा हो । दर्शनको चर्चा गर्दा, सिद्धान्तको चर्चा गर्दा त्यससँग सम्बन्धित शब्दहरु, पदावलीहरु जसलाई technical terms अथवा jargons भनिन्छन् । ती शब्दहरुको पृष्ठभूमिगत जानकारी भयो भने निकै सहज हुन्छ । ती कुराहरु बोध गम्य हुन्छन् । पृष्ठभूमिगत जानकारी भएन भने पनि यो के भन्न खोजिएको होला जस्तो अलमलिने हुन सक्छ । म सके सम्म सहज बनाउन खोज्छु । तर राज्यराष्ट्र पुस्तक पढिसक्नु भएका स्थितिगत्यात्मक प्रगतिवादको नौवटा प्रवचन शृंखला सम्पन्न भए, त्यो सुनिसक्नु भएका र सम्मेयता र असम्मेयताबारे हामीले गर्ने गरेका चर्चा परिचर्चा जानकार रहनु भएका महानुभावहरुलाई यो पारिस्थितिक सम्भाव्यताको परिचर्चा केही सहज हुनेछ । त्यस्तै हामीले दुई फक्लेटे दृष्टिकोण जुन binary दृष्टि, त्यसका बारेमा चर्चा अनि त्यसपछाडि सातत्य continuum को दृष्टिकोणबारे थाहा पाइसकेपछि यो पारिस्थितिक सम्भाव्यताको निमय बुझ्न सहज हुन्छ । अथवा यो नियम बुझेर पहिला पुस्तक पढ्नु भएको भएपनि यो बुझिसके पछि फेरि पुस्तक पढ्नु भयो भने बुझ्न सहजता हुनेछ ।

अब हामीले बुझ्नुपर्यो कसरी दुईफक्लेटे दृष्टिकोण विजुलीको स्विच अन वा अफ गरे जस्तो यो सारा संसारलाई दुई कित्तामा बाँडेर हेर्न सकिन्छ भनेर, कि यही हो कि त्यही हो भन्ने दृष्टिकोण नलिएर यतापट्टिको सातत्यको दृष्टिकोण लिन सकिन्छ । याताको अनेकान्तवाद, सापेक्षतावाद अभिहितान्वयवाद त्यस्तै गरेर मिमांसा सिद्धान्तमा आउने भावना सिद्धान्त, अभिहितान्वयवाद पनि मिमांसा दर्शनमा खासगरी भाट्ट मिमांसामा आउने सिद्धान्त हो त्यहाँ त्यो शब्दार्थको प्रसंगमा आउको भएपनि यसलाई अन्य सन्दर्भमा पनि ल्याउन सकिन्छ । अब यति कुराहरु आइसकेपछाडि मलाई प्राप्ता भएका प्रश्नहरु पारिस्थितिक सम्भाव्यताको नियम भनेको के हो ? यो नियमको के उपयोगीता छ ? पारिस्थितिक सम्भाव्यताको नियम किन महत्वपूर्ण छ ? र राज्यराष्ट्र र स्थितिगत्यात्मक प्रगतिवादसँग यो कसरी सम्बन्धित छ ? भन्ने कुरा यहाँहरुको बढि चासो रहेको देखेँ ।

सुरुमा सजिलोको लागि शब्दको अर्थ अथाव आधारभूत शब्दको अर्थबाट प्रवेश गरौँ । पछि फेरि राज्यराष्ट्र पुस्तकबाट कसरी प्रयोग भएको छ ? कुन सन्दर्भमा गरिएको छ भन्ने आधारलाई लिएर त्यसको विस्तृत सन्दर्भ के हो त ? कहाँकहाँ यो नियम लागू हुन्छ । यो नियमको आधारमा कुनै पनि घटना, परिघटना को पर्यवेक्षण, पर्यालोचन वा विश्लेषण गर्ने विधि भनिएको हुनाले यसको प्रायोगिकता, यसको उपादेयता, यसको उपयोगिता, यसको सन्दर्भिकता केहि वृहत्तर अवश्यै छ । नत्र यसलाई principle भनेर भनिने थिएन । पारिस्थितिक सम्भाव्यताको नियम भन्ने वित्तिकै नियम भनेको त कुनै सुसंगत विधि, विज्ञानमा यो समाज विज्ञानमा पनि आउँछ र प्रकृति विज्ञानमा पनि आउँछ । जस्तो त्यहाँ rule भनेर law भनेर  भौतिकशास्त्रमा आउने Newton’s law  भन्यौँ भने त्यो पनि नियम सँग सम्बन्धित कुरा हो । कुन कुरा कसरी हुन्छ भन्ने कुरा हो । पारिस्थितिक सम्भाव्यता सँग सम्बन्धित  नियम भनेको हुनाले पारिस्थितिक सम्भाव्यता भनेको चाहिँ हो के ? यो बुझ्नु जरुरी हुन्छ ।

पारिस्थितिक भन्ने शब्द छ परिस्थितिबाट बनेको छ । परिस्थिति भनेको के हो त ? शब्द कोशमा हेरौँ ।  परिस्थिति शब्दका तीन अर्थहरु दिइएका छन् नेपाली बृहद् शब्दकोषमा । परिस्थितिको एउटा अर्थ घटना, कार्य आदिको वास्तविक वा तर्क संगत अवस्था, अर्काे भनेको कुनै देश संस्था वा व्यक्तिको हालत स्थिति वा अवस्था त्यसलाई पनि परिस्थिति भनेर भनिन्छ । अर्काे समसामयीक वातावरणबाट सिर्जिएको स्थिति । प्राय यसमा स्थिति भन्ने वित्तिकै वर्तामान काल सँग जोडिएको कुरा expost facto स्थिति के छ ? अवस्था के छ  भनेको देखिन्छ । वर्तमान भनेको विगतसँग क्रमबद्ध रुपमा जोडिएर त्यसका आधारमा बनेको हुन्छ । त्यसो भएको हुनाले यो अहिले के देखिन्छ ? के अवस्था हो ? भन्ने थाहा पाउनको लागि हिजो के थियो ? अथवा यसको आधारभूत कुरा के थियो ?  कतिपय अवस्थामा त कारण कार्यात्मक विश्लेषण गर्नुपर्ने पनि हुन्छ । causal analysis भनिन्छ cause र  effect किन भने हामीले सरसरी हेर्दा पर्यावेक्षण गर्न सकिने कुरा के हुन्छ भने त्यो त कारण होइन कि कार्य त्यसको असर त्यो देखिन्छ । जस्तो अहिले कोरोना भाइरसको संक्रामक महाव्याधि आइरहेको छ । यो महाव्याधि के ले भयो ? के कारणले भयो ? भन्नको लागि अनुसन्धान गरेपछि मात्रै थाहा हुन्छ । तर यसले गर्दा परेको असरको जुन अवस्था छ । यसको व्यक्ति, व्यक्तिमा परेको असर स्वास्थ्यमा असर । त्यसपछाडि समाजमा परेको असर , राजनीतिमा परेको असर, अर्थतन्त्रमा परेको असर । अथवा मानिसहरुमा परेको वैयक्तिक मानस र सामुहिक मानसमा परेको असर के छ ? भन्ने कुराहरु देखिएको कुराहरु हेरिन्छ ।

परिस्थिति भन्ने वित्तिकै के देखिएको छ ? हामीले के पर्यवेक्षण गर्न सक्छौँ ? के पर्यालोचन गर्न सक्छौँ  ? observation गर्ने कुराको रुपमा अथवा surveillance गर्ने कुरा हो । यसलाई हामीले विज्ञानको नियमबाट हेर्ने हो भने बाह्य देखिएको पक्ष मात्रै होइन कि यसको लुकेको पक्ष, यसको कारण पक्ष पनि जान्नपर्ने हुन्छ । तर परिस्थिति भन्ने वित्तिकै यो घटनासँग सम्बन्धित कुनै एउटा घटना विशेषसँग पनि सम्बन्धित हुन सक्छ तर सामान्यतया धेरै घटनाहरु मिलिसकेर जब एउटा वृहत्तर परिघटना बन्दछ त्यसले परिस्थितिलाई जनाउँछ अथवा परिस्थितिको द्योतक चाहिँ त्यो हुन्छ । परिस्थितिजन्य भनियो भने यही सन्दर्भमा प्रयोग गरिरहेका हुन्छौँ । कुनै एउटा घटना विशेषमात्रै, कुनै व्यक्ति विशेषमात्रै, नभएर त्यसको वृहत्तर परिवेशमा हेर्ने कुरा सँग यो  सम्बन्धित छ । परिस्थितिसँग सम्बन्धित भन्नको लागि पारिस्थितिक भनिएको हो । पारिस्थितिक सम्बन्धको नियममा पारिस्थितिक भन्नाले परिस्थिति सँग सम्बन्धित भन्ने बुझियो ।

अब सम्भाव्यता भनेको के हो त ? शब्दकोशमा गएर हेर्याै भने यसको सामान्य अर्थ हो सम्भाव्य हुनुको भाव अथवा स्थिति । सम्भाव्यता बुझ्नको लागि सम्भाव्यलाई बुझ्नु पर्छ । सम्भाव्य भनेको हुन सक्ने सम्भावना भएको वा सम्भावित हो । यो सम्भव सँग जोडिएको कुरा भयो । के हुन सक्छ, के सम्भावना छ भन्ने कुरा हो । अनि यसलाई मापन गरियो भने सम्भावना भनेको गुणात्मक मात्र होइन गणनात्मक पनि हुन्छ । जस्तो उदाहारणको लागि मानौँ एउटा झोलामा दशवटा स्याउ राखेको छ अथवा दश वटा सुन्तला राखेको छ अथवा दशवटा अमला राखेको छ अथवा जे सुकै राखिएको छ । ती अमला, स्याउ, सुन्तलालाई १ देखि १० सम्म्कका नम्वर लगाइयो । मानौँ कुनै एउटा सुन्तला पर्न सक्ने अथवा पाँचौँ नम्वरको सुन्तला झोलामा हात राखेर झिक्दा निस्कन सक्ने सम्भावना कति छ त यसरी गणना पनि गर्न मिल्छ । तथ्यांक शास्त्रमा सम्भाव्यता probability भनिन्छ । त्यसको छुट्टै अर्थ छ । सम्भाव्यता भनेको कुनै पनि घटना हुने जस्तै पाँच नम्वरको अमला हातमा पर्नु भनेको एउटा घटना हो । यसलाई अन्य सन्दर्भमा पनि हर्न सिकिन्छ । त्यो घटना हुने सम्भावना कति छ भन्ने कुरा हो । यसलाई गणितीय रुपमा गणना नै गर्न मिल्छ । जहाँ कुल सम्भव घटना भनेको अपेक्षित घटनालाई सम्भावित सबै घटनाले भाग गर्ने अंग्रेजीमा भन्दा  total number of favorable outcome = desired outcome / possible outcomes [P(A) number of favorable outcomes/ total number of outcomes]  भनिएको छ । यसरी हामी मध्ये कयौँले तथ्यांक शास्त्र पढ्दाखेरीमा पढेका हुन सक्छौँ ।

अर्काे अनुसन्धान गर्दा सर्वेक्षण हुन्छ । सर्वेक्षणका लागि जब हामी नमुना चयन गर्छाैँ probability sampling पनि आउँछ । त्यसो हुनाले probability शब्द अनुसन्धानमा पनि आउँछ । जस्तै नेपालको कुनै गाउँपालिकामा हामीले कुनै कुराको अनुसन्धान गर्नुपर्याे भने त्यहाँको सबै जनसंख्या सँग सोधियो भने त त्यसलाई census भनिन्छ । तर त्यहाँबाट नमुना छनोट गरेर निश्चित उत्तरदातासँग मात्रै जानकारी लिइयो भने त्यो चाहिँ sampling हुन्छ । त्यो कसरी गर्ने त भन्दा एउटा सम्भाव्यताको विधिबाट, जसमा हरेक त्यसमा पर्नुपर्ने sampling frame मा भएका सबै subject पर्ने सम्भावना बराबर छ भने probability sampling भनिन्छ । नत्र भने nonprobability sampling भन्ने पनि हुन्छ । यहाँहरु मध्ये कयौँलाई यो पूर्वजानकारी छ होला ।

जे हो probability अथवा सम्भाव्यता भन्नेले त्यहाँ कुनै एउटा मात्रै होइन कि एउटैको पनि अथवा शून्यको पनि त्यहाँ गणना गरेर सम्भावना गणना गरेर निकाल्न मिल्छ । त्यसमाथि पनि (n)  कुनै अमूक संख्या त्यसमा कति हो भनेर यो गणना गरेर निकाल्न मिल्छ । अब पारिस्थिक सम्भाव्यताको नियमले चाहिँ यो व्याख्या गर्छ कि कुनै पनि घटना परिघटना किन भएको हो । जस्तो उदाहारणको लागि अहिले नेपालमा जुन कोरोना भाइरसको जुन महाव्यधिको बेलामा अक्सिजनको अभाव भयो । अब अक्सिजनको अभाव किन भयो भन्दा कसैले भन्ला यो अक्सिजनको अभाव स्वास्थ्य क्षेत्रलाई निर्लज्ज नाफाखोरहरुको कब्जामा छोडिदिएको हुनाले, उनीहरुको राइँझाइँ, उनीहरुको हाली मुहालीमा छोडिएको हुनाले यो यस्तो भएको हो भन्ला । कसैले सरकार गैरजिम्मेवार भएर भएको हो भन्देला । कसैले भ्रष्टाचार गर्नको लागि एजेन्टहरुले यो अभाव सिर्जना गरेका हुन् भन्न सक्छ । भनेपछि धेरै किसिमका कारणहरु हुन सक्छन् । तर त्यो नगरीकन यो एउटै मात्र कारण हो, यही मात्र कारण हो, अरु कुनै कारण छैन भनेर भन्यो भने त्यो चाहिँ पारिस्थितिक सम्भाव्यताको नियमलाई नबुझेको हो । सम्भव भए जति सबै कारणहरु लिइयो भने त्यो चाहिँ पारिस्थितिक सम्भावनाको नियम अनुसारको कुरा हुन्छ ।

अब यो राज्यराष्ट्र पुस्तकमा कसरी प्रयोग भएको छ त भन्ने सन्दर्भलाई लिउँ । पुस्तकको पृष्ठ २० मा,  यहाँ पहिला चर्चा गरिन्छ राज्यको उत्पत्तिबारे अनेक सिद्धान्तहरु रहेको छन् भन्ने देखाइन्छ । राज्यको उत्पत्ति कसरी भने भन्नेबारे एउटा मात्रै सिद्धान्त छैन।  जस्तो नेपालमा चर्चा गर्नेहरु जसले राष्ट्रराज्यलाई मान्दछन्, अथवा द्विराष्ट्रियतालाई मान्दछन् अथवा बहुराष्ट्रियतालाई मान्दछन् । उनीहरुको तर्क के भयो त भन्दा राज्य भनेको त राष्ट्रहरु अनुसार बनाउनु पर्छ । उनीहरुले यहाँ राज्य र राष्ट्रको अलग अर्थ गरे । अनि राष्ट्रको अर्थ जातियताबाट गरे, ethnicity वा race बाट गरे । उनीहरुले पारिस्थितिक सम्भाव्यताको नियमलाई नबुझेर अथवा त्यसलाई बेवास्ता गरेर त्यसरी कुनै एउटामात्रै कारणको पछाडि लागेका भएर अवैज्ञानिक भए पनि यता राज्यराष्ट्र सिद्धान्तको विश्लेषण गर्ने क्रममा प्राचीन ग्रन्थहरु यहाँ वैदिक ग्रन्थहरुको सन्दर्भ, बौद्ध, जैन र किराती सन्दर्भ पनि  छन् । ती सन्दर्भहरुको उल्लेखले के देखियो त भन्दा संसारमा अलग अलग स्थानमा विभिन्न कारणले राज्य संस्था अस्तित्वमा आएको थियो भन्ने कुरा देखिन्छ भन्ने कुरा यहाँ देखाइएको छ । जसले राज्यराष्ट्र पुस्तकको तेस्रो संस्करण पढ्नुभएको छ, यसको दास्रो अध्यायमा यो प्रसंग उल्लेख छ ः

राज्यको उत्पत्तिबारे अनेक सिद्धान्तहरू हुनुको कारण के हुनसक्छ भने अलग अलग स्थानमा विभिन्न कारणले राज्य संस्था अस्तित्त्वमा आएको थियो होला । कतै क्रमिक विकासको परिणाम स्वरूप त कतै दैवी वैधानिकताको दाबीको कारणले र कतै युद्ध वा अन्य कुनै तत्कालीन आवश्यकताको कारणले राजकीय संरचनाको आवश्यकता स्वीकार गरिएको हुन सक्छ । कतै कुनै निश्चित भूभागका बासिन्दाको सर्वसम्मतिबाट सामाजिक सम्झौता (Social contract) को कारणले त कतै अति बलियो र विजिगीषु व्यक्तिविशेषको कारणले राज्य संस्थाको अस्तित्त्व सुरु भएको हुन सक्छ । राज्यको उद्गम वा उत्पत्तिमा उपर्युक्त विविधतालाई विचार गर्दा यो निष्कर्षमा पुगिन्छकि कुनै राज्यको जन्म एवं विकासमा विभिन्न पारिस्थितिक सम्भाव्यता (Situational Probability) को भूमिका रहन्छ ।

भन्ने उल्लेख भएको छ भने यहाँ विभिन्न आधुनिक युगमा विभिन्न राज्यहरु विभिन्न कारणहरुले जन्मेका उदाहारण पनि उल्लेख भएका छन् । जस्तै राज्यका हैसियतमा सिंगापुर कसरी अस्तित्वमा आयो पाकिस्तान कसरी जन्मियो । साउदी अरव कसरी जन्मियो र संयुक्त अरव इमिरेट्स कसरी जन्मियो भनेर हेरियो भने सबै एउटै कारणले भएका छैनन् । त्यसको विश्लेषण गर्दा के देखिन्छ भने अलग अलग राष्ट्रहरु अस्तित्वमा आउनुमा अलगअलग परिस्थिति जिम्मेवार छन् । त्यसो भएको हुनाले राज्य भनेको पहिचानमा आधारित अथवा जातियतामा आधारित, कसैले भाषामा लगेर जोड्लान् । जस्तो भारत पाकिस्तान टुक्रिने बेला त्यहाँ मजहवको कुरा आयो । विविध कारण हुन सक्छन् । युगोस्लाभियाको आफ्नै दुःख छ । विभिन्न ठाउँमा अहिले फेरि द्वन्द्व चर्केको छ । केहि दिन अघि सम्मपनि संघर्षको स्थिति थियो इजरायली र प्यालेस्ताइनीहरु बिच संघर्षको कुरा यी सबै कुराको अन्तर्यमा राष्ट्रराज्यवालाहरुको पूर्वाग्रह, राज्य भनेको पहिचानको आधारमा, एकल पहिचानमा आधारित हुनुपर्छ अनि त्यस्तो एकल पहिचानमा आधारित एकाइले राज्य पाउनुपर्छ भनेको हुनाले ती सारा समस्या उत्पन्न भएको हो । तर हामीले त्यसको व्याख्या गर्नलाई Situational Probability को नियमबाट व्याख्या गर्याैँ । त्यसले के भन्यो भने जसरी आधुनिक युगमा एउटामात्र कारणले राज्यको उत्पत्ति भएको छैन ।  राज्य जन्मेको छैन । त्यसै गरी प्रचीन कालमा पनि राज्य उत्पत्ति हुँदा एउटै कारणले राज्यको उत्पत्ति भएको छैन । अर्थात् विभिन्न पारिस्थितिक सम्भाव्यताले राज्यको उत्पत्ति हुन सक्छ भन्ने मान्नु नै समीचीन देखिन्छ भनेर यो दोस्रो अध्यायमा चर्चा गरिएको छ ।

पछि गएर राज्यराष्ट्रको सिद्धान्त नै बनाउने अध्यायमा फेरि त्यहाँ पनि यसको सन्दर्भ आउँछ । जुन छैटौँ अध्यायमा पृष्ठ ६७ मा अघि भनिएको कुराको थप पुष्टि पाइन्छ । अघि आधुनिक सन्दर्भमा विभिन्न राज्यहरु विभिन्न कारणले अस्तित्वमा आएको उदाहारण देखाएर प्राचीनकालमा पनि एउटै मात्र थियो भनेर भन्नु उपयुक्त होइन, विविध कारणहरु रहेको समीचीन कुराको पुष्टि यहाँ हुन्छ ।

पृष्ठ ६६ देखि सुरु भएर पृष्ठ ६७ मा प्राचीन राज्य प्रणालीहरुको बारेमा उल्लेख भएको पाइन्छ । पुस्तकमा उल्लेख गरिएकाे छ ः

वैदिक वाङ्मयको अध्ययन गर्दा शासनको उत्पत्तिसम्बन्धी विभिन्न छ प्रकारका सिद्धान्तहरू खुट्ट्याउन सकिन्छ ः— (१) व्यक्तिविशेषप्रधान सिद्धान्त, (२) मात्स्यन्याय सिद्धान्त, (३) सत्ययुग सिद्धान्त, (४) सामाजिक सम्झौताको सिद्धान्त, (५) पितृप्राधान्य सिद्धान्त र (६) दैवी सिद्धान्त ।

यी विविध कारणले राज्य बनेका थिए भन्ने आएको हुनाले जसले पनि राज्यको उत्पत्ति एउटा मात्र कारणले भएको थियो अथवा एउटा निश्चिि गुण एउटा निश्चित एकाइ मात्रै त्यसको लागि निर्णायक हो भन्ने दाबी हो त्यो दाबी स्वतः खण्डित हुन जान्छ । र के पुष्टि हुन्छ भने यसका लागि पारिस्थितिक सम्भाव्यताले असर पारेको हुन्छ । त्यो पारिस्थितिक सम्भाव्यता भनेको त सन्दर्भ सापेक्ष कुरा हो । देश, काल, परिस्थितिले फरक पर्ने कुरा हो । कुनै कुनै ठाउँमा भयो होला, एउटा निश्चित कबिलाले आफ्नो वरपरको भूक्षेत्र कब्जा गरेर त्यहाँ उनले राजकीय स्वरुप पनि दियो होला । तर विज्ञानको नियम के हो भने कसैले कुनै कुरो दाबी गर्यौ कि यो race वा ethnicity अथवा tribe नै राष्ट्रको आधार हो । यो नै राष्ट्र हो र त्यसैले राज्य बनाउने हो भन्यो भने त्यसलाई खण्डित गर्ने एउटा मात्रै उदाहारण देखाउने हो भने त्यो सारा कुरा खण्डित हुन जान्छ । यो विज्ञानको नियम falsification को नियमले के गर्छ त भन्दा जसले जातियता, प्रजातियता अथवा कबिलाई चित्रलाई राष्ट्रको परिभाषा बनाएका हुन् र त्यसको आधारमा राज्यको माग गर्ने हुन् । यो राष्ट्रराज्यको पक्ष लिने हुन अथवा द्विराष्ट्रियता र बहुराष्ट्रियताको तर्क गर्ने हुन् उनीहरुको कुरा खण्डित गर्छ भन्ने देखाउँछ ।

यहाँ यो राज्यराष्ट्र पुस्तकमा यो पारिस्थितिक सम्भाव्यताको नियम किन प्रयोग गरिएको रहेछ भने राज्यको उत्पत्ति फरक फरक तरिकाबाट हुन्छ र राज्यको उत्पत्ति भएपछि त्यसले आफ्नो राष्ट्रियताको आयाम बनाउँछ । राज्यको आधारमा राष्ट्रियता परिभाषित हुन जान्छ । र राज्यराष्ट्र सिद्धान्तमा भनिए अनुसार राज्यनै राष्ट्र हो, कुनै पनि देशको भूराजनैतिक वैधानिकता र सांस्कृतिक सामाजिक एकत्वको सपष्टि नै राज्यराष्ट्र हो । त्यसो भएको हुनाले एउटा राज्यमा धेरै राष्ट्रियता हुँदैनन् । एउटा राज्यमा सामुहिक, समन्वित राष्ट्रियता हुन्छ । साझे राष्ट्रियता हुन्छ भन्ने कुरा यसले गर्छ । राष्ट्रियताको परिभाषाको लागि राज्य नै निर्णायक तत्व हो । यहाँ जातियता जसलाई Identity politics भन्ने कुरा हुँदैन । भने चौथो विन्दुमा गएपछि राज्यराष्ट्को सुदृढीकरणको निमित्त नागरिक तथा राजनीतिक अधिकार civil and political rights र सांस्कृतिक अधिकार cultural rights विशिष्टिकृत पद्धितिले प्रत्याभूति गर्नुपर्छ भनिएको छ । तिनीहरु एकले अर्काेलाई असार गर्ने होइन कि छुट्टा छुट्टै तिनीहरुको बारेमा विचार विमर्श गर्न सकिन्छ र छुट्टाछुट्टै प्रत्याभूति गर्न सकिन्छ । हामीले पहिचानको राजनीति होइन परिचानको संस्कृति अवलम्बन गर्नुपर्छ । पारिस्थितिक सम्भाव्यताको नियमले यसमा ठूलो भूमिका खेलेको स्पष्ट देखिन्छ । त्यसैले राज्यराष्ट्रको सिद्धान्त बुझ्दा पारिस्थितिक सम्भाव्यताको नियम बुझ्यौँ भने बडो सहज हुने रहेछ भन्ने बुझिन्छ ।

तर यसको अर्थ पारिस्थितिक सम्भाव्यताको नियम राज्यराष्ट्रसँग मात्र जोडिएको हो त ? होइन । यो अन्यत्र पनि लागू हुन्छ । उदाहारणको लागि दुई फक्लेटे दृष्टिकोणले के गर्छ भन्दा एक थोक गर्याे भने अर्काे थोक गर्न मिल्दैन । जस्तो कोहीकोहीले भन्दछन्, बारम्बार उदाहरण पनि दिइन्छ कि बुवा आमा जीवत छँदा हेला गर्ने मरेपछि श्राद्ध गरेर के काम भनेको हुन्छ ।  अथाव सेवा गर्ने हातहरु भजन गर्ने ओठ भन्दा महान् हुन् भनिदिएको हुन्छ । जसले यस्ता कुरा गरेका हुन्छन् उसको दिमागले हातले सेवा पनि गर्न मिल्छ र मुखले भजन पनि गर्न मिल्छ, दुवै थोक एकै चोटि गर्न मिल्छ भन्ने कुरा उसले बुझ्न सकेन । किन भने उसको दुई फक्लेटे सोचले विजुलीको स्विच अन वा अफ गरे जस्तै कि भजनमात्रै गर्नु पर्छ कि सेवा मात्रै गर्नुपर्छ भन्ने ठान्यो । यो यो दुईफक्लेटे दृष्टिकाणको कारणले भएको हो  । त्यसतै उसले के ठान्यो भने कि बाँचुन्जेल राम्रो मात्रै व्यवहार गर्न मिल्छ कि मरेपछि श्राद्ध मात्रै गर्न िमल्छ । यस्तो होइन बाँचुन्जेल राम्रो व्यवहार गरी आफ्नो कर्तव्य पूरा गर्ने र मरेपछि आआफ्नो कुल परम्परा, सम्प्रदाय वा समुदाय अनुसारको व्यवहार पनि गर्नुपर्छ । किन भने पितृलाई मान्ने त नेपाल सँगसँगै अन्य पनि धेरै देशमा छ । यो कुरालाई यसरी जोड्न नसक्ने हुनुको कारण व्यक्तिको सोचाइ हो । जुन सोचाइको programming यो natural programming हुनुपर्ने तर ऊ वैचारिकजालका कारणले उसको सोचाइनै एक थोक भयो भने अर्काे थोक र अर्काे थोक भयो भने अर्काे थोक गरिरहेको हुन्छ ।

तर  situational probability जानेको मान्छेले देश, काल, परिस्थिति अनुसारबाट एउटै समयमा एक भन्दा बढि घटनाहरु अथवा परिघटनाहरु सँगसँगै घटित हुनसक्छन् भन्ने बुझ्दछ र उसले के बुझ्दछ भने मन्दिर जानपनि मिल्छ सेवा गर्न पनि मिल्छ । यता भजन गर्न पनि मिल्छ यता बुवाआमाको सेवा गर्न पनि मिल्छ । यता राष्ट्र सेवा गर्नपनि मिल्छ सबै कुरो सन्दर्भ अनुसार, प्रसंग अनुसार, प्रकरण अनुसार समन्वय गरेर सातत्यको दृष्टिकोण अनुसार गर्न मिल्छ भन्ने कुरालाई बुझ्द छ । त्यसैले पारिस्थितिक सम्भाव्यताको नियमले सातत्य continuum को दृष्टिकोणलाई लिएको छ जहाँ दुई फक्लेटे हुँदैन यसैलाई व्याख्या गर्नलाई यता जैन दर्शनमा अनेकान्तवादको कुरा छ । पश्चिममा आइन्सटाइनको सापेक्षतावाद धेरै प्रसिद्ध छ, हाम्रोमा पनि सापेक्षतावाद छ । न्यायहरुको परिचर्चा गर्दा त्यहाँ पनि यसको प्रसंग आउँछ अर्काे भनेको जुन दिकको विश्लेषण छ । दिक जसलाई space भनिन्छ त्यो दिक ११ वटा छन् । र त्यो हरेक दिकहरुबाट हेर्दा खेरिमा कुनै पनि घटना तथा परिघटना अलगअलग देखिने भएको हुँदा हाम्रोमा जहिले पनि एकं सद्विप्रा बहुदा वदन्ति भन्नु परेको कारण त्यो हो । अथवा अलग अलग मार्गबाट गएपनि एउटै परम् सत्यलाई प्राप्त गर्न सकिन्छ अथवा साक्षात्कार गर्न सकिन्छ, बोध गर्न सकिन्छ भनेको कारण त्यो हो ।

हाम्रोमा त सुरुदेखि बौद्ध परम्परामा धम्म भनियो वैदिक परम्परामा धर्म भनियो यो धर्मको कुरालाई हेर्याैँ भने पनि साधारण र विशेष धर्म भनेर भनिएकै छ । साधारण धर्म जुन सार्वजनिन हुन्छ अथवा देश, काल, परिस्थितिले फरक नपार्ने हुन्छ ।  नित्य हुन्छ । त्यस्ता चरित्र, त्यस्ता विधि, त्यस्ता धारणा त्यस्ता, विशेषताहरुलाई साधारण धर्म भनियो । विशेष भनेको परिस्थिति अनुसार फरक पर्ने हुन्छ । त्यसो भएको हुनाले यो पारिस्थितिक सम्भाव्यता जान्ने बित्तिकै हामी कुनै पनि कुरालाई दुई फक्लेटे अझ कोही कोही त एकांगी हुन्छन्, यो हो भने पछि हो कि हो गर्ने जो हुन्छन् । यसले एकांगी दृष्टिकोणबाट मुक्त गराई हाल्छ । पारिस्थितिक सम्भाव्यताको नियमले घटना, परिघटनाका कारणहरु अनेक हुन सक्छन् भन्छ । यदि अनुसन्धान गरेर, पर्यवेक्षण गरेर हामी कुनै निर्णय लिन्छौँ भने, यदि पर्यवेक्षण गर्नु अघि नै निष्कर्षमा हाम्फाल्दिने वा पूर्वाग्रहको आधारमा केही कुरो भनिदिने हुँदैन र पर्यालोचन या विश्लेषण गर्ने विधि अपनाउनु नै पारिस्थितिक सम्भाव्यताको नियम हो ।

यो अर्थशास्त्रमा पनि लगाउन मिल्छ, राजनीति शास्त्रमा पनि लगाउन मिल्छ जस्तो अहिलेको देशको राजनीतिक शंकटको जिम्मेवार को हो भन्यो भने फलानो हो जिम्मेवार भनिदिने चलन छ । जस्तो के भनियो भने राजा हो सबै समस्याको जिम्मेवार राजा अथाव राजसंस्था हटेपछि स्वर्ग हुन्छ भनियो भयो कि भएन हामीलाई थाहा भएकै कुरा हो । संविधानसभाको चुनाव भएपछि सार कुरा समाधान हुन्छ भनियो भयो कि भएन हामी हेरौँ । अनि त्यसपछाडि यो त संविधान नबनेर हो संविधान बनेपछि सबैकुरो हुन्छ भनियो, भयो कि भएन हामी हेरौँ । संविधान बनेपछि के आयो कुरो भने, फलानो पार्टीलाई दुईतिहाइ बहुमत दियो भने अब सारा समस्या समाधान हुन्छ भनियो । भयो कि भएन हामी हेरौँ आज फेरि केहि मानिसहरु फलानो व्यक्ति अथवा फलानो र फलानो व्यक्तिहरु हुन है समस्या यीनलाई हताएपछि समस्याको समाधान हुन्छ अथवा अब तीनका ठाउँमा म पुगेँ भने अथवा हामी पुग्यौँ भने ठिक हुन्छ भन्नु यो  दुई फक्लेटे दृष्टिकोण छ । यस्तो हुँदैन समाजमा । बिजुलीको स्वीच अन गरे जस्तो अथवा अफ गरेजस्तो होइन यो । विकल्पहरु अनेक हुन्छन् भन्ने बुझाउन हाम्रा पुर्खाहरुले धेरै चिन्तन गरेर स्थीर सिद्धान्तहरु दिइसकेको अवस्था छ । यसबारे जैन दर्शनमा पनि प्रसस्त चिन्तन भएको छ । बुद्धले अप्पो दिपो भवः भनेर किन भन्नु परेको छ ? अथवा वैदिक दर्शनमा नेति नेति चरैवेति चरैवेति किन भन्नु पर्याे त ? अथवा उपनिषद्मा आरुणि उद्धलाकले आफ्नो छोरा स्वेतकेतु ऋषिलाई पर्यवेक्षण र प्रयोगको विधि किन सिकाउनु पर्याे त ? यो सबै कुराले के भन्न खोजेको हो भने आफै परिक्षण गरेर  हेर सुरुमै निष्कर्षमा हाम नफाल । यसलाई आधुनिक सन्दर्भमा भन्दा पारिस्थितिक सम्भाव्यताको बारेमा त्यहाँ बताइएको छ । देश, काल, परिस्थितिले कुनै पनि घटना कसरी हुन्छ भन्ने कुराले त्यसको के परिणाम आउँछ भन्ने कुरामा फरक पारिरहेको हुन्छ ? प्रकृति विज्ञानमा त तापक्रम र चाप मिलाउनु पर्ने हुन्छ । जस्तो प्रसंगहरु आउँछन् कुनै दुई तत्वहरु मिलायो भने कुनै एउटा यौगिक बन्ने जुन प्रक्रिया छ त्यसका लागि ती तत्वहरुमात्रै हुँदैनन् । कतिपय अवस्थामा उत्प्रेरक catalist पनि चाहिएको हुन्छ । कुनै कुनै अवस्थाम त्यहाँ तपक्रम र चापको कुरा मिल्नु पर्ने हुन्छ । यसको तात्पर्य कुनै पनि देश, काल, परिस्थितिमा भएको कुरालाई ल्याएर अन्य सन्दर्भमा यो यहि हो भन्यौँ भने मिल्दैन भन्न खोजेको हो । यो भन्ने बित्तिकै दार्शनिक रुपमा यो पारिस्थितिक सम्भाव्यताको नियमले बहुलतालाई बहुल सम्भाव्यतालाई स्थान दिँदो रहेछ । त्यसो भएको हुँदा यो एउटा उदार दृष्टिकोण पनि हुन जान्छ र यसले कुनै पनि कुराको एकांगी रुपमा अथवा अंग्रेजीमा भनिएको deductionist approach त्यस्तो खालको मताग्रहमा मानिसहरुलाई फस्न दिँदैन । हामीले पारिस्थितिक सम्भाव्यताको नियम जानी सक्ने वित्तिकै हामीले हाम्रा पुर्खाले किन अनेकान्तवाद भनेका हुन त ? किन सापेक्षतावाद भनेका हुन त हाम्रा पुर्खाले ? किन अभिहितान्वयवाद, जहाँ एउटा शब्दको मात्रै अलग अलग अर्थ गर्ने होइन कि जब ती सबै शब्द वाक्यमा समन्वित हुन्छ भइसकेपछाडि अविधिमा, लक्षणामा, व्यञ्जनामा अल्झिएर भएन कि त्यसको तात्पयार्थ र त्यसको समष्टि अर्थमा जानु पर्छ भनेर बताइएको जुन कुरा छ त्योसँग यो सम्बन्धित रहेको छ । जस्तो भावना सिद्धान्तमा पनि शाब्दी भावना र आर्थी भावनाको त्यहाँ विश्लेषण गरिएको छ र कसरी त्यसमा प्रकरण context ले असर पारिरहेको हुन्छ ? त्यहाँ दोष noise ले कसरी असर पारिरहेको हुन्छ ? भावकहरुको जिज्ञासा, उनीहरुको पात्रता, पृष्ठभूमिको कुरा हुन्छ धेरै कुराको त्यहाँ भूमिका हुन्छ  । त्यसैले कुनै पनि कुराको एउटा मात्रै हागो लिएर एक पक्षमात्रै लिएर यथार्थको जानकारी हुँदैन । प्रसिद्ध कथामा जस्तै हात्तीको सुँदमात्रै समातेर, कसैले कान मात्रै समातेर, कसैले पेटतिर मात्रै छोएर हात्ती भनेको यहि हो भनेर भनियो भने त्यसले समष्टि अर्थ दिन सक्दैन ।

पारिस्थितिक सम्भाव्यताको नियम भयो भने तब बल्ल स्थितिगत्यात्मक प्रगतिवादको लागि अनुकुलता आउँछ । किन भने स्थितिगत्यात्मक प्रगतिवादले भनेको कुरा के हो भने स्थितिमा जड भएर कुपमण्डुक हुने त्यस्तो नहुनु । जुन मूूल पक्ष हो, त्यसलाई पक्कै ख्यालगर्नु पर्छ किन भने त्यो जुन मूलहो त्यसबाट अविच्छिन्न नै हुनुपर्छ किन भने त्यसबाट विच्छिन्न हुने बित्तिकै गडवडि हुन्छ । मूलसँगै रहनु फेरि देश, काल, परिस्थिति सँग गतिको कारणले गर्दा के परिवर्तन आयो ? त्यो कुरो पनि हेर्नु भनेको हुन्छ त्यसैले यो स्थितिगत्यात्मक प्रगतिवादको अन्तर्यमा हेर्यौँ भने पारिस्थितिक सम्भाव्यताको नियमलाई स्वीकारेको हुन्छ ।

हामीले कुनै बिउ कुनै ठाउँमा रोप्नु छ भने रोपिसकेपछि त्यसका विभिन्न परिणाम हुन्छन् । ती परिणामहरु के हुन्छ भन्ने कुरालाई कसरी हेर्ने त ? भन्ने बुझाउनलाई हाम्रोमा कर्मन्यवादिकारस्य माफलेसु कदाचन भनियो । नबुझ्नेहरुले कर्म गर फलको आशा नगर भनेर लेखिदिए । त्यो होइन कर्म गरेपछि त्यसको फल त स्वतः आउँछ । तर त्यो फल कस्तो आउँछ भन्ने कुरा हाम्रो अपेक्षाले हुने कुरा होइन । के ले हुन्छ भन्दा विभिन्न कारक तत्वहरुका कारण हुन्छन् । कुनै बिउ राखेपछि त्यो अंकुरण हुने परिस्थिति हुन्छ कि हुँदैन ? कसरी हुन्छ ? कस्तो हुन्छ त ? के अवस्था छ ? कस्तोे मौसम छ ? बाह्य पक्षले आक्रमण गर्छ की गर्दैन? तापक्रम कस्तो छ ? यावत कुराहरु, धेरै तत्वहरु त्यहाँ हुन्छन् अनि एउटा परिणाम त्यसबाट आउँछ । त्यो परिणाम कस्तो आउँछ भन्ने कुराको विश्लेषण गर्ने क्रममा कुनै वैज्ञानिक आधार नभइकन पूर्वाग्रहको आधारमा, एउटा मताग्रहको आधारमा यस्तै हुन्छ भनेर मात्र भन्यौँ भने समाजमा अवाञ्छित द्वन्द्व ल्याइरहेको हुन्छ । यसले धृणा तथा हिंसा पनि ल्याइरहेको हुन्छ ।

उदार विश्व दृष्टिकोण आउने एउटा वैज्ञानिक आधार भनेको यो पारिस्थितिक सम्भाव्यताको नियम पनि हो । यो नियमले कुनैपनि परिस्थिति, परिघटना, घटनाको लागि केके सम्भाव्य अवयवहरु, कारणहरु हुन सक्छन् भनेर हेर्न सकिन्छ । खास गरी अहिले के छ भन्ने विश्लेषण गर्नको लागि, अब के हुन्छ भन्नको लागि हामीले यसलाई प्रयोग गर्न सक्छौँ  । सिद्धान्त बन्दा कुनै कुराको कथन पनि हुन्छ त्यसको व्याख्या विश्लेषण पनि हुन्छ, त्यसको आधारमा आकलन पनि हुन्छ र त्यसलाई कार्यान्वय गरेर हेर्ने, पर्यवेक्षण र प्रयोग गर्ने सँगै वृहत्तर समाजमा त्यसको प्रायोगिकता र कार्यान्वय गर्ने कुरा पनि हुन जान्छ । तर यो एउटा नियम भएको हुनाले यसलाई हरेक चरणमा यो नियम लगाएर हेर्न सकिन्छ । हामीले कोही पनि व्यक्तिलाई परीक्षण वा मुल्यांकन गर्दा पनि यसलाई लगाउन सकिन्छ । ठूल्ठूला सिद्धान्तको लागि मात्रै होइन कुनै पनि व्यक्तिले केही गर्याे भने किन गर्याे होला त ? भनेर हेर्यौँ भने एउटा मात्रै कारण नहुन सक्छ विभिन्न कारण हुन सक्छन् । कुनै सत्कार्य गरेको अथवा दुश्कार्य गरेको हामीले देख्यौँ भने त्यो किन गरेको होला भनेर हेर्याैँ भने यदि त्यो सँग जोडिएका सबै अवयवहरु सबै कारणहरु हामीले देख्न सक्यौँ भने त्यसले कारण कार्यात्मक cause and effect को विश्लेषण गर्न मद्दत पुग्छ त्यसैले पारिस्थितिक सम्भाव्यताको नियमलाई हामीले बुझ्नु भनेको हाम्रो आफ्नो विश्लेषण क्षमता अभिवृद्धि हुनु हो । कुनै पनि परिघटनाको लागि केके कारणहरु छन् भन्ने थाहा पाउन सक्ने हुनु हो ।  त्यो थाहा पाउने बित्तिकै कुनै पनि मानिसको, संगठनको, महाअभियान जे सुकै होस्, कुनै संरचनाको दृष्टिकोण नै अलग हुन जान्छ ।

हामीले राज्यराष्ट्र सिद्धान्तको अभिनिर्माणको क्रममा त्यहाँ व्याख्या गर्नुपर्याै । कसैले जातियता, प्रजातियतालाई मात्र जोड दिएर नेशन स्टेटको कुरा गरे । त्यस्तो मात्रै होइन रहेछ विविध कारणहरु हुँदा रहेछन् भन्ने हामीले बुझ्यौँ र त्यो बुझेको हुनाले हामीलाई नेपाल किन मूलतः राज्यराष्ट्र चरित्रको देश हो, किन भारत अथवा अमेरिकाले पनि राम्रो सँग अगाडि बढ्ने हो भने त्यो सिद्धान्तलाई बुझेर तद्अनुसार गर्नुपर्ने कार्यहरु गर्नु जरुरी छ । अहिले किन लण्डनमा, पेरिसमा किन  समस्या भइरहेको छ । अन्यत्र पनि र प्यालेस्ताइन र इजरायलको समस्या के हो ? कसरी समाधान हुन्छ ? भन्ने कुरा विश्लेषण गर्नलाई सहज भयो ।

नियमहरुको विशेषता नै यो हो कि नियमहरु एक भन्दा धेरै क्षेत्रमा लागू पनि हुन्छन् । यसको आधारमा जुन वृहत्तर सिद्धान्तहरु दर्शन को त्यसलाई बोध गर्न त्यसलाई बुझ्न जान्न र व्याख्या गर्न सहज हुन्छ । हामी जसले सहृदयता दर्शनलाई मान्दछौँ हामी जो आधारशिला चतुष्टयलाई मान्द छौँ । जो राज्यराष्ट्र सिद्धान्तलाई मान्दछौँ । जो स्थितिगत्यात्मक प्रगतिवादलाई मान्दछौँ । जसले दुईफक्लेटे अर्थात binary दृष्टिकोण नराखेर सातत्यको दृष्टिकोण राख्दछौँ जसले सहृयताको भावले सारा संसारलाई हेर्दछौँ । सहृदयतामा भाव र रस नौ किसिमका हुन्छन् । जो सठतापूर्वक व्यवहार गर्छ, जो खल चरित्र हुन्, जसको नियत नै गठबड छ, जसको प्रवृत्ति नै गडवड छ । जो आपराधिक मानसिकताका छन् । उनीहरुलाई पनि कसरी दण्डनीति अनुसार व्यवहार गर्न हो भन्ने हामीलाई जानकारी छ । पात्रहरु, तीनका पात्रता, जुन संरचना हो त्यो जुन विधि हो त्यो जुन संरचनाको पद्धति हो, व्यवस्था हो त्यो सबै कुराको व्याख्या गर्न सक्ने सूत्रको रुपमा एउटा विधिको रुपमा के छ भनेर हेर्नुपर्ने हुन्छ । त्यसो भएको हुनाले सहृदयता दर्शनबाट त्यही सहृदयता दर्शनको राजनीतिक रुपमा राज्यराष्ट्र सिद्धान्तका रुपमा ठिग्रियो । सहृदयता दर्शनलाई मथ्दा राजनीतिक दर्शनको रुपमा । राज्यराष्ट्र नौनीको रुपमा प्राप्तभयो । त्यही सहृदयता दर्शनलाई समाज विकासको व्याख्याको लागि मथ्दाखेरी स्थितिगत्यात्मक प्रगतिवाद निस्कियो । यी कुराहरु अन्तःसम्बन्धित छन् । यीनलाई आआफ्नो सन्दर्भमा कसरी बुझने हो भनेर हेर्नु पर्दछ ।

त्यस्तै कुनै प्रसंगमा कसरी सम्मेयता हुनु जरुरी भन्नेबारे पनि व्याख्या गरिसकिएको छ । हामी संग विभिन्न विकल्पहरु हुन्छन् तर ती विभिन्न विकल्पहरु मध्ये जुन चीज जहाँ प्रयोग गर्नु पर्ने हो त्यो कुरो त्यहीँ नै प्रयोग हुनुपर्याे भनेको हो सम्मेयताले  । जस्तो उदाहारणको लागि हामी चामल किन्न जाँदा तीन मिटर चामल दिनु भनि माग्दा पसले अक्कमक्क पर्छ त्यसै गरी हामी लुगा किल्न जाँदा लुगा किन्न जाँदा ५ देसिबल लुगा दिनु त भन्यौ भने फेरि त्यहाँ अलमल हुन्छ । कुन कुरो कहाँ प्रयोग गर्ने हो र कहाँ प्रयोग नगर्ने हो त्यो कुरो हामीले हेर्ने पर्याे । त्यही भएर हामीले पहिचानलाई राजनीतिमा प्रयोग गर्ने होइन पहिचानलाई संस्कृतिमा प्रयोग गर्ने भनेका हौँ । यो कुरा बुझ्नालाई कुन मान संग कुन मेय प्रयोग गर्ने हो त भन्ने बुझ्नलाई पनि कुन प्रमाण र कुन प्रमेय को बिचमा अन्तः सम्बन्ध छ कसरी प्रयोग गर्ने भन्ने बुझ्नालाई पनि त्यहाँ सम्भाव्य रहेका अवयवहरु थाहा पाउनु पर्याे । पारिस्थितिक सम्भाव्यता त्यहाँ पनि अवश्यै चाहियो । त्यसैले पारिस्थितिक सम्भाव्यताको नियम लगाएर हेर्याैँ भने यसको आधारमा हामी विश्लेषण, पर्यालोचन, पर्यवेक्षण गर्न सक्छौँ । र वैज्ञानिक तथा विज्ञान सम्मत् निष्कर्षमा पुग्न सहज हुन्छ । त्यसो भएको हुनाले पारिस्थितिक सम्भाव्यताको नियमबारे एउटा राज्यराष्ट्रको सन्दर्भमा यसले कसरी व्याख्या गर्यो ? राज्यको उत्पत्तिबारे र राज्यबाट निश्रित हुने राष्ट्रियताको बारे अनि राज्यराष्ट्रको सिद्धान्तमा यसको जुन अहम् भूमिका रहयो यो कुरा पनि हामीले बुझौँ । यो जिज्ञासाले यो नियम र उपयोगीता कति धेरै रहेछ त भन्ने कुराको ध्यानाकर्षण गरेको छ । आजको मात्र विचार विर्मशले मात्र पर्यात नहुन पनि सक्छ । यसबारेमा जति धेरै चर्चा भयो जति धेरै उदाहारण दियो अझ सहज हुँदै जान्छ त्यो पनि गरिनु पर्छ र गरौँला पनि । कमसेकम आधारभूत रुपमा पारिस्थितिक सम्भाव्यताको नियमको व्याख्या र प्रथमतः यो नियम आफैलाई बुझ्ने कुरामा पक्कै पनि मद्दत पुग्यो र यसको उपयोगीता वृहत्तर छ भन्ने बोध भयो । किन महत्वपूर्ण छ भन्ने कुरामा यो हुने वित्तिकै उदार दृष्टिकोण हुन्छ । यो हुने वित्तिकै सन्दर्भ सापेक्ष दृष्टिकोण हुन जान्छ । लकिरका फकिर हुने त्यस्तो हुँदैन । एकांगी दृष्टिकोण हुँदैन । कुपमण्डुकता हुँदैन । यसले जहिले पनि स्थितिगत्यात्मक सोच राख्न, वैज्ञानिक सोच राख्न मद्दत गर्छ भन्ने कुरा हामीले यसबाट पक्कै पनि अनुभुति गर्यौँ भन्ने अपेक्षा लिएको छु ।

(Transcribed, Unedited version)