नेपालको पुनर्जागरणको सन्दर्भमा पृथ्वीनारायण शाह, मोतीराम भट्ट र शुक्रराज शास्त्रीको मूल्यांकन

डा. निर्मलमणि अधिकारीको प्रकाशोन्मूख पुस्तक “नेपालको पुनर्जागरणको अर्थ र आधार” बाट लिइएको लिइएका अंशहरु (Excerpts):
नेपालको पुनर्जागरणको सन्दर्भमा पृथ्वीनारायण शाह, मोतीराम भट्ट र शुक्रराज शास्त्रीको मूल्यांकन

बडामहाराज पृथ्वीनारायण शाहलाई कसरी मूल्यांकन गर्ने ?
[डा. निर्मलमणि अधिकारीको प्रकाशोन्मूख पुस्तक “नेपालको पुनर्जागरणको अर्थ र आधार” बाट लिइएको एक अंश]
नेपालको पुनर्जागरणको परिप्रेक्ष्यमा बडामहाराज पृथ्वीनारायण शाहको नाम उल्लेख नगरी सुखै छैन । पृथ्वीनारायण शाहको नेतृत्वमा आधुनिक नेपालको निर्माण नभएको भए नेपालको पुनर्जागरण भन्ने विषय नै उठ्ने थिएन । नेपाल समयको आजको बिन्दुमा अस्तित्वमान् छ, तब नै नेपालको पुनर्जागरणको मामिलामा चिन्तन गर्ने आधारशिला छ । नेपाल देश नै अस्तित्वमा नरहेको भए नेपालको पुनर्जागरणको कुरा गर्दा फोस्रो बुद्धिविलास मानिने थियो होला । तर, नेपाल जीवन्त छ र नेपालको पुनर्जागरणको मामिला पनि जीवन्त छ । अनि, नेपालआजको स्वरुपमा छ त नेपालको ऐतिहासिक अविच्छिन्नतालाई आधुनिक युगमा जोड्ने पुरुषार्थी पृथ्वीनारायण शाहको कारणलेनै । उनको कार्यलाई सकारात्मक वा नकारात्मक जसरी हेरुन् मानिसहरुले, आधुनिक नेपालका मुख्य निर्माताएवं हाम्रोमा पुनर्जागरणको संकथनको आरम्भकर्ता पृथ्वीनारायण शाह नै हुन् । उनको दिव्योपदेश पढौँ त, पुनर्जागरण सचेतनाका सबै अवयवहरु भेटिन्छ ।
राष्ट्रिय एकीकरण प्रक्रियामा कुनै कारणले कतिपय व्यक्ति, समुदाय, सम्प्रदाय, जातीय समूह वा अन्य कोहीले पीडा, क्षति, कष्ट बेहोर्नु परेको थियो भन्ने तथ्य ऐतिहासिक साक्ष्यहरुबाट प्रमाणित हुन आउँछ भने के गर्ने त ?पृथ्वीनारायण शाहलाई व्यक्तिका रुपमा र राष्ट्रप्रमुखको रुपमा मूल्यांकन गर्नका लागि उनको नेतृत्वमा भएको राष्ट्रिय एकीकरण प्रक्रियाको तात्पर्यको सापेक्षतामा गर्नु पर्छ । नेपाललाई सबैथरि नेपालीजनको साझा घर बनाउने मान्यता उनको देखिन्छ । युद्धसम्बद्ध परिस्थितिमा भएका घटनाले परेका पीडा, क्षति, कष्टलाई त्यो राष्ट्रिय एकीकरण प्रक्रियाको प्रवृत्ति होइन कि अपवादका रुपमा लिनु पर्ने देखिन्छ । हो, जसले पीडा, क्षति, कष्ट बेहोर्नु परेको थियो, उनीहरुको घाउ सन्चो नभएको अवस्था छ भने त्यो सन्चो पार्न सकारात्मक उपाय अवलम्बन गर्नचाहिँ तत्पर रहनै पर्छ । इतिहासमा भएका पीडा, क्षति, कष्टलाई आजको झगडाको बिउ बनाउने प्रवृत्तिलाई निरुत्साहित, निराकरण, बन्द गराउनु जति आवश्यक छ नि, उति नै आवश्यक छ कि विगतको त्यो पीडा, क्षति, कष्टबाट पाठ पढेर आजको दिनमा सबैथरि नेपालीजनको बृहत्तर एकताको ठोस आधार बनाउन सकियोस् । पुनर्जागरणको उद्देश्य खाटा बसिसकेको घाउ कोट्याएर उकुच पल्टाउने होइन, प्रत्युत निको नभएको घाउको समुचित उपचार गरीसाझा मूल्य, मान्यता, प्रतिमान खडा गरेर अग्रगमनमा लाग्ने हो ।
पृथ्वीनारायण शाहका सन्दर्भमा वैकल्पिक दृष्टिकोणहरु र विरोधी दृष्टिकोणहरु नभएका होइनन् । कसैले तथ्य तथ्यांकहरुको विश्लेषणका आधारमा उनको छवि विनिर्माण, पुनः निर्माण वा ध्वंश गर्छु भनेरै लाग्यो भनेतापनि डराउनु पर्लाजस्तो मलाई लाग्दैन । हामी जसले पृथ्वीनारायण शाहलाई नायक मान्छौँ नि, आत्मविश्वास त हुनु पर्यो नि आफ्नो नायकको सुकर्मबारे कि जति परीक्षणको कसीमा उनलाई जाँचिनेछ उति नै उनको महानता थप उजागर हुनेछ भन्नेमा । उनलाई वा उनको नेतृत्वमा सम्पन्न राष्ट्रिय एकीकरण प्रक्रियालाई कुनै कमी कमजोरी नै नभएका भनेर जिद्दी गरिरहनु उचित हुँदैन । विभिन्न परिस्थिति, परिवेश, परिबन्दले केही कमी कमजोरी भएका हुन सक्छन्, तर त्यो आम प्रवृत्ति थिएन र अपवाद मात्र थियो भन्ने बोध हुनासाथ समष्टिमाचाहिँ उनको मूल्यांकन सकारात्मक, उच्च, सार्थक नै गरिन्छ । म उनलाई आधुनिक नेपालमा पुनर्जागरणका नायक मान्छु ।साथै, नेपालको पुनर्जागरणलाई इमान्दारीपूर्वक आफ्नो जिम्मेवारी ठान्ने जो कोहीले पनि बडामहाराजा पृथ्वीनारायणलाई नायकको रुपमा लिने, लिनै पर्ने देख्छु । कसैले अनुसन्धानकै आधारमा नयाँ तथ्य तथ्यांकहरु उजागर गरेर वैकल्पिक समीक्षा गर्छु भन्छ भने उसले त्यो गर्न पाउँछ ।

मोतीराम भट्टको मूल्यांकन नेपालको पुनर्जागरणका सन्दर्भमा कसरी गर्ने ?
नेपालको पुनर्जागरणको चिन्तन, सङ्कथन एवं संस्थानीकरणमा मोतीराम भट्टको अनुपम, अतुलनीय, अद्वितीय भूमिका रहेको छ । पुनर्जागरण सचेतनाको दिगो जग बसाल्न उनका कार्य तथा उनको अभिप्रेरणाका कारणले भएका कार्यहरुको निर्णायक प्रभाव देखिन्छ । उनी विशिष्ट नेतृत्व, सामूहिक कर्तृत्व, संस्थागत स्वामित्वको पद्धतिलाई कार्यान्वयन गराउन सफल देखिन्छन् । उनलाई नेपालको पुनर्जागरणका अग्रणी सम्वाहकका रुपमा सम्झिनु पर्छ ।
मोतीराम भट्टले जे कार्य गरे, त्यो उनीभन्दा पहिले नेपालमा आधुनिक कालखण्डमा कसैले गरेको देखिँदैन । वैदिक–औपनिषदिक कालमा भएका कार्य पुनर्जागरणका सन्दर्भमा उपमेय, विवेच्य, समीक्ष्य नभएको हुनाले त्यो कालखण्डमा नजाऊँ । नेपालको प्राचीन र मध्यकालीन इतिहासमा समेत मोतीराम भट्टसँग तुलनीय व्यक्तित्व कमै होलान् । आधुनिक कालखण्डका त उनी अग्रणी नै भइहाले । के गरे त उनले ?
मोतीराम भट्टले चिन्तन, रचना, लेखन, प्रकाशन, अभिप्रेरणा, समूह निर्माण, संस्थानीकरण लगायतका परस्पर सम्बद्ध क्रियाकलापबाट नेपालमा सामूहिक विचार विमर्श एवं सार्वजनिक बौद्धिकताको जग बसाले । पुनर्जागरणको लागि सामूहिक विचार विमर्श एवं सार्वजनिक बौद्धिकता आधारभूत तहमै आवश्यक हुन्छ, जुन आवश्यकतालाई सम्बोधन गर्ने कार्य नेपालका हकमा मोतीरामको अग्रसरता, अभिप्रेरणा एवं नेतृत्वमा भएको देखिन्छ । नेपालमा पुनर्जागरणको समृद्ध, सुव्यवस्थित, समुन्नत, युगसापेक्ष सचेतना पहिलोपल्ट मोतीराम भट्टका कार्यमार्फत् प्रकट भएको छ ।
उनलाई साहित्यकार/कवि/गजलकार आदिका रुपमा मात्रै सम्झिएर पुग्दैन । प्राचीनकालमा निकै ठूलो भूभाग चर्चेको नेपाल कालान्तरमा टुक्राटुक्रामा विभाजन भएकोमा बडामहाराज पृथ्वीनारायणको नेतृत्वमा पुनः एकीकरणको प्रक्रिया सुरु भएसँगै नेपालको पुनर्जागरण युगको पनि प्रारम्भ भएको हो भने मोतीराम भट्ट त्यो पुनर्जागरणको बौद्धिक आधारशिलाका रुपमा अग्रणी छन्, जसको उत्तराधिकारमा महाकवि लक्ष्मीप्रसाद देवकोटा र अन्य व्यक्तिहरु आएका छन् ।
बडामहाराज पृथ्वीनारायण र कविवर मोतीरामको समयको बीचको कालखण्डमा नेपाल अनेकौँ घटना, परिघटना, परिवेशबाट गुज्रियो, अनेकौँ व्यक्तिहरु सत्ता, शक्ति, सार्वजनिक संकथनको केन्द्रमा आए र गए, तर पुनर्जागरण सचेतनाका संवाहक भन्न सकिने कोही उनीहरु दुईजनाका बीचमा देखिँदैनन् । भीमसेन थापाले इस्ट इण्डिया कम्पनी वा फिरंगी अंग्रेजको विरोधमा एकजुट हुन आग्रह गर्दै इण्डियाका रजौटाहरुलाई पठाएको पत्रमा प्रसंगवश प्राचीन गौरवको दुहाइ दिइनु तथा जंगबहादुर राणाले जटिल परिस्थितिमा बठ्याइँपूर्वक इस्ट इण्डिया कम्पनी वा फिरंगी अंग्रेजबाट देशलाई जोगाउँदै मौका मिलेको बेलामा हिन्दू अधिराज्यको रवाफ देखाउनु जस्ता घटनाहरु नेपालको इतिहासमा उल्लेख्य अवश्यै हुन्, तर ती घटनामा पुनर्जागरणको सचेतना देखिँदैन । नेपाली भाषाका आदिकविका रुपमा भानुभक्त आचार्यलाई स्थापित मोतीराम भट्टले नै गराएका हुन्, जुन कार्य नेपालको पुनर्जागरण सचेतनाको दायरा विस्तार गर्ने एवं बृहत्तर ध्यानाकर्षण गराई संस्थानीकरणमा सदुपयोग गर्ने मोतीरामको योजनाको अभिन्न पाटो देखिन्छ । अर्थात्, भानुभक्तीय रामायण एवं भानुभक्त आचार्यको मूलप्रवाहीकरण जस्ता परिघटनामा पनि केन्द्रीय तत्व मोतीरामको पुनर्जागरण अभियोजना नै रहेको छ ।
राजनीति, भाषा, साहित्य, संस्कृति आदि क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेका अनेकौँ व्यक्तिहरु मोतीराम भट्टका पूर्ववर्ती अवश्यै छन्, राजनीतिक वा शासकीय क्षेत्रमा त झन् मोतीरामले प्रवेशै गरेका होइनन्; यद्यपि नेपाली राष्ट्रियताको समय सापेक्ष परिभाषाको प्रयत्नका साथसाथै पुनर्जागरणको समृद्ध, सुव्यवस्थित, समुन्नत, युगसापेक्ष सचेतना मोतीराम भट्टमा आएर नै प्रकट हुन्छ । एक व्यक्तिले, छोटो समयको आयुमा कति धेरै कार्य गर्न सक्छ भन्ने उत्कृष्ट उदाहरण मोतीराम भट्टको जीवनीबाट पाइन्छ ।
मोतीरामले विदेशी वा पराइ स्रोतका कैयौँ कुराहरुलाई नेपाली भाषा वाङ्मयमा भित्र्याएको भएतापनि उनको मानक, प्रतिमान, आदर्शचाहिँ ती थिएनन् । एउटा आधुनिक भाषा वाङ्मयमा के के चाहिन्छन् भन्ने तत्कालीन युगानुकूल पूर्वाधार पूरा गर्ने उद्देश्यले उनले पराइ स्रोतबाट पनि लेखन पठनका अन्तर्वस्तु तथा संरचनालाई नेपाली भाषा वाङ्मयमा भित्र्याएको बुझ्न सकिन्छ । मूलतः र मुख्यतः नेपाल देश एवं नेपालीजनको इज्जत, प्रतिष्ठा, अस्मिताको लागि उनको चासो, क्रियाकलाप तथा उनको अभियानको प्रकृति र प्रवृत्तिमा पुनर्जागरण सचेतना नै प्रधान देखिन्छ ।
पुनर्जागरण सचेतना मुख्य प्रवृत्ति रहेको र बाह्य, विदेशी, पराइ चिजबिजलाई पनि नेपालको अनुकूलतामा ढाल्न सक्ने क्षमता समेत भएको — दुइटै पाटोलाई विचार गर्दा मोतीरामजी समकालीन वैश्विक परिवेशसँग तादात्म्य राख्न सक्ने, परम्परा र आधुनिकतालाई समन्वय गर्न सक्ने, स्थितिगत्यात्मकतालाई आत्मसात् गरेका विशिष्ट व्यक्ति रहेको तथ्य उजागर हुन्छ । पुनर्जागरण युगका नायकहरुको विशेषता जे हुनु पर्ने हो, त्यो मोतीराम भट्टमा थियो भन्ने आधार हो यो ।

अमर शहीद शुक्रराज शास्त्रीलाई कसरी मूल्यांकन गर्ने ?
अमर शहीद शुक्रराज शास्त्री नेपालको पुनर्जागरणका सर्वाधिक् उज्याला ताराहरुमध्येका एक हुन् । उनका पूर्ववर्तीहरुमा पृथ्वीनारायण शाहलाई र उनकै समकालीन युगमा कर्मरतहरुमा महाकवि लक्ष्मीप्रसाद देवकोटालाई जस्तै शुक्रराज शास्त्रीलाई पनि पुनर्जागरण सचेतनाको दृष्टिकोणबाट हेर्नु, विश्लेषण गर्नु, अर्थापन गर्नु र उनीहरुका मूल्य, मान्यता, अवधारणालाई अन्वेषण गर्नु आवश्यक छ ।अरु पनि महान् व्यक्तिहरु छन्, जसको नाम र कार्यबारे उल्लेख, इंगित, परिचर्चा गरिने नै छ, तर अहिले जोड दिन खोजेको कुरा के भने शुक्रराज शास्त्रीलाई वीर शहीदका रुपमा सम्मान गर्नुका साथसाथै उनका विचार, मूल्य, मान्यताबारे समेत पठनपाठन, अन्वेषण, परिचर्चा, विमर्श पनि हुनु आवश्यक छ ।
शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त र गंगालाल चार अमर शहीदका नाम हरेक वर्ष शहीद सप्ताह एवं शहीद दिवसका बेलामा आउने, सरकारी पाठ्यपुस्तकहरुमा चार शहीदको नामोल्लेख हुने, नेपालको इतिहासमा राणा शासन र त्यो विरुद्धको क्रान्तिका सन्दर्भमा चार शहीदको अनिवार्य चर्चा हुने, विभिन्न संरचना वा संस्थाको नाम वीर शहीदहरुका नाममा राखिने आदि कारणहरुले उनको नाम परिचित त अवश्यै छ । तरनेपालआमाका ती यशस्वी सन्तानको नाम जति परिचित छ नि, उनको कर्म, सिद्धान्त र नेपाल देशको सुशासन कसरी गर्नु पर्ने हो भन्नेबारे उनको सोच, चिन्तन, विचार के कस्तो थियो भन्ने जानकारीचाहिँ त्यो मात्रामा छैन नेपालीजनलाई । सुशासन, शासकीय अधिकार र कर्तव्य, नागरिक अधिकार र कर्तव्य, शिक्षा पद्धति, सांस्कृतिक एवं सामाजिक व्यवहार, महिला (नारी) को अग्रणी भूमिका तथा अन्य पनि धेरै विषयवस्तुबारे शुक्रराज शास्त्रीसँगमौलिक चिन्तन रहेको देखिन्छ ।
हुतात्मा शुक्रराज शास्त्रीजीबारे कतिपय व्यक्तिहरुमा भ्रम रहेको देखिन्छ कि उनी राजनीतिक कारणले नभई अन्य कारणले फसाइएका थिए र उनलाई राणाशासनले फाँसी दिएको राजनीतिक कारणले थिएन । उनलाई मूल्यांकन गर्ने सही दृष्टिकोण होइन त्यो र तथ्यसंगत पनि देखिँदैन । अवश्य नै उनी आर्य समाजको सदस्यका रुपमा धार्मिक, सांस्कृतिक, सामाजिक कार्यमा एक विशेष मान्यता सहित सक्रिय थिए, तर उनको कार्य राजनीतिक क्षेत्रमा पनि थियो । उनमा क्रान्तिकारी चेतना र व्यवहार आउनुमा इण्डियामा आर्य समाजीहरुले राजनीतिक क्रान्तिमा समेत लिएको अग्रणी भूमिका कारक तत्वका रुपमा रहेको देखिन्छ ।समष्टिमा, उनको काठमाडौँ पुनरागमनमा राजनीतिक उद्देश्य पनि थियो । शुक्रराज शास्त्रीले धार्मिक, सांस्कृतिक, सामाजिक साथसाथै राजनीतिक क्षेत्रमा पनि अग्रणी कार्य गरेका थिए भन्नु तथ्यसंगत छ र तब नै उनको महत्व थप उजागर हुन्छ । नागरिक अधिकार समिति तथा अन्य संस्थालाई समेत उपयोग गरी शुक्रराज शास्त्रीले अघि बढाएका राजनीतिक अभियानलाई बिर्सनु उनको कर्मठ जीवनको अवमूल्यन गर्न खोजेको ठहरिन्छ ।नेपालको पुनर्जागरणका अग्रणी व्यक्तिका व्यक्तित्वका सबै आयामहरुलाई प्रकाशमा ल्याऊँ ।
तत्कालीन अवस्थामा काठमाडौँमा प्रवचनहरुका माध्यमबाट उनले नेपालको पुनर्जागरणको रुपरेखालाई विस्तृत रुपमा प्रस्तुत गरेको तथ्य उनका समकालीनहरुको साक्ष्यबाटबुझ्न सकिन्छ, जसको सानो अंश मात्र उनको लेखनी मार्फत् सुरक्षित रहन सकेको छ । स्वर्गको दरबार लगायतका उनका अनेक लिखित कृतिहरु अद्यापि पाइन्छन्, जुन कृतिहरुबाट उनको सोच, चिन्तन, विचारको आयाम बुझ्न सकिन्छ ।शुक्रराज शास्त्रीलाई धार्मिक, सांस्कृतिक, सामाजिक साथसाथै राजनीतिक चिन्तन समेतमा समृद्ध, अग्रणी, नेपालको पुनर्जागरणका नायकका रुपमा लिनु पर्छ ।
नेपाल प्रजापरिषद्का नेता टंकप्रसाद आचार्य, नेपाली कांग्रेसका नेता वीपी कोइराला, नेपालक कम्युनिस्ट पार्टीका नेता पुष्पलाल र अन्य पनि राजनीतिक नेताहरुको र शुक्रराज शास्त्रीको चिन्तन, मान्यता, प्रतिमानको तुलना गर्ने हो भने नेपालको पुनर्जागरण सचेतनाको कसीमा शास्त्रीजीको महत्व झनै उजागर हुनेछ । वीपी र पुष्पलाल बाह्य प्रतिमानका संवाहक ठहरिन्छन्, जसको उत्तराधिकारमा नै नेपालको कपूतन्त्र चलिरहेको छ । टंकप्रसाद आचार्य तत्कालीन अन्यायी शासक एवं तानाशाही शासन व्यवस्थाको प्रतिक्रियामा उठेका क्रान्तिकारी हुन्, जसको नाम इतिहासमा ठूलो सम्मानका साथ लिनु जरुरी छ, तर उनको सैद्धान्तिक चिन्तन, मान्यता, प्रतिमानले नेपालको पुनर्जागरण सचेतनालाई कसरी मद्दत गर्छ भन्नेचाहिँ स्पष्ट छैन । तसर्थ, त्यो कालखण्डबाट हामीले कोही व्यक्तिलाई मुख्यतः रोज्नु पर्यो भने अमर शहीद शुक्रराज शास्त्रीसम्म नपुगी सुखै छैन । अघि बढेर महाकवि लक्ष्मीप्रसाद देवकोटामा आइपुग्दा नेपालको पुनर्जागरण सचेतना थप तेजस्वी, समृद्ध एवं समकालीन वैश्विक विकाससँग तुलनीय समेत भएको देखिन्छ ।

डा. निर्मलमणि अधिकारी
vedicbrahman@gmail.com

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s


%d bloggers like this: