सहृदयतावादको शङ्खघोष गरौँ

नाक चुच्चो छ कि थेप्चो (नेप्टो) छ, आँखा विस्फारित (खुलेको) छ कि चिम्सो छ, रङ्ग गोरो छ कि कालो छ, जुँगा–दाह्री छपक्कै बाक्लो आउँछ कि कताकति तिलचामले मात्र आउँछ, हिमाली भेगको हो वा पहाडी भेगको हो वा तराइ मधेश भेगको हो, कुन जातिको हो, कुन प्रजातिको हो, कुन जातको हो, एस्ता एस्ता निहुँमा मान्छेको कित्ताकाट गर्ने/ध्रुवीकरण हुने अहिलेको तथाकथित राजनीतिलाई विस्थापित गरौँ । पहिचान/अस्मिता (Identity) को राजनीतिका नाममा घृणावादलाई मलजल नगरौँ । नागरिक–राजनीतिक अधिकारका परिप्रेक्ष्यमा व्यक्ति नै सर्वोच्च हो र व्यक्तिका गुण/दोषका आधारमा कसी लगाएर ठिक/बेठिक, असल/खराब के हो भन्ने निर्णय हुनु वाञ्छनीय छ ।
सम्बन्धको आधार प्रेमलाई बनाऔँ; घृणालाई सम्बन्धको आधार नबनाऔँ ।
वर्तमान नेपालमा तीव्र गतिमा कित्ताकाट, ध्रुवीकरण, सङ्गठन/विगठन/विघटन भइरहेको परिस्थितिमा हाम्रो अगाडिको जल्दोबल्दो सवाल स्पष्ट छ : घृणालाई सम्बन्धको आधार बनाउने हो वा प्रेमलाई ?
असहिष्णुता, विद्वेष, झगडा, विखण्डन, हिंसाको निमित्त निहुँ खोज्ने हो भने त्यस्तो निहुँ जहिले पनि जहाँ पनि भेटिनेछ र सहिष्णुता, सामञ्जस्य, मैत्री, शान्ति, एकता, सहृदयताको निमित्त आधार खोज्ने हो भने पनि पाइला–पाइलामा पाइनेछ । निर्णय त हामीले गर्नुछ : के हो हाम्रो अभीष्ट ? नेपाली राष्ट्रियताको जगलाई सुदृढ गराउने हो वा यसलाई नामेट गराउने ?
सहृदयी एकताले उज्यालो भविष्यतिर डोर्याउनेछ र विद्वेषपूर्ण विखण्डनले विनाशलाई निम्त्याउनेछ । कि भन्नु पर्यो — नेपाल भन्ने राष्ट्र खडा गर्नु नै गलत थियो; नत्र नेपाल राष्ट्रलाई जीवित यथार्थ मान्ने हो भने नेपाली राष्ट्रियतालाई जसरी पनि बलियो नबनाई सुखै छैन । नेपाली राष्ट्रियतालाई बलियो बनाउने हो भने यसका आधारहरूलाई मजबुत बनाउनै पर्छ ।
नेपाली राष्ट्रियताका बृहत्तर आधारहरू पहिचान गरौँ; नेपाली राष्ट्रियताको बृहत्तर एवं अद्यावधिक परिभाषा, व्याख्या, विश्लेषण, अर्थापन गरौँ; साझा राष्ट्रिय चेतनालाई अवलम्बन गरी नेपाललाई “राज्यराष्ट्र” का रूपमा अग्रणी बनाऔँ ।
विविधतालाई एकता, शक्ति, सामर्थ्य, समृद्धिको स्रोत बनाऔँ;
विविधतालाई घृणा, द्वेष, फुट, लडाइँको निहुँ नबनाऔँ ।
प्रत्येक जाति, समुदायका आ–आफ्ना विशेषताहरू हुन्छन् र ती सम्पूर्ण जातिहरू, समुदायहरू मिलिसकेपछि बन्ने समुच्चा राष्ट्रको, राष्ट्रिय चरित्रको र संस्कृतिको पनि एउटा विशिष्ट स्वरूप हुन्छ । यसलाई रसायनशास्त्रको उदाहरण लिएर हेर्दा यदि अम्ल र क्षार मिल्न गए भने छुट्टै प्रकारको वस्तु लवण उत्पन्न हुन जान्छ । जसरी लवणको गुण अम्ल र क्षार भन्दा छुट्टै खालको भए तापनि त्यो लवणमा अम्ल र क्षारको बराबरी योगदान छ भन्ने कुरा वैज्ञानिक सत्य हो, त्यसरी नै राष्ट्रिय चरित्र एवं संस्कृतिसँग कुनै जातीय समुदाय, भाषिक समुदाय, भौगोलिक क्षेत्रको चरित्र एवं संस्कृतिको तादात्म्य देख्न नसकिएको अवस्था छ भने पनि त्यस राष्ट्रको राष्ट्रिय चरित्र एवं संस्कृतिमा उक्त जातिको चरित्र एवं संस्कृति सन्निहित हुन्छ । जसरी माथि दिइएको उदाहरणमा अम्ल र क्षारको गुण लवणको गुणसँग तादात्म्यता देख्न नसकिए तापनि लवणमा अम्ल र क्षार दुवैको बराबरी योगदान र महत्व छ, त्यसरी नै समुच्चा नेपाली राष्ट्रिय संस्कृतिमा पहाडी ब्राह्मण–क्षेत्रीका साथै नेवार समुदाय, शिल्पी (“दलित”) समुदाय, मैथिली समुदाय, मगर, गुरुङ्ग, तामाङ, राई, लिम्बु, शेर्पा आदि इत्यादि नेपालका सम्पूर्ण जाति वा समुदायहरू सबैको बराबरी योगदान र महत्व छ ।
नेपाल विविधतायुक्त देश हो; नेपालमा धेरैथरी जाति हुनु र तिनीहरू मिलेर एउटै राष्ट्र निर्मित हुनु स्वाभाविक र सहज कुरा नै हो ।
सहृदयता – जिन्दावाद !!!

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s


%d bloggers like this: