को हुन् आर्य ? को हुन् अनार्य ?

आर्य र अनार्य
— निर्मलमणि अधिकारी ‘आयोदधौम्य’, पीएच.डी.

यदि कसैसँग “आर्य भनेको के हो ?” भनेर सोध्ने होभने या त “आर्य भनेका हिन्दू बाहुन–क्षेत्री त हुन् नि” भन्दिइहाल्ला वा थोरै समझदार हूँ भन्ठान्ने परेछ भनेचाहिँ भाषा–समूहको कुरा निकाल्ला; र कसैले जर्मनेली, इरानेली आदि समेतलाई समेटेर एकखाले प्रजाति समूहको रुपमा आर्यहरुको परिचय देला । तर यी कुनैपनि आर्यत्वका सही अर्थ होइनन् ।

‘आर्य’ भनेको के हो र ‘अनार्य’ भनेको के हो भन्ने कुरा हामीले राम्ररी बुझ्नु जरुरी छ । किनकि यिनका अर्थमात्रै पनि राम्ररी बुझ्न सक्ने होभने हाम्रो राष्ट्रमा हाल उब्जाइएका धेरै खाले विवाद/भ्रमहरुको समाधान सहज हुनपुग्छ ।
सामान्य बुद्धिले पनि ठम्याउन सकिन्छकि ‘आर्य’ र ‘अनार्य’ विपरितार्थक शब्द हुन् । तर आर्यत्वको अर्थ रत्तिभर नबुझेका कतिपय व्यक्तिहरुले आर्य भन्नासाथ ‘मंगोल’को विपरितार्थक ठान्ने; अनि ‘अनार्य’ र ‘मंगोल’ शब्दहरुलाई एक–आपसमा समानार्थक शब्द जस्तो गलत प्रयोग गर्ने गरेको देखिन्छ । वस्तुतः अनार्य र मंगोल एक–अर्काका समानार्थक होइनन्; अनि आर्य र मंगोल शब्द एक–अर्काका विरोधी पनि होइनन् । त्यस्तै, बाहुन–क्षेत्री जति सबै ‘आर्य’ हुन्छन् भन्ने कुनै निश्चितता पनि छैन । बाहुन–क्षेत्री पनि अनार्य हुन सक्छन् र एउटा मंगोलियन पनि आर्य हुन सक्छ । जहाँ ‘मंगोल’ शब्द प्रजाति (race) वाचक हो भने ‘आर्य’चाहिँ प्रजातिवाचक होइन र यो संस्कारसँग सम्बन्धित छ । आर्यलाई जातिवाचक भन्ठान्नाले कुरो गडबड भएको छ । खासमा आर्य शब्द जातिवाचक हुँदैहोइन; यसलाई जातिवाचक बनाउने षडयन्त्र इसाईहरुको हो र त्यसमा कम्युनिस्टहरुले लागे–पुगेसम्म योगदान गरेका छन् ।
युरोपीय साहित्यमा उन्नाइसौं शताब्दीको मध्यतिरबाट मात्र ‘आर्य’ (Aryan) नामको कुनै जातिको चर्चा गर्न थालेका छन् । लास्सेन नामक व्यक्तिले सन् १८४७ मा History of Ancient India किताब छपाएका थिए र त्यही किताबमानै सबैभन्दा पहिलोपल्ट आर्य शब्दको गलत अर्थ लगाएर जातिको जामा लगाइएको हो । त्यसअघि संसारमै कहिँ–कतै कसैलेपनि आर्य शब्दलाई जाति–बोधक शब्दका रुपमा प्रयोग गरेकै थिएन । यसलाई विशेष गरेर लण्डनमा मिति ९।४।१८६६ सन्मा भएको ‘रोयल एशियाटिक सोसाइटी’को बैठकमा पश्चिमा इसाई ‘विद्वान’हरुद्वारा सर्वसम्मतिले जातिबाचक रुपमा प्रतिस्थापित गर्ने काम भएको हो । वैदिक धर्म, संस्कृति, भारतवर्षीय सभ्यता र ऐतिहासिक गौरवसँग इष्र्यालु पश्चिमा इसाईहरुले रोयल एशियाटिक सोसाइटी मार्फत् भ्रष्टीकरण गरिछाडे । मेकालेको शिक्षानीतिको मूल अभीष्ट पनि यही थियो । तिनीहरुको कपटपूर्ण कार्यको भारतवर्षीय विद्वानहरुले उत्तिखेरै प्रतिकार गर्न नसक्दा मिथ्या कुरा फैलँदै गयो र अहिले ‘आर्यत्व’लाई नबुझेर “फलानो आर्य र ढिस्कानो अनार्य” भन्ने जस्तो हुस्सुपनामा भुलेर मूर्खतापूर्ण विवाद भइरहेको छ । अहिले त यति विकृत र विडम्बनापूर्ण स्थिति छकि मान्छेहरु “आर्य भनेका हिन्दू बाहुन–क्षेत्री त हुन् नि” भनेर संकीर्ण अर्थ गर्दैछन् । अनि हिटलर जस्ता व्यक्ति पनि देखिए जसलेकि आर्यत्वलाई जातिय अहंकारका निमित्त समेत प्रयोग गरे । म्याक्समुलर नामक विद्वानले भाषा–तत्वसँग जोडे यसलाई । यद्यपि म्याक्समुलरको मनशाय पवित्र भएतापनि यसबाट पनि त्यो गल्ती सच्चिएन ।
रोथ आदि लेखक आर्य शब्द ‘अर्’ धातुबाट आएको भन्छन् । उनीहरुको भनाइ अनुसार कृषिवाचक अर् धातुबाट आर्य शब्द निष्पन्न भयो रे । कसैले त ‘अर्’लाई गति–अर्थक (गत्यर्थक) भनेर “आर्यहरु त घुमक्कड जातिका हुन्” भन्न समेत भ्याए । तर अचम्मको कुरो के छ भने जुन ‘अर्’ धातुको नाम बेचेर आर्य शब्दको दोहोलो काडियो, अर्थको अनर्थ लगाइयो —त्यही ‘अर्’ धातु संस्कृत कोषमा छँदैछैन । हुँदै नभएको धातु छ भनेर कीर्ते शब्दको आधारमा बाह्र–सत्ताइस अनर्थ निकाल्ने काम गर्न समेत भ्याए तिनीहरुले । जसरी पनि भारतवर्षमा फूट पैदा गराउने, हीनताबोध उमारिदिने र इतिहासको भ्रष्टीकरण गर्ने ध्याउन्ना रह्यो उनीहरुको ।
र हाम्रा निमित्त दुर्भाग्यको कुरा —उनीहरु सफल भए । कपटपूर्ण कार्यको भारतवर्षीय विद्वानहरुले उत्तिखेरै प्रतिकार गर्न नसक्दा मिथ्या कुरा फैलँदै गयो । इसाई तथा कम्युनिस्ट लगायतका ‘विद्वान’हरुका बुद्धि विलासमा छक्किएर “आर्य भनेको त यसो पो रहेछ” भनेर त्यै मिथ्या कुरामा विश्वस्त हुनु लाजमर्दो कुरो हो । अब हामीले चाहेमा आर्य शब्दको यथार्थ/वास्तविकता प्रष्ट पार्न नसकिने होइन । जसरी अर्काले “चिनीको स्वाद गुलियो हुन्छ” भनेर हाम्रा सामु हजारौंपल्ट भनिरहेतापनि आफैंले नचाखुञ्जेलसम्म त्यो ‘गुलियो’ हुनुलाई अनुभूत गर्न सकिँदैन, त्यसरीनै वैदिक संस्कृत वाङ्मयको अनुशीलन नगरी वैदिक शब्द ‘आर्य’को यथार्थता÷ वास्तविकता जानिँदैन । ‘आर्यत्व’ बुझ्न वेदको सहायतालेमात्र सकिन्छ ।
ईश्वरवाचक ‘अर्य’ शब्द (ऋग्वेद–१।८६।६) ‘ऋ गतौ’ धातुमा ‘अचोयत्’ गरेपछि ‘ऋहलोण्र्यत्’ सूत्रले (अष्टाध्यायी–३।१।१२४) ‘ण्यत्’ गर्नाले निष्पन्न भएको हो । यो ईश्वरवाचक ‘अर्य’ शब्दमा नै ‘तस्यापत्यम्’ (अष्टाध्यायी–४।१।९२) सूत्रले ‘अण्’ प्रत्यय लाग्नाले ‘आर्य’ पद निष्पन्न भयो । यी जम्मै कुराको विवेचना गर्दा आर्य भनेको ईश्वरपुत्र, श्रेष्ठ, उत्तम गुणयुक्त, सद्गुण परिपूर्ण आदि हो भन्ने स्पष्ट हुन आउँछ । “कर्तव्यमाचरन् काममकर्तव्य मनाचरम्, तिष्ठति प्राकृताचारे स तु आर्य इति आर्य इति स्मृतः ।।” श्लोकले यसैलाई प्रष्ट्याउँछ । यी सबै कुराले आर्य भनेको बानीबेहोरा एवं धारणासँग सम्बन्धित छ भन्ने प्रमाणित हुन्छ । वेदका आधिकारिक भाष्यकार सायणाचार्यले विभिन्न स्थानमा आर्यको अर्थ गर्दा कतैपनि जातिबोधक अर्थ गरेका छैनन् ।
अम्बेडकरले ऋग्वेदका पाना–पाना पढेर गणना गर्दा ‘अर्य’ शब्द ८८ (अठासी) स्थानमा र ‘आर्य’ शब्द ३१ (एकतीस) स्थानमा भेटे; र कतैपनि यी जातिवाचक भएको पाएनन् ।
यी तमाम सत्य तथ्य विपरित आर्य शब्दलाई कुनै एउटा जात वा प्रजाति भनिइनु पटमुख्र्याइँ हो ।
हामी एउटा उदाहरण हेरौं । वेदमा भनिएको छ— “कृण्वन्तो विश्वमार्यम्” (ऋग्वेद–९।६३।५) अर्थात् सारा विश्वलाई आर्य बनाऊ । हामीले माथि विवेचना गरेझैं आर्यत्व संस्कार, बानीबेहोरा, धारणासँग सम्बन्धित भएको खण्डमा “विश्वलाई आर्य बनाऊ” भन्दाखेरीमा सबैको नराम्रो÷खराब संस्कार, बानीबेहोरा, धारणा हटाइदिएपछि सबैलाई आर्य बनाउन सकिने हुन्छ; र कामकुरो मिल्छ पनि । यदि हिन्दू बनाऊ, वा बौद्ध बनाऊ, शिख बनाऊ, वा इसाई बनाऊ, वा मुस्लिम बनाऊ भनेको भए अहिले विभिन्न मिसनरीहरुले गरेझैं धर्मान्तरणको खेती गरे पुग्दो हो । तर यदि आर्य भनेको बाहुन–क्षेत्री जस्ता चुच्चा नाके होभने के अर्थ आयो त विश्वलाई आर्य बनाऊ अर्थात् “कृण्वन्तो विश्वमार्यम्” सन्देशको ! के यहीकि नेप्टो नाकलाई सनासाले तानेर चुच्चो पार्ने ? अफ्रिकाका काला मानिसहरुलाई बार्निस घसेर रंग फेर्ने कि ? चीनका होचा प्रजातिलाई दुईपट्टिबाट तानेर अग्ल्याउने ? —के अब सारा विश्वलाई आर्य यसरीनै बनाउने ? यसरी छर्लङ्ग हुनआउँछकि बाहुन–क्षेत्री जस्ता चुच्चो नाक हुनेहरु आर्य र मंगोलियन जस्ता थेप्चो नाक हुनेहरु अनार्य भन्नु मुर्खतापूर्ण, बेतुके, पुङ्माङे, हावादारी हो । आर्य र अनार्य नाकको किसिमले छुट्टिने कुरो होइन; आर्य र अनार्य छालाको रंग हेरेर खुट्टिने तत्व पनि होइन । आर्य भन्ने जात हुँदैन र अनार्य भन्ने जात पनि हुँदैन । वस्तुतः आर्यत्व/अनार्यत्व एउटा संस्कार हो । संस्कार सपारेर अनार्य पनि आर्य बन्न सक्छ; अनि संस्कार बिग्रेको खण्डमा आर्य पनि अनार्य हुन्छ । अस्तु ।
(स्पेसटाइम दैनिक, वर्ष २ अंक १८१, वि.सं. २०५९ बैशाख २१ शनिवार, पेज नं. ६ मा प्रकाशित)

Advertisements

2 Responses to “को हुन् आर्य ? को हुन् अनार्य ?”

  1. biduradhikari Says:

    कुनै जाति वा रङ्का समुहसँग अार्य शब्दकाे सम्बन्ध विलकुलै छैन भन्ने विद्वान निर्मलमणि अधिकारीज्यूको गहिरो उत्खननप्रति मेरो पूर्ण सहमति छ । पश्‍चिमा लेखक विद्वानहरुले लगाएको गलत अर्थलाई अस्वीकार गर्नुपर्छ । सत्य तथ्य बङ्ग्याएर वा लुकाएर कसैले अर्को मतलाई कमजोेर दाेषी देखाएर आफ्‍नो मत धर्म वा सिद्धान्तलाई बढावा गर्न खोज्नु कदापि स्वीकार्य हुँदैन । अन्तमा त्यो प्रत्युदपादक हुन्छ । सत्यको पक्षमा छु भनी जानको व्यक्त्तिले अर्को पक्षको सत्यको दावीबाट डराउनु पर्दैन । साध्य असल छ भने साधन पनि असलै हुनुपर्छ । तर तथ्यपरकरुपमा तुलना विवेचना र मूल्याँकन गर्नचाहिँ कुनै अाइतवार बारिरहनु पर्दैन ।

  2. Bharat Pd. Neupane Says:

    Very good analysis. Worth reading research article.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s


%d bloggers like this: