‘हिन्दू’ शब्द : ‘हिन्दू-धर्म’, ‘हिन्दू–संस्कृति’, ‘हिन्दू–समाज’, ‘हिन्दू–जाति’ … … …

‘हिन्दू’ शब्द : ‘हिन्दू-धर्म’, ‘हिन्दू–संस्कृति’, ‘हिन्दू–समाज’, ‘हिन्दू–जाति’ … … …
— निर्मलमणि अधिकारी ‘आयोदधौम्य’, पीएच.डी.

‘हिन्दू’ शब्दको परिभाषा दिनु एकातिर अत्यन्त सजिलो छ भने अर्कातिर अत्यन्त अप्ठ्यारो पनि छ ।
हाम्रो परिचय ‘हिन्दू’का रूपमा सुविख्यात छ र यसर्थ ‘हिन्दू’ हाम्रो नाम भएको छ । आज ‘हिन्दू’ शब्दले हाम्रो धर्मको वैदिक उत्पत्ति, आर्य प्रवृत्ति र सनातन उपस्थितिको एकसाथ प्रतिनिधित्व गर्दछ ।

‘हिन्दू’ शब्दको परिभाषा दिनु एकातिर अत्यन्त सजिलो छ भने अर्कातिर अत्यन्त अप्ठ्यारो पनि छ । सामान्य व्यवहारलाई हेर्ने हो भने यसको अर्थ सरल छ, अनि यसका अनेक आयामतर्फ जाने हो भने यसको जटिलता पनि उत्तिकै छ । सामान्य व्यवहारको कुरा गर्दा समसामयिक सन्दर्भमा ‘हिन्दू’ शब्द एउटा धर्म–विशेष एवम् सो धर्मका अनुयायीहरूलाई बुझाउने गरी सहजतापूर्वक प्रयुक्त हुँदैआइरहेको छ, जसअनुसार “वैदिक धर्म नै हिन्दू धर्मको मूल आधार हो”१ । साथै ‘हिन्दू–संस्कृति’, ‘हिन्दू–दर्शन’ तथा ‘हिन्दू–शास्त्र’ जस्ता शब्दावली पनि प्रयुक्त हुने गरेका छन् र ‘हिन्दू–समाज’ तथा ‘हिन्दू–जाति’ भन्ने शब्दावली समेत चलेको देखिन्छ ।
‘हिन्दू’ भनेर एउटै छाता–अवधारणामा समेट्ने गरिएको भएतापनि विविधताको दृष्टिले विचार गर्दा यसभित्र हजार भन्दा बढी धार्मिक सम्प्रदायहरू, अनेक मतहरू, पन्थहरू, शाखा–प्रशाखाहरू, मतमतान्तरहरू, अनेक सांस्कृतिक समूह–उपसमूहहरू एवं अनेक जात–जातिहरू देख्न सकिन्छ ।२ यसमा उत्तरोत्तर बढोत्तरी नै हुने अवस्था छ र केही वर्ष यतापनि यसभित्रैबाट नयाँ नयाँ सम्प्रदायहरू जन्मिरहेका देख्न सकिन्छ । यस्तो पृष्ठभूमिमा ‘हिन्दू–जाति’, ‘हिन्दू–संस्कृति’, ‘हिन्दू–समाज’ आदिलाई सरल वाक्यमा परिभाषित गर्नु शायदै सम्भव होला । यद्यपि, यति धेरै विविधता भएतापनि, ‘हिन्दू’ शब्द सामान्य व्यवहारमा सहजै प्रयोग भइरहेको छ र त्यसको अर्थ पनि बोध भइरहेकै छ । किनकि “नाना जातिहरूका भएतापनि व्यवस्थाको भूमिमा उनीहरूको समाज एक छ । समस्त जन–समाजमा अनेक जाति तथा उपजातिहरू छन्, किंतु सब कुनै एक (साझा) भावनाले परस्पर बाँधिएका छन्”३ । अर्थात्, विविधता जतिधेरै परिमाणमा भएतापनि त्यसको मूर्तिकरण हुँदा समष्टिमा एउटा सिङ्गो स्वरूप प्रष्टिएकै छ । छवि–विहीन पक्कै छैन यो ‘हिन्दू’ शब्द ।
प्रारम्भमै हामी स्पष्ट हुनु पर्दछकि “हिन्दू संस्कृति युगौंको देन हो, जसमा सयकडौं पुस्ताद्वारा गरिएका परिवर्तन समवेत छन्”४ । “विश्व मानवले आदिम–अतिआदिम अवस्थादेखि मानिल्याएको वा प्रागतिप्राक–ऐतिहासिक कालदेखि मानव समूह–समाजले पालन गरिल्याएका सनातन धर्म ….लाई नै कालान्तरमा कारणवश ‘हिन्दूधर्म’ भनेर चिनाउने काम हुँदै आएको छ”५ । वास्तवमा “वैदिक कालदेखिको अविच्छिन्न ज्ञान र अनुभूतिको परिपृष्ठमा हिन्दू संस्कृतिले आफूलाई उभ्याएको छ” ६ र “हिन्दू जीवनका समस्त सामाजिक आधारहरू वेदबाटै निःसृत हुन्छन्”७ ।
‘हिन्दू’ भन्नासाथ वेदसँगको यसको सोझो सम्बन्ध रहेको तथ्यलाई प्रायः सबै विद्वानहरूले स्वीकार गरेका छन्, जुन तल हामीले गर्ने चर्चाका क्रममा लिइने उद्धरणहरूबाट पनि देखिने नै छ । तथापि यो नामाकरण आफैंमा कति प्राचीन हो भन्नेमा चाहिं विवाद कायमै छ । “ हिन्दू–धर्मको एक विशेषता यो छकि यसको कुनै निजी नाम छैन । प्राचीन शास्त्रहरूमा ‘हिन्दू–धर्म’ नामको उल्लेख देखिँदैन । ‘हिन्दू’ शब्द ‘सिन्धु’को विकृत रूप हो । सिन्धु नदीको पारिपट्टि बस्ने मानिसहरूलाई पश्चिमका मानिसले ‘हिन्दू’ भन्ने गर्दथे र उनीहरूको धर्मलाई ‘हिन्दू–धर्म’ भन्दथे । प्राचीन शास्त्रहरूमा हिन्दू–धर्मलाई केवल ‘धर्म’ शब्दले मात्र उल्लेख गरिएको छ । यसबाट थाहा लाग्छकि प्राचीन युगमा हिन्दू–धर्म बाहेक अर्को कुनै धर्म थिएन । कहीँ कहीँ यसै धर्मलाई ‘सनातन धर्म’ पनि भनिन्थ्यो । …. कहीँ कहीँ हिन्दू–धर्मलाई ‘वर्णाश्रम–धर्म’ नामले जनाइएको छ ।”८
एक मत यस्तो छकि “यो शब्दको प्रयोग सर्वप्रथम पारसवासीहरूले सिन्धु नदी वा त्यसका सहायक नदीहरूका तटवर्ती इलाकामा बस्नेहरूका निमित्त प्रयोग गरेका थिए । पारसीमा ‘स’को उच्चारण ‘ह’ ध्वनिमा गर्ने गरिन्छ, जस्तै ‘सप्त’लाई ‘हप्त’, ‘असुर’लाई ‘अहुर’, ‘सरस्वती’लाई ‘हरह्वती’ र ‘सप्तसिन्धु’लाई ‘हप्तहिन्दू’, आदि । हिन्दू–आदिग्रन्थ वेदमा सिन्धु नदी र यसका सहायक नदीहरू झेलम, रावी, चेनाव, व्यास, दृषद्वती र सरस्वती नदीहरूको उल्लेख भएबाट प्राचीन हिन्दूहरू यसै क्षेत्रका बासिन्दा भएको प्रमाणित हुन्छ । त्यसैले सिन्धु शब्दबाटै पारसीहरूको कारणले ‘हिन्दू’ शब्द विकसित हुन पुगेको तथा प्राचीन समयमा उपरोक्त सिन्धु र त्यसका सहायक नदीहरूको तटवर्ती इलाकाका सम्पूर्ण बासिन्दाहरूलाई बुझाउन ‘हिन्दू’ शब्द प्रयोग भएको देखिन्छ”९ । साथै “पन्ध्रौं शताब्दीसम्म पनि ‘हिन्दू’को अर्थ ‘भारतीय’ सम्झिइन्थ्यो तथा भारतमा स्थायीरूपले बसोबास गर्ने विदेशी पनि आफूलाई ‘हिन्दू’ नै भन्न थाल्दथे र यहीँका जातिमा मिलेर एक हुन्थे ।”१० भन्ने तथ्य पनि यहाँ उल्लेख्य छ ।
“‘हिन्दू’ शब्द वैदिक उत्पत्तिको शब्द हैन । जुन धर्मको मूल ‘वेद’ हो, परन्तु एउटा अवैदिक शब्द त्यसको सर्वप्रचलित परिचय बनेको छ —यो कम रमाइलो कुरो छैन”११ भन्ने धारणा एकातिर पाइन्छ भने अर्कोतिर यो शब्द अवैदिक भएतापनि गैर–संस्कृत चाहिँ होइन भन्ने तर्क गर्ने विद्वानहरू पनि छन् । बृहस्पति–आगम नामक ग्रन्थलाई उद्धृत गर्दै हिमालय पर्वतको ‘हि’ र इन्दुसरोवरको ‘न्दु’ मिलेर ‘हि+न्दु = हिन्दु’ भएको भन्ने गरिएको पनि पाइन्छ१२ ।
भौगोलिक आधारमा हिन्दूत्वलाई अथ्र्याउन खोजिएजस्तै जन्मना हिन्दू हुने पक्षलाई जोड दिने विद्वानहरू पनि नभएका होइनन् । यस मतानुसार “वेदादि शास्त्रहरू तथा शिष्टानुमोदित परम्परागत आचार–विचारवाला समाजमा उत्पन्न, तादृश वेदादि शास्त्रहरूको प्रामाण्ड मान्नेवाला, तिनमा विश्वास राखेर तदनुकूल व्यवहार गर्नेवाला व्यक्ति नै हिन्दू हो र उसको सोही आचार–विचार नै हिन्दूसंस्कृति हो”१३ भनिएको पाइन्छ ।
“अहिले पुराण कथा श्रवण गर्ने, पूजा यज्ञ अनुष्ठान इत्यादि गर्ने वर्गलाई हिन्दू भन्छन् । …. सिन्धुले भेटेसम्मका भारतभूमिमा बसोबास गर्नेहरू सबै हिन्दू भनिएको भएतापनि यसलाई मान्न मिल्दैन । किनकि ती क्षेत्रहरूमा वेद नमान्ने पनि हुन सक्छन् र वेद नमान्नेलाई कसरी हिन्दू मान्न सकिन्छ ।”१४ हिजो भारतवर्षका निवासी सबैलाई हिन्दू भनिने भएतापनि अहिले त्यसो भन्न मिल्दैन भन्ने तर्कमा सहमत हुन सकिने ठाउँ कहाँनेर छभने भाषा वैज्ञानिकहरूले पनि प्रमाणित गरिसकेका छन्कि “शब्दको पनि युग बदलिन्छ”१५ । अनि “कालान्तरमा एउटै शब्दको अर्थ पनि या त विस्तृत हुने, या सङ्कुचित हुने र कहिलेकाहिँ ठ्याक्कै उल्टो अर्थ दिने गरी परिवर्तन समेत हुनसक्छ ।”१६ हिन्दू शब्दको सन्दर्भमा हामी अर्थविस्तृति र अर्थसङ्कुचन दुवै कुरा सँगसँगै भएको देख्छौं । अचेल यस शब्दले भारतवर्ष निवासी सबैलाई समेट्दैन र भारतवर्षमा ठूलो संख्यामा गैर–हिन्दूको पनि बसोबास भएकाले यसरी ‘हिन्दू’को अर्थसङ्कुचन भएको छ । तर भारतवर्षमा बहुमत जनसंख्या ‘हिन्दू’कै छभने यस भूमि भन्दा बाहिरपनि संसारका प्रायः जसो भूभागमा समेत ‘हिन्दू’हरू फैलिएका हुनाले अर्थविस्तृति पनि भएको छ । अनि जन्मना अरु ‘धर्म’का भएतापनि पछि हिन्दूधर्मलाई अङ्गीकार गर्नेहरूको पनि पछिल्ला वर्षहरूमा उल्लेख्य वृद्धि भएको छ ।
यसरी भौगोलिक आधारमा वा जन्मको दृष्टिले मात्र कोही हिन्दू हुने वा नहुने भन्ने कुरा वर्तमान सन्दर्भमा व्यावहारिक ठहर्दैन; बरु धार्मिक एवम् सांस्कृतिक आधारमा हिन्दूत्वको परिभाषा हुनु पर्दछ । तर ऐतिहासिक कालमा आर्य–पहिचान, भारतवर्षको भौगोलिकता, वेद तथा वैदिक परम्पराका शास्त्र, संस्कृत भाषा, आदिसँगको हिन्दूत्वको अभेदतालाई पनि हामीले बिर्सन मिल्दैन ।
आधुनिक सन्दर्भमा कसलाई हिन्दू मान्ने भन्ने बारेमा महात्मा विनोबा भावेको मत१७ यहाँनेर उल्लेख्य छ—
यो वर्णाश्रम निष्ठावान् गोभक्त श्रुतिमातृकः ।
मूर्तिं च नावजानाति सर्वधर्म समादर ः ।।
उत्प्रेक्षते पुनर्जन्म तस्मात्मोक्षणमीहते ।
भूतानुकूल्यं भजते स वै हिन्दुरिति स्मृतः ।।
हिंसया दूयते चित्तं तेन हिन्दुरितीरितः ।।
अर्थात्— जो वर्णाश्रम व्यवस्थामा आस्था राख्दछ, गाईको पूजा गर्दछ, आमालाई झैं श्रुति–स्मृतिलाई प्रेम गर्दछ, विश्वमा प्रचलित विभिन्न धार्मिक भावनाप्रति जो आदर–सम्मान गर्दछ, देवमूर्तिको जो अवज्ञा गर्दैन, पुनर्जन्ममा जसको आस्था रहन्छ र सदासर्वदा जन्म–मृत्युको चक्करबाट मुक्त हुन खोज्दछ (मोक्षको प्रयत्न गर्ने), जो सदा सम्पूर्ण जीवमात्रको हितकारी भई अनुकूलमा रहन चाहन्छ, जसको चित्त हिंसा (परपीडा, मारकाट) बाट सदा दुःखी हुन्छ, त्यसलाई हिन्दू भनेर चिन्नु पर्दछ ।
‘हिन्दू’का अन्य केही परिभाषाहरू हेरौं ।
“रामकोषमा भनिएको छ :-
हिन्दूर्दुष्टनृहा प्रोक्तोऽनार्यनीतिविदूषकः ।
सद्धर्मपालको विद्वान श्रौतधर्म परायणः ।।
अर्थात्— दुष्ट नरलाई दण्ड दिनेवाला, अनार्य नीतिको विरोधी, सद्धर्मपालक, विद्वान र श्रुतिद्वारा निर्देशित धर्मको अनुयायी व्यक्ति नै ‘हिन्दू’ हो ।
अद्भुतरूपकोष अनुसार :-
हिन्दूर्हिन्दुश्च पुसिं द्वौ दुष्टानाम् च विघर्षणे ।
अर्थात्— ‘हिन्दू’ र ‘हिन्दु’ दुबै शब्द दुष्टहरूको विनाश गर्ने वाचक हुन् र यी दुबै पुलिङ्गमा छन् ।
हेमन्तकविकोष अनुसार :-
हिन्दूर्हि नारायणादिदेवताभक्तः ।
अर्थात्— हिन्दू त्यसलाई भन्दछन् जो नारायण आदि देवताहरूको भक्त छ ।
वृद्धस्मृति नामक ग्रन्थ अनुसार :-
हिंसया दूयते यश्च सदाचरण तत्परः ।
वेदगोप्रतिमासेवी स हिन्दुमुख शब्द भाक् ।।
अर्थात्— हिंसाबाट जो दुःखी हुन्छ, जो सदाचारमा तत्पर छ, वेद, गोवंश र मूर्ति पूजा गर्दछ, त्यो ‘हिन्दू’ शब्दको वाच्य हुन्छ ।
प्रसिद्ध जैन आचार्य श्री तुलसीका अनुसार वैदिक, जैन र बौद्ध आदि सत्यशोधका धाराहरू भएको र ‘हिन्दू’ शब्द ती सबैको संग्राहक भएको उल्लेखयोग्य छ ।
लोकमान्य बालगंगाधर तिलकका अनुसार वेदहरूमा प्रामाण्य बुद्धि राख्नेवाला, तत्तत् सम्प्रदायको विभिन्न नियमहरूको पालन गर्नेवाला तथा आफ्नो आस्था अनुरूप उपास्य देवताहरूमध्ये कोहीमा अनन्य भक्ति राख्नेवाला व्यक्ति ‘हिन्दू’ हो ।
त्यस्तै वीर सावरकरका अनुसार पूर्वी समुद्रदेखि पश्चिमी समुद्र पर्यन्त भारतवर्षभूमिलाई पितृभू र पुण्यभूमि मान्नेवाला व्यक्ति ‘हिन्दू’ हो । सावरकरका अनुसार ‘हिन्दू’ नाम त ‘आर्य’ नाम भन्दा पनि प्राचीन हो …. ।
भारतमा सनातनी, आर्यसमाजी, बौद्ध, जैन र सिख पाँचै पक्षका विद्वानहरूद्वारा स्वीकृत परिभाषा निम्नानुसार छ ।
ओंकारमूलमन्त्राढ्यः पुनर्जन्मदृढाशयः ।
गोभक्तो भारत–गुरुर्हिन्दु हिंसन दूषतः ।।
(अर्थात्— ‘ॐ’ मूलमन्त्र मान्ने, पुनर्जन्ममा विश्वासी, गाईलाई पूज्य मान्ने, भारतवर्ष जसको गुरुघर छ र हिंसालाई निन्द्य मान्ने, यस्तो व्यक्ति नै हिन्दू भनिन योग्य छ ।
नेपालमा … वैदिक (सनातनी), बौद्ध, जैन, सिख चारैपक्षका विद्वानहरू, प्रतिनिधिहरूद्वारा सर्वसम्मतिले पारित प्रस्तावना अनुसार ओम्कारप्रति श्रद्धा र आस्था भएका, गोवंशप्रति अबध्यभाव, पुनर्जन्ममा विश्वास तथा अहिंसा, सत्य, अस्तेय, ब्रह्मचर्य एवम् अपरिग्रह, यी धार्मिक, आध्यात्मिक एवम् नैतिक सदाचारमा आस्था भएकालाई ‘हिन्दू’ मानिएको छ ।”१८
जुन धर्म–विशेषलाई हिन्दू भन्ने गरिएको छ, त्यसैलाई बुझाउने वैदिक, सनातन तथा आर्य जस्ता शब्दहरू पनि छँदैछन् । शब्द फरक भएपनि यिनको निहीतार्थमा विभेद छैन । “सम्पूर्ण वैदिक शिक्षालाई नै सनातन धर्म भनिन्छ । … सनातन धर्मलाई हिन्दू धर्म भन्न थालियो ।”१९ कतिपय विद्वानले ‘भारतीय’ वा ‘भारतवर्षीय’ भनेर पनि सोही धर्म÷संस्कृति÷शास्त्रलाई जनाउने गरेका छन् । यस शोध प्रयोजनकालागि हिन्दू, वैदिक, सनातन तथा आर्य शब्दहरूलाई समानार्थी मानिएको छ । किनभने “…… जब ‘धर्म’ मात्रै भनेर नपुग्ने भयो, धर्मका नाममा भाग–विभाग भयो, त्यसबेला अनादिकालदेखि चल्दै आएको मूल–धर्मलाई ‘सनातनधर्म’ भनियो । वास्तवमा ‘सनातन’ शब्दले त्यस ‘धर्म’को शाश्वत् अस्तित्वलाई बुझाउन खोजिएको प्रतीत हुन्छ । वेदद्वारा प्रतिष्ठित भएकाले त्यसलाई ‘वैदिकधर्म’ भनियो र यसका दर्शनमा आर्यत्वको आग्रह देखेर ‘आर्यधर्म’ भन्दा पनि यसैलाई बुझियो । ….. ‘हिन्दु’ वा ‘हिन्दू’ शब्द यति घुलमिल भइसकेको छकि हामीलाई यो शब्द वैदिक उत्पत्तिको हैन जस्तो कत्ति पनि लाग्दैन । शब्दकै अर्थ केलाउने होभने ‘हिन्दू’ शब्दमा भन्दा ‘वैदिक’ अथवा ‘आर्य’ अथवा ‘सनातन’ शब्दमा हामीले अपनत्व पाऔंला, परन्तु हाम्रो परिचय ‘हिन्दू’का रूपमा सुविख्यात छ र यसर्थ ‘हिन्दू’ हाम्रो नाम भएको छ । आज ‘हिन्दू’ शब्दले हाम्रो धर्मको वैदिक उत्पत्ति, आर्य प्रवृत्ति र सनातन उपस्थितिको एकसाथ प्रतिनिधित्व गर्दछ ।”२०
यहाँसम्म गरिएको चर्चा पश्चात् अब यस शोध प्रयोजनको निमित्त ‘हिन्दू’ शब्दलाई कुन अर्थमा लिइएको भन्ने स्पष्ट उल्लेख गर्नु उपयुक्त हुनेछ । यस शोध प्रयोजनको निमित्त निम्नानुसारका तत्वहरूलाई हिन्दूत्वको आधार मानिएको छ—
— मूलमन्त्र ‘ॐ’
— वेद वा/तथा वैदिक परम्पराका मत वा शास्त्रमा आस्था
— निराकार वा÷तथा साकार परम्सत्तामा अखण्ड विश्वास
— मूर्त वा अमूर्तको पूजा वा ध्यान
— कर्म अनुसारको फल मिल्दछ भन्नेमा विश्वास
— ‘आत्मा’ तथा ‘पुनर्जन्म’मा विश्वास
— मानवजीवनको परम्लक्ष्यका रूपमा ‘मोक्ष’

यति भएपछि अब यस शोध प्रयोजनमा प्रयुक्त हुने हिन्दू–सम्बद्ध शब्दावलीहरूको परिभाषा संक्षेपमा यसरी दिन सकिन्छ :-
(क) हिन्दूधर्म—
‘हिन्दूत्व’का माथि उल्लेखित आधारहरूमा प्रतिष्ठित ‘धर्म’ नै ‘हिन्दूधर्म’ हो ।
(ख) हिन्दूसंस्कृति—
‘हिन्दूत्व’का माथि उल्लेखित आधारबाट निःसृत ‘संस्कृति’ नै ‘हिन्दूसंस्कृति’ हो ।
(ग) हिन्दूशास्त्र—
हिन्दूत्वसँग साइनो भएका सम्पूर्ण शास्त्रहरूको संख्या यति नै छ भनेर निश्चित गर्न असम्भवप्रायः देखिन्छ । निक्कै लामो समयको यात्रामा हिन्दूशास्त्रहरूमध्ये कति विस्मृत भए; कति पराइ आक्रमणमा परी नष्ट पारिए; कति दुर्घटनामा नासिए; कति संरक्षण गर्न नजान्नाले बिलाए; लेखाजोखा गर्न सकिएको छैन । तथापि जति उपलब्ध छन् तिनको संख्या पनि ‘असंख्य’ भन्नुपर्ने गरी धेरै रहेको बताइन्छ । (‘हिन्दूशास्त्र’ अर्थात् हिन्दूधर्मका आधार–ग्रन्थ बारेमा परिशिष्टमा थप चर्चा गरिएको छ ।) यस शोधपत्रमा ‘हिन्दूशास्त्र’ शब्दावलीलाई बृहद् र संकुचित, यी दुइटै अर्थमा प्रयोग गरिएको छ ।
बृहद् अथवा सामान्य अर्थमा ‘हिन्दूशास्त्र’ भन्नाले वेद वा/तथा वैदिक परम्पराका सम्पूर्ण ‘शास्त्र’हरू पर्दछन् । यिनलाई वैदिक–वाङ्मय, आर्य–वाङ्मय पनि भनिएको छ ।२१
संकुचित अथवा विशेष अर्थमा भने यस शोधपत्रको प्रयोजनकालागि शास्त्रहरूको विशाल भण्डारबाट नमूना छनोटमा परेका शास्त्रलाई नै हिन्दूशास्त्रका रूपमा लिइएको छ । माथि ‘प्रमेय र सीमाङ्कन’ खण्डमा भनिएझैं हिन्दूशास्त्रहरूको विशाल निधिबाट नमूना छनोट गरिएका शास्त्रले हिन्दू अवधारणाको प्रतिनिधित्व गर्दछन् भन्ने विश्वास लिइएको छ ।
(घ) हिन्दूदर्शन—
वेद वा/तथा वैदिक परम्पराका शास्त्रमा निहीत ‘दर्शन’ नै हिन्दूदर्शन हुन् । सामान्यतया हिन्दूदर्शन भन्नाले प्रमुख छओटा (सांख्य, न्याय, वैशेषिक, योग, मीमांसा तथा वेदान्त) दर्शनहरूलाई मानिन्छ । कतिपयले ती छ दर्शनलाई ‘आस्तिकदर्शन’ भनेर हिन्दूदर्शन अन्तर्गत नै ‘नास्तिकदर्शन’को सूची पनि बनाउने गरेको पाइन्छ । प्राचीनकालका दर्शनशास्त्रीय विद्वान् माधवाचार्यले आफ्नो ग्रन्थ ‘सर्वदर्शनसंग्रह’मा तत्कालीन अवस्थासम्म विकास भइसकेका १६ विभिन्न दर्शनहरूका विवेचना गरेको पाइन्छ । दार्शनिक आधारमा चरम भौतिकवादीदेखि लिएर चरम अध्यात्मवादीसम्म हिन्दू–दर्शनको छाताभित्र अटाएका छन् । “हिन्दू–संस्कृतिमा भौतिक र आध्यात्मिक दुवै पक्षलाई समान महत्ता प्रदान गरी समन्वय स्थापित गरिएको”२२ भन्ने मत पनि उल्लेख्य छ । तथापि “भारतीय जीवनमा आध्यात्मिक प्रयोजनको स्थान सदैव सर्वोपरि रहन्छ”२३ भन्ने तथ्य हामीले भुल्नु हुँदैन । यस दृष्टिले वैदिक परम्परामा अन्य अनेक दर्शनहरू पनि रहेका छन्, जसलाई कतिपय अध्येताहरूले ‘भारतीय दर्शन’का रूपमा२४ समेत उल्लेख गर्ने गर्दछन् । यस शोधप्रयोजनका निमित्त पनि हिन्दूदर्शन र भारतीय दर्शन दुबै शब्दावलीलाई समानार्थक मानिएको छ, जसमा प्रयुक्त ‘भारतीय’ शब्दको अर्थ आधुनिककालमा कुनै देशविशेषलाई जनाउने गरी नभई व्यापक प्राचीनकालको सांस्कृतिक भूखण्डलाई जनाउने गरी बुझ्नुपर्दछ । हिन्दूदर्शनको समानार्थकका रूपमा ‘वैदिक दर्शन’ शब्दावली पनि रहने गरेको छ ।
(ङ) हिन्दूजाति तथा हिन्दूसमाज :-
नृ–शास्त्रीय आधारमा ‘हिन्दूजाति’ भन्ने कुनै ‘जाति’ नभएतापनि सारा हिन्दू–धर्मावलम्बीहरूलाई समष्टिमा बुझाउने हेतुले यो शब्दावलीको प्रयोग भएको पाइन्छ । (तुलनीय :- “गुलाब, बेली, चमेली, जुही इत्यादि विभिन्न जात जाति ढाँचा आकार प्रकारका फूलको संगालोलाई जसरी एक सूत्रमा उनेर सुन्दर माला बनाउन सकिन्छ त्यस्तै विभिन्न जाति, विचार, चाडपर्व, धार्मिक भावनाको संगालो नै मूलभूत हिन्दू संस्कृतिमा देखा पर्दछ ।”२५ र “आर्य जाति अनेक भाषा, संस्कृति, परम्परा, भेषभुषा, रहनसहन र धर्मसम्प्रदायमा विभक्त देखिन्छ । तर यस विभाजनले कुनै प्रकारको वैमनस्य सृजना गरेको हुँदैन । सबै हामी एक हौं भन्ने भावना आर्यसंस्कृतिको मूलमन्त्र नै हो ।”२६) यसैगरी, हिन्दू–धर्मावलम्बीहरूको समष्टि स्वरूपलाई नै ‘हिन्दूसमाज’ भनिने गरेको पनि देखिन्छ ।
Note: This piece of writing is taken from Nirmala Mani Adhikary’s M.A. dissertation “Hindu Avadharanama Sanchar Prakriya” (Purvanchal University, Nepal, 2060 B.S.). All the references cited/quoted here can be seen in that disseration.
Reference:
Adhikary, N. M. (2003). Hindu awadharanama sanchar prakriya [Communication in Hindu concept]. A dissertation presented to Purvanchal University, Nepal in the partial fulfillment of the requirements for the Degree of Master of Arts in Mass Communication and Journalism.

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s


%d bloggers like this: