संविधानसभाको अवसानः एक पृथक् दृष्टिकोण

संविधानसभाको अवसानः एक पृथक् दृष्टिकोण
– निर्मलमणि अधिकारी
Originally published in Katuwal
संविधानसभाको अवसानलाई दुःखद्, अस्वाभाविक, अनपेक्षित भन्नु नेपालमा चलाइएका थुप्रै भ्रमपूर्ण प्रचारका शृंखला र त्यस्ता भ्रमपूर्ण प्रचारबाजीबाट दिग्भ्रमित व्यक्तिहरुका कोकोहोलोको अर्को कडी मात्र हो।

अनैतिक, अकर्मण्य एवं असफल ठहरिई स्वतः मृत्युवरणका लागि बाध्य भएको संयन्त्रको अवसानमा शोकाकुल हुनु आवश्यक छैन।वास्तवमा संविधानसभाको अवसानसँगै नेपालले ऐतिहासिक गल्तीलाई सच्याउने र राष्ट्रिय स्वाधीनतालाई सुदृढ तुल्याउने अवसर पुनः पाएको छ।
सिद्धान्ततः संविधानसभाजस्तो संस्थालाई लोकतान्त्रिक पद्धतिको स्वाभाविक अवयव मान्न सकिने भएतापनि नेपालको हकमा यो एक ऐँजेरु भएको तथ्यलाई बिर्सनु हुँदैन।नेपालमा संविधानसभाको माग नेपाली जनमानसको मौलिक सोच नै थिएन, प्रत्युत यो त विक्रम संवत्को एक्काइसौं शताब्दीको पहिलो दशकमा (वि.सं. २००७ का आसपासमा) विदेशी (नेहरु शासित भारत) ले थपिदिएको ‘पासो’ थियो।सात सालको युगान्तकारी परिवर्तनको नेतृत्वकर्ता नेपाली कांग्रेसले अचेल माओवादीको प्रचण्ड-प्रचारतन्त्रले व्याकुल भएर “संविधानसभा त सात सालमै हाम्रो एजेण्डा थियो” भन्ने गरेको भएतापनि त्यतिबेलाको ऐतिहासिक तथ्यलाई दृष्टिगत गर्दा संविधानसभा कांग्रेसको मौलिक माग नभई भारतीय संस्थापन पक्षको अभीष्ट सिद्धि गर्ने जाल भएको उजागर हुन्छ।यस यथार्थलाई टङ्कप्रसाद आचार्य र वीपी कोइरालाजस्ता नेताहरुले चाँडो वा ढिलो बुझेको देखिन्छ।सुरुका केही वर्षहरुमा संविधानसभाको माग राखी कांग्रेसले आन्दोलन नगरेको होइन, तर जब यस मुद्दाका पछाडि विद्यमान विदेशी चक्रव्यूहलाई कांग्रेसले बुझ्यो तब नेपालको राजनीतिक परिदृश्य बदलियो।यसरी विदेशीको ‘मास्टरप्लान’ अन्तर्गत बीजारोपण गरिएको संविधानसभारुपी पासोलाई तत्कालीन नेतृत्वको समझदारीका कारण केही वर्षभित्रै इतिहासको रछ्यानमा मिल्काइएको थियो।
कालान्तरमा संसदवादी, राजावादी र माओवादीको सत्ता-द्वन्द्वबाट आजित नेपाली जनमानसमा व्याप्त निराशा, आक्रोश र भयको बुई चढेर संविधानसभाको मुद्दा बौरियो।माओवादीले भन्ने गरेको जनयुद्ध नेपालमा उब्जेको स्वाभाविक परिघटना मात्र थिएन भन्न अब हिच्किचाउनु पर्दैन।एक नेपाली लोककथामा वर्णन गरिएझैं आफूले बाँसलाई नुगाइदिएको भ्रममा रमाइरहेको फिस्टो चरोजस्तै मूर्ख बन्ने भए बेग्लै कुरा, नत्र संविधानसभा माओवादीको बलले मात्र स्थापित भएको थिएन भन्ने तथ्यलाई नस्वीकारी धरै छैन।संविधानसभा प्रकटरुपमा कथित जनयुद्धको सञ्चालक माओवादीको प्रमुख ‘एजेण्डा’ भएतापनि प्रच्छन्नरुपमा संविधानसभा सारतः भारतीय (सोनिया गान्धी नेतृत्वको) संस्थापनपक्ष र वैश्विक इसाई मिसनरीको सहकार्यबाट संरचित चक्रव्यूह (ग्राण्ड डिजाइन वा गेमप्लान) को एक अवयव थियो।
माओवादीले भन्ने गरेको जनयुद्धको विस्तारसागै संविधानसभाको माग पनि विस्तारित हुँदै गएको हो। नेपाललाई कथित नयाँ नेपालमा पदार्पण गराई माओवादीको प्रभुत्व स्थापित गराएर ‘विदेशी’/’विधर्मी’ शक्तिहरुले के हासिल गरे भन्ने बुझ्नु जरुरी छ।’विदेशी’ शक्तिले वि.सं. २००७ सालतिर बिछ्याइएको, तर अभीष्ट प्राप्ति नभएको पासोलाई पुनः नवीकरण गर्न पायो।हालैका वर्षहरुमा भारतीय संस्थापन पक्षले नेपालका राजनीतिक दल र तिनका नेताहरुलाई मदारीले बाादर नचाएझैं नचाएको हामीले देखेकै छौं।यसको उद्देश्य भूटानीकरण वा सिक्कीमीकरण वा अरु के हो भन्नेमा मतवैभिन्न्य छ।यसपल्ट उसको स्वार्थसाग ‘विधर्मी’हरुको स्वार्थ पनि जोडिन आइपुग्यो।नेपाललाई धर्मनिरपेक्ष (सेकुलर) बनाई वैश्विक इसाई तथा इस्लामी मिसनरीको खेल मैदान बनाउने दिशामा ‘विधर्मी’हरुलाई धेरै हदसम्म सफलता मिल्यो।तथापि, संविधानसभाले ‘विदेशी’/’विधर्मी’हरुले चाहेजति फल दिन नसकेकोचाहिँ अवश्यै हो।
दुई वर्षका लागि निर्वाचित संविधानसभालाई अनैतिक रुपमा चार वर्षसम्म कायम राखिएको र सके संविधानसभाकै हैसियतमा र नसके कथित रुपान्तरित संसद्का हैसियतमा लामो समयसम्म कायम राख्ने प्रयत्न गरिएको भएतापनि यो संरचना बालुवाको घरझैं अवसान भएको छ र साथमा ‘विदेशी’/’विधर्मी’हरुको चक्रव्यूह पनि तत्काललाई भताभुङ्ग भएको छ।यसरी कांग्रेस, एमाले, माओवादी र मधेशी मोर्चाले थाहै नपाएर नेपालको हितमा योगदान दिएका छन्।संविधानसभाको अवसानले सोनिया गान्धीको नेतृत्वमा रहेको भारतीय संस्थापन पक्ष र वैश्विक इसाई तथा इस्लामी मिसनरीहरुलाई दह्रो झापड दिएको छ।बाबुराम भट्टराई र उनको दल एनेकपा (माओवादी) लगायतले पुनः संविधानसभाको चुनाव नै एक मात्र विकल्प देख्नु स्वाभाविक हो, किनभने संविधानसभा मार्फत् नै ‘विदेशी’/’विधर्मी’हरुको चक्रव्यूहलाई नेपालमा कार्यान्वयन गर्न सकिन्छ।’विदेशी’/’विधर्मी’हरुका प्यादाहरुका लागि संविधानसभाको अवसान ठूलो विपत्ति हो।नेपाली जनसाधारणलेचाहिँ संविधानसभाको अवसानलाई दुःखान्तका रुपमा लिनु आवश्यक छैन।
तत्कालीन राजा महेन्द्र र टङ्कप्रसाद आचार्य र वीपी कोइरालाजस्ता नेताहरु अहिले छैनन्, तथापि उनीहरुका समयमा जस्तै संविधानसभाको जालबाट उम्कने परिस्थिति नेपालीका सामुमा पुनः खडा भएको छ।पराईहरुले उनीहरुका स्वार्थलाई वैधानिकताको लेप लगाएर संस्थानीकरण गर्न थपिदिएको संविधानसभारुपी ‘पासो’ बाट उम्किनु इतिहासको यो घडीमा अर्को अवसरको द्योतक हो।’विदेशी’/’विधर्मी’हरुको चक्रव्यूहमा नजेलिई, राष्ट्रिय स्वाधीनतालाई सुदृढ पार्दै अगाडि बढ्नका लागि जुन अवसर हामीलाई प्राप्त भएको छ, त्यसलाई सदुपयोग गर्नु पर्छ।नेपाललाई पुनः संविधानसभाको चुनावरुपी खाल्डोमा खागार्नु हुँदैन।संविधानसभाको अवसानपछि जनसामान्यले कुनै विशेष दुःखमनाउ नगरेर बुद्धिमानी नै देखाएका छन्।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s


%d bloggers like this: