एक अन्तर्वार्ता : सूचना प्रविधिको विकास, सञ्चारको साधारणीकरण ढाँचा

सूचना प्रविधिको विकासमा अनलाइन पत्रकारितालाई अधिकतम् सदुपयोग गर्न सक्नु पर्छ -निर्मलमणि अधिकारी,
भाषा तथा आमसञ्चार विभाग, काठमाडौँ विश्वविद्याय
Originally published in: http://www.ausnepalnews.com/index.php?action=interview&id=52

निर्मलमणि अधिकारी भाषा तथा आमसञ्चार विभाग, काठमाडौँ विश्वविद्यालयमा प्राध्यापन गर्नुहुन्छ । अधिकारीका दुई दर्जन भन्दा बढी पुस्तक�कृतिहरूकासाथै दर्जनौँ अनुसन्धान एवं सयौँ विश्लेषणात्मक लेखहरू प्रकाशित भइसकेका छन् । विगतमा उहाँ अनलाइन न्यूजपोर्टल र विभिन्न पत्रपत्रिकाका सम्पादक, विभिन्न अनुसन्धान परियोजनाका निर्देशक एवम् मदन भण्डारी मेमोरियल कलेज, काठमाडौंमा पत्रकारिता विभागका प्रमुख रहिसक्नु भएको छ । अधिकारीद्वारा प्रतिपादित सञ्चारको साधारणीकरण ढाँचा (Sadharanikaran Model of Communication) लाई सञ्चारविज्ञानको गहन उपलब्धिका रूपमा स्वीकार गर्दै देश�विदेशका विभिन्न विश्वविद्यालयहरूमा अध्ययन�अध्यापन गरिन्छ । प्रस्तुत छ उहाँसँग गरिएको एक अन्तर्वार्ता :

आमसञ्चार र पत्रकारिता विधामा तपाईँका पुस्तकहरु अत्यन्त रुचाइएको देखिन्छ । तिनका साथै अन्य विषयमा पनि तपाईँको कलम चलेको देखिन्छ । यसबारे केही बताइदिनु हुन्छ कि ?
लेखनको क्षेत्रमा मेरो प्रवेश साहित्यबाट भएको हो । समयक्रममा पत्रकारितामा संलग्न रही समाचार रिपोर्टिङ् तथा सम्पादन गर्ने उत्तरदायित्व वहन गरियो । स्तम्भकारका हैसियतमाचाहिँ मेरो लेखनको प्रमुख क्षेत्र सामाजिक, सांस्कृतिक, धार्मिक एवं दार्शनिक चिन्तन�मनन रह्यो । त्यसैले मेरा कतिपय पुस्तकहरु साहित्य, संस्कृति, दर्शन आदि विधामा रहेका छन् । संख्यात्मक हिसाबले सबैभन्दा बढीचाहिँ आमसञ्चार र पत्रकारितासम्बन्धी पुस्तक प्रकाशित भएका छन् । पछिल्ला वर्षहरुमा मैले पुस्तक लेख्ने कामलाई स्थगित गरी अनुसन्धान गर्ने र अनुसन्धानात्मक लेख लेख्ने काममा बढी जोड दिएको छु ।

तपाईँका थुप्रै पुस्तकमध्ये सबैभन्दा सफल पुस्तक कुनलाई मान्नु हुन्छ ?
बजारको मापदण्डअनुसार भन्ने हो भने आमसञ्चार र पत्रकारिता नै सबैभन्दा सफल पुस्तक हो । यो पुस्तकको पहिलो संस्करण वि.सं. २०६० मा प्रकाशित भएको थियो र वि.सं. २०६६ मा पाँचौँ संस्करण प्रकाशित भएको छ । छैटौँ संस्करणका लागि अनुरोध आइसकेको भए तापनि अन्य कार्यव्यस्तताका कारणले यतातिर लाग्न पाएको छैनँ । पुनर्मुद्रणलाईसमेत हिसाब गर्दा यो धेरै नै बिक्री भएको पुस्तक हो । चर्चाका हिसाबले भन्ने हो भने आस्थाको शान्ति�युद्ध (वि.सं. २०५७) ले राष्ट्रियसाथै अन्तर्राष्ट्रिय चर्चा पायो ।

तपाईँ यस क्षेत्रमा कहिलेदेखि लाग्नुभएको हो ?
तपाईँले �यस क्षेत्र� भनेर केलाई जनाउन खोज्नु भएको हो, त्यसअनुसार मैले फरक�फरक समयलाई सम्झनु पर्ने हुन्छ । लेखन�प्रकाशनको क्षेत्र हो भने मेरा रचना वा लेखोटहरु वि.सं. २०४६ सालबाटै प्रकाशित हुन थालेका थिए । पत्रकारिता क्षेत्रमा मेरो प्रत्यक्ष प्रवेश वि.सं. २०५२ सालमा भएको हो । पोखराबाट प्रकाशन हुने एक दैनिक अखबारको सम्वाददाताका हैसियतमा मैले पत्रकारिता आरम्भ गरेको थिएँ । मेरो पहिलो पुस्तक वि.सं. २०५३ सालमा प्रकाशित भएको थियो । आमसञ्चार र पत्रकारिताको औपचारिक अध्ययन मैले वि.सं. २०५८ देखि गरेको हूँ । यस विषयमा नेपालमै स्नातकोत्तर तहको पढाइ सुरु हुँदा पहिलो समूहमै भर्ना भई पढियो र मैले वि.सं. २०५९�२०६० देखि आमसञ्चार र पत्रकारिताको प्रशिक्षण�शिक्षण�प्राध्यापन सुरु गरेको हूँ ।

तपाईँ आमसञ्चार र पत्रकारिता विधाको प्राध्यापन, अनुसन्धान तथा लेखन आदि क्षेत्रमा हुनुहुन्छ । यसरी फरक�फरक भूमिकालाई उत्तिकै सफलतापूर्वक निर्वाह गर्न सक्षम हुनुको रहस्य के हो ?
प्राध्यापन, अध्ययन तथा अनुसन्धान गर्नु र लेख्नु एक�आपसमा अन्तर्सम्बन्धित काम हुन् । अध्ययन, अनुसन्धान र लेखनमा प्रवृत्त हुने व्यक्ति मात्र विश्वविद्यालय तथा कलेजजस्ता उच्च तहमा प्राध्यापन गर्न योग्य हुन्छ । प्राध्यापनलाई पेसाका रुपमा अवलम्बन गरेका व्यक्तिले पनि अध्ययन, अनुसन्धान र लेखनलाई पटक्कै प्राथमिकता नदिनु त विकृति हो । यस पृष्ठभूमिलाई ख्याल राख्दा मैले आफ्नो पेसागत धर्म निर्वाह गर्ने प्रयत्न गरेको हो भन्नु नै तपाईँको जिज्ञासाको उपयुक्त जवाफ हो । थप कुरा के पनि हो भने पत्रकारितामा सम्पादकजस्तो माथिल्लो जिम्मेवारी, बहुराष्ट्रिय अनुसन्धान एजेन्सीको जागिर एवं राष्ट्रसंघीय एजेन्सीका आकर्षक अवसरलाईसमेत छोडेर प्राज्ञिक अध्ययन, अनुसन्धान, प्राध्यापन एवं प्रकाशनमा मैले आफ्नो उर्जा लगाइरहेको हुनाले तपाईँले भनेजस्तो अवस्था बनेको हो । यसमा कुनै त्यस्तो ठूलो रहस्य छैन, आफ्नो कर्ममा गतिशील बनेको हूँ । मेरो दृष्टिबिन्दुबाट हेर्दा यी सबै मेरा कर्म हुन्, त्यसैले उस्तै हुन् ।

अनलाइन पत्रकारिताको क्षेत्रमा तपाईँको संलग्नताको सुरुवात कहिले र कहाँबाट भएको थियो ?
वि.सं. २०५२ मा पत्रकारितामा प्रवेश गरेपछि म वि.सं. २०६१ को पूर्वाद्र्धसम्म मुख्यतया छापा माध्यममा संलग्न रहेँ । त्यसपछि नै हो अनलाइन पत्रकारितामा मेरो संलग्नता भएको । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा सञ्चालित द्विभाषी न्यूजपोर्टल इन्सेकअनलाइनको सम्पादकका हैसियतमा म करिब दुई वर्ष कार्यरत रहेँ । अनलाइन पत्रकारिता सुरु गरेलगत्तै ब्लगिङ्गमा पनि म सक्रिय रहेँ ।

काठमाडौं विश्वविद्यालयमा तपाईँ सञ्चार सिद्धान्त, मिडिया अनुसन्धान, पत्रकारिता, मिडिया नीतिशास्त्र आदिका साथै अनलाइन मिडिया पनि पढाउनु हुन्छ । अनेकौँ विषयहरुमध्येबाट अनलाइन मिडियालाई रोज्नुको कारण के होला ?
पढाउन सकिने विषयहरुको ठूलो सूचीबाट पाँच�छवटा विषयहरु छनोट गर्नु त्यति सजिलो हुँदैन । विगतमा अनलाइन मिडियामा काम गरिसकेको एवम् यसबारे औपचारिक अध्ययन गरेको जस्ता कारणले नै यो विषय पढाइएको होला । साथै, तपाईँले उल्लेख गरेका सञ्चार सिद्धान्त, मिडिया अनुसन्धान, पत्रकारिता, मिडिया नीतिशास्त्र जस्तै यो विषयप्रति पनि मेरो गहन रुचि रहनु पनि एक प्रमुख कारण हो नै ।

अनलाइन पत्रकारिताको उपयोगिताबारे यहाँको धारणा के छ ?
पत्रकारिताको एक विशेषता के छ भने कुनै पनि वैज्ञानिक एवं प्राविधिक विकासलाई यसले शीघ्र अङ्गीकार गर्दछ र बदलिँदो परिस्थितिअनुरुप आफूलाई अनुकूल तुल्याइहाल्छ । त्यसैले त छपाइ प्रविधिको विकाससँगै अगाडि बढेको पत्रकारिताले रेडियो, टेलिभिजन, इन्टरनेट जस्ता प्रविधिहरु आउनासाथ तिनलाई अङ्गीकार गर्न र नयाँ�नयाँ स्वरुपमा विकसित हुन सफल भयो । छापा, रेडियो, टेलिभिजन वा अनलाइन जुनसुकै माध्यमबाट गरिए पनि पत्रकारिताको आधारभूत कुरा उही हो । उपलब्ध माध्यम वा प्रविधिलाई समाचार सम्प्रेषणको लागि सदुपयोग गर्नु नै गाँठी कुरा हो । यस पृष्ठभूमिमा अनलाइन जस्तो प्रविधिलाई पत्रकारिताले अङ्गीकार गर्नु स्वाभाविकै हो । अनलाइन पत्रकारिताको उपयोगिता छ भन्ने पुष्टि गर्न कुनै तर्क गर्नु पर्ने वा प्रमाण अगाडि सारिरहनु पर्ने अवस्था छैन । यो त प्रष्टै छ । सञ्चार तथा सूचना प्रविधिको विकासका नयाँ आयामहरु कसरी विकास हुँदै जान्छन् र कसरी अनलाइन पत्रकारितालाई अधिकतम् सदुपयोग गर्न सकिन्छ भन्ने सवालचाहिँ हाम्रो सरोकार हुनु पर्छ ।

नेपालमा अझै पनि अधिकांश ठाउँमा इन्टरनेट सुविधा पु�याउन सकिएको छैन । यस्तो अवस्थामा अनलाइन पत्रकारिताको सम्भावना कतिको छ ?
सञ्चार तथा सूचना प्रविधिको विकासबाट लाभान्वित हुन सबैले समान रुपले पाइरहेका छैनन् । पहुँच, प्रयोग र उपयोगिताका हिसाबले असमानता विद्यमान छ । सूचना�सम्पन्न र सूचना�विपन्नबीचको खाडल टड्कारै देखिन्छ । नेपालको सन्दर्भमा पनि सञ्चार तथा सूचना प्रविधिको विकासको लहरबाट अझै पनि बहुसङ्ख्यक जनता परै छन् । यस पृष्ठभूमिमा अनलाइन पत्रकारिताको सामुन्नेमा थुप्रै प्रश्नहरु छन् । तर सञ्चार तथा सूचना प्रविधिको विकास अत्यन्त तीव्र गतिमा हुँदै गरेको तथ्यलाई पनि हामीले भुल्न मिल्दैन । सम्भावनाको मात्र कुरा गर्ने हो भने त यो अथाह सम्भावना बोकेको क्षेत्र हो । पत्रपत्रिका, रेडियो तथा टेलिभिजन माध्यमबाट गरिने पत्रकारिताका लागि लाग्ने खर्चको मात्रा दृष्टिगत गर्दा त नेपालजस्तो देशका लागि अनलाइन पत्रकारिताको उपादेयता झन् बढी छ भन्नु पर्ने हुन्छ ।

नेपालको वर्तमान समयमा अनलाइन पत्रकारिताले कस्तो भूमिका खेलेको छ ?
नेपालकै सन्दर्भमा केन्द्रित भएर कुरा गर्ने हो भने यो भर्खरैजसो उदाउँदै गरेको क्षेत्र हो । अवश्य नै अहिले पनि छापा पत्रकारिता तथा रेडियो�टेलिभिजन पत्रकारिताका तुलनामा अनलाइन पत्रकारिताको जन�पहुँच तथा व्यावसायिक भूमिका कमै छ । अहिलेसम्मको अवस्थामा यो अग्रणी बनिसकेको स्थिति होइन । यद्यपि यसले आफ्नो उपस्थिति गहकिलो भएको प्रमाणित गरिसकेको छ । नेपालभन्दा बाहिरको परिस्थितिसमेत विचार गर्ने हो भने संसारभरि छरिएर रहेका नेपाली समुदायले अनलाइन पत्रकारितालाई सहज रुपमा अङ्गीकार गरिरहेको छ र यस पक्षमा छापा तथा रेडियो�टेलिभिजनभन्दा अनलाइन नै अग्रणी छ ।

यसले समाज र जनताका लागि कति फाइदा पु�याइरहेको छ ?
यस्तै प्रश्न अन्य आमसञ्चारमाध्यमका परिप्रेक्ष्यमा पनि गर्न सकिन्छ । प्रविधि वा माध्यम आफैँले कसैलाई फाइदा वा बेफाइदा पु�याउने होइन । प्रत्युत तिनलाई हामीले कसरी प्रयोग गर्छौँ भन्ने कुरा प्रमुख हो । अनलाइन पत्रकारितालाई कसरी समाज र जनताका हितमा अधिकतम् सदुपयोग गर्न सकिन्छ भन्नेबारे चिन्तन�मनन र योजना निर्माण तथा कार्यान्वन हाम्रो प्राथमिकतामा पर्नु पर्छ ।

प्रसङ्ग बदलौँ; तपाईँले प्रतिपादन गर्नुभएको सञ्चारको साधारणीकरण ढाँचा (Sadharanikaran Model of Communication) लाई कसरी परिभाषित गर्नु हुन्छ ?
सञ्चारप्रक्रियालाई हिन्दू विश्वदृष्टिकोणबाट गरिएको सैद्धान्तिकरणको चित्रमय प्रस्तुति नै साधारणीकरण ढाँचा हो । यसले हिन्दू समाजमा सञ्चारप्रक्रिया कसरी व्यवहारित हुन्छ भन्ने कुरालाई प्रस्तुत गर्दछ । यसले हिन्दू समाजमा सहृदयताका लागि सञ्चार भन्ने मान्यता रहेको प्रष्ट्याउँछ ।

यो ढाँचा प्रतिपादन गरिनुको पृष्ठभूमिबारे प्रष्ट्याइदिनु हुन्छ कि !
पश्चिमा सन्दर्भमा सञ्चारको सैद्धान्तिक अध्ययन गरी सिद्धान्त र ढाँचाहरु निर्माण गर्ने लहर नै चलेकाले धेरैवटा सञ्चारढाँचाहरु बनाएका छन् । हाम्रोमा भने पहिलोपल्ट वि.सं. २०६० (सन् २००३) मा यो ढाँचा प्रस्तुत गरिएको हो । आमसञ्चार र पत्रकारिता विषयमा एम.ए. को शोधपत्रमार्फत् मैले साधारणीकरण ढाँचा (SMC) प्रस्तुत गरेको थिएँ । प्राचीन साधारणीकरण सिद्धान्तलाई सञ्चार अध्ययनका सन्दर्भमा अर्थापन गर्दै एवं भरतमुनिको नाट्यशास्त्र र भर्तृहरिको वाक्यपदीय का आधारमा यसको निर्माण गरिएको हो । गैरपश्चिमा संस्कृतिलाई प्रतिनिधित्व गर्ने पहिलो सञ्चारढाँचा हुने गौरव यसले पाएको छ ।

आमसञ्चार र पत्रकारिताको अध्ययनका क्षेत्रमा नेपालको अवस्थालाई विश्वको अवस्थासँग कसरी तुलना गर्नुहुन्छ ?
सञ्चार तथा पत्रकारिताको अध्ययन विश्वका विभिन्न देशमा विभिन्न किसिमसँग भइरहेको छ । संस्कृति, मानव संसाधन तथा भौतिक संरचनात्मक विकास, यी अनेक पक्षमा रहेको विविधताका कारणले गर्दा फरक फरक ठाउँमा फरक फरक अवस्था हुनु स्वाभाविक पनि हो । केही समययता हामीले यस विधामा निक्कै प्रगति गरेका छौँ भन्न हिच्किचाउनु पर्दैन, तर सैद्धान्तिक र व्यावहारिक दुवै पाटामा हामीले गर्न बाँकी काम अझै धेरै छन् ।

नेपालमा सञ्चार तथा पत्रकारिताको अध्ययनलाई विकास गर्नका लागि के गर्नु पर्ला ?
सैद्धान्तिक अध्ययनकै सन्दर्भमा केन्द्रित भएर भन्नुपर्दा, बितेका धेरै वर्ष नेपालमा पश्चिमा सिद्धान्तहरुको अन्धानुकरण मात्र गर्नेखालको प्रवृत्ति देखिएको थियो । हालका वर्षहरुमा त्यस्तो प्रवृत्तिमाथि प्रश्न उठाउन थालिएको छ । तर प्रश्न मात्र उठाएर पुग्दैन, वैकल्पिक ज्ञान प्रणाली पनि विकास गर्न सक्नु पर्छ । नेपालमा वैश्विक र स्थानिक दुवै ज्ञानलाई समेट्ने गरी �ग्लोकल� (Glocal) अध्ययन पद्धतिलाई प्रबद्र्धन गर्नु पर्छ भन्ने मेरो मान्यता हो ।

By रामनाथ खनाल ,असनेपालन्युज

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s


%d bloggers like this: