संचार विधाका पुस्तक : संख्या र गुणस्तर दुवै वांछित

– निर्मलमणि अधिकारी
Originally published in: Annapurna Shiksha (The Tuesday Supplement of Annapurna Post Daily, B.S. 2067 Paush 27, p. 2)
आमसंचार तथा पत्रकारिताबारे नेपाली लेखक/सम्पादकद्वारा उत्पादित पुस्तक सबै महान् गुण सम्पन्न छन् वा सबै पत्रु छन् भन्नु अतिसामान्यीकृत गैरजिम्मेवार कुरा हुन् । यी पुस्तकहरु पनि अन्यत्रका र अन्य विधाका पुस्तकहरुझैँ नै उच्च, मध्यम र सामान्य स्तरका छन् । अनेक ‘नीर-क्षीर-विवेकी’ समीक्षकहरुले अन्तर्वस्तु एवं पाठविश्लेषण गरिसकेपछि मात्र टिप्पणीका आधारहरु खडा हुनेछन् । ती टिप्पणी पनि संख्या र गुणस्तर दुवैको सहअस्तित्वका पक्षमा हुनु वांछनीय छ ।

आमसंचार तथा पत्रकारिताका करिब एक दर्जन पाठ्यक्रम लागू भएर माध्यमिक (कक्षा ९ र १०) देखि स्नातकोत्तर तहसम्म उक्त विधाको पठनपाठन भइरहेको यस विधामा विद्यार्थी र स्वतन्त्र अध्येताको पनि संख्या अभूतपूर्व बढेको एवं मिडिया उद्योग र मिडिया-सहयोगी प्रणालीलेसमेत उल्लेख्य वृद्धि गरिसकेको वर्तमान परिवेशमा संचार सिद्धान्त, आमसंचार, पत्रकारिता, मिडिया अनुसन्धान, मिडिया नीतिशास्त्र आदि क्षेत्रमा ठूलो मात्रामा पाठ्यसामग्रीको आवश्यकता, माग, आपूर्ति हुनु नै स्वाभाविक मानिनु पर्ने हो । तर नवोदित प्राज्ञिक क्षेत्रलाई पूरै नकारात्मक राख्ने परनिन्दक दृष्टिकोणको प्रबद्र्धन हुने विडम्बनापूर्ण अवस्था सतहमा देखिएका छन् ।
वि.सं. २०६० मा मेरो सम्पादनमा आमसंचार र पत्रकारिता (सुनकोशी प्रकाशन) बजारमा आएकै वरपरदेखि श्रीराम खनाल, लक्ष्मणदत्त पन्त, शुभशङ्कर कँडेल आदिद्वारा लिखित/सम्पादित पुस्तकहरु पनि प्रकाशित भए । त्यसयताका वर्षहरुमा अन्य पनि थुप्रैजनाद्वारा लिखित/सम्पादित पुस्तकहरु बजारमा आएका छन् । मेरो पुस्तक आमसंचार र पत्रकारिता : संचार, मिडिया र पत्रकारिताको समष्टि अध्ययन (पाँचौँ संस्करण) तथा अन्य मित्रहरुका पुस्तकले समकालीन आवश्यकता र मागलाई सफलतापूर्वक सम्बोधन गरेकाले नै यिनलाई पाठकहरुले रुचाएका हुन् ।
यस्ता पुस्तकले एकातिर अध्ययन-अध्यापनमा लागिरहेकाहरुमध्ये अधिकतरलाई खुशी तुल्याएको पाइन्छ भने अर्कातिर कुनै निश्चित संस्थासँगका आबद्धतालाई भजाएर आमसंचार तथा पत्रकारिताका स्वघोषित मठाधीश भइखाएकाहरु यीबाट आतङ्कित भएको पनि देखिएको छ । त्यही आतङ्कको प्रकटीकरण भयो परनिन्दक पहिलो प्रवृत्तिका रुपमा । यस प्रवृत्तिबाट ग्रसितहरुको स्यालहुइयाँको सार यत्ति हो : “नेपालका आमसंचार तथा पत्रकारिताका सबै पुस्तक गुणस्तरहीन छन् ।” आफूले वर्षौँदेखि केही गर्न नसकेकोमा ग्लानि, नवोदित प्राज्ञिक व्यक्तित्वले सहसा कमाएको यश (र थोरै भए पनि आर्थिक लाभ प्रतिको इष्र्या) र, सबैभन्दा बढी, आफ्नो मठाधीशी भत्किन लागेको कारणले उत्पन्न असुरक्षाले ग्रसित भएकाहरुले यसो भनिरहँदा तिनलाई टिठ मान्ने बाहेक अरु के प्रतिकि्रया व्यक्त गर्न सकिएला र !
परनिन्दक अर्को प्रवृत्ति भने हालसालैबाट सतहमा आएको हो । पत्रकारिता वा मिडियाका विविध सामग्रीको उत्पादनका क्षेत्रलाई मूल पेसा बनाई अतिरिक्त आम्दानीका लागि मात्र आमसंचार तथा पत्रकारिताको अध्यापन गर्ने र सोही उद्देश्यले मात्र एक-दुई पुस्तक पनि निकाल्ने जमात यस्तो प्रवृत्तिमा फसेको देखिन्छ । यस प्रवृत्तिबाट ग्रसितहरुको स्यालहुइयाँको सारचाहिँ यस्तो देखिन्छ : “फलाना/फलानाले लेखेका पुस्तकको संख्या नै त्यति धेरै छ भने त्यसमा गुणस्तर कसरी होला ? हुनै सक्दैन । संख्या – मुर्दावाद; गुणस्तर – जिन्दावाद ।” अखबारी प्रबद्र्धनका क्रममासमेत यी तर्कले ठाउँ पाउन थाल्नुले यो प्रवृत्ति कति बलियो भइसकेको रहेछ भन्ने सङ्केत मिल्छ ।
पहिलो त, संख्या र गुणस्तर सँगसँगै जानै सक्दैन भन्ने कुरा अतिसामान्यीकृत कुतर्क मात्र हो । दोस्रो, आफ्नो पुस्तक गुणस्तरीय छ भन्ने निजहरुका दाबीलाई पुष्टि गर्ने आधार केही देखिँदैन । विधागत जर्नल, पाठ्यपुस्तक, अनुसन्धान पुस्तक, सन्दर्भ पुस्तक, सहयोगी पुस्तक, तालिम पुस्तक आदिको संख्यात्मक वृद्धि र तिनका गुणात्मक समृद्धि वा दारिद्र्यलाई वस्तुनिष्ठ भएर ‘नीर-क्षीर-विवेकी’ समालोचना गर्ने समीक्षकहरुको खडेरी लागेकाले मात्र निजहरुले यसरी खोक्ने अवसर पाएका हुन् । बजारकै परिमाणात्मक परिणाम हेर्ने हो भने आमसंचारसम्बन्धी निजहरुकाभन्दा अगाडि निक्लेका कतिपय पुस्तकहरु पहिलो दुई महिनामै व्यापक बिक्री भएर पुनर्मुद्रण भएका तथा हरेक वर्षजस्तो नयाँ-नयाँ संस्करण निक्लेका तथ्यलाई बिस्रन मिल्छ र ?
दुवैथरी परनिन्दकहरुले नबुझेको वा बुझ पचाएको कुरा के हो भने यदि कोही पत्रकारितामा सम्पादकजस्तो माथिल्लो जिम्मेवारी, बहुराष्ट्रिय अनुसन्धान एजेन्सीको जागिर एवं राष्ट्रसंघीय एजेन्सीका आकर्षक अवसरलाईसमेत छोडेर प्राज्ञिक अध्ययन अनुसन्धान प्राध्यापन एवं प्रकाशनमा आफ्नो सम्पूर्ण उर्जा लगाइरहेको छ भने उसका प्रकाशनका संख्या निरन्तर वृद्धि नभएर कसको हुन्छ त ? अनि पुस्तक प्रकाशनका साथै सम्मानित, सुस्थापित संस्थाहरुको फेलोसिप एवं फण्डिङ्गमा अनेक अनुसन्धान परियोजनाहरु सम्पन्न गरिसकेको र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरुमा समेत मौलिक अनुसन्धान प्रकाशित गराइरहेको पक्षलाई ख्याल राखी ती क्षेत्रमा पनि प्रतिस्पर्धा गर्न प्रवेश गरे कति राम्रो हुन्थ्यो होला !
माथि उल्लेख गरिएअनुसारका परनिन्दकहरुका कुरा पढ्दा-सुन्दा निजहरुलाई पाठ्यपुस्तक टेक्स्ट्बुक तथा अन्य प्रकारका पुस्तकहरु (जस्तै : सन्दर्भ पुस्तक, सहयोगी पुस्तक, तालिम पुस्तक, स्वतन्त्र अनुसन्धानमूलक पुस्तक आदि) को पृथक् पृथक् अर्थ तथा तीबीचको अन्तरसमेत मेसो नभएको देखिन्छ । पाठ्यक्रम विकास केन्द्र वा विश्वविद्यालयका विषय-समितिद्वारा निर्धारित पाठ्यक्रमानुसार हुबहु तयार पारिएका एवं कक्षामासमेत यथावत् अध्ययन-अध्यापन हुने पुस्तकहरु मात्र पाठ्यपुस्तक टेक्स्ट्बुक भनिन्छन् । पत्रकारिता तथा आमसाचार शिक्षाकै सन्दर्भमा भन्नुपर्दा यतिखेरसम्म नेपालमा कक्षा ९ र १० का लागि मात्र पाठ्यपुस्तकहरु निर्धारित छन् । लालध्वज देउसा राईद्वारा लिखित एवं पाठ्यक्रम विकास केन्द्रद्वारा प्रकाशित पत्रकारिता (भाग १ र २) बाहेक अन्य कुनै पुस्तक अहिलेसम्म औपचारिक पाठ्यपुस्तक होइनन् । पाठ्यक्रमानुसार हुबहु तयार नपारिएका तर माथि उल्लेखित संस्थाले आफ्नो पाठ्यक्रममा सन्दर्भ पुस्तक भनेर स्वीकारेकाले मात्र आफ्नो पुस्तकको त्यस्तो हैसियत मान्न मिल्छ । पी. खरेल, लाल देउसा राई, रामकृष्ण रेग्मी, मार्टिन चौतारी, म स्वयं तथा अन्य कतिपयका पुस्तकहरुलाई नेपालका यो वा त्यो विश्वविद्यालयले यसरी समावेश गरेका छन् । पाठ्यक्रमलाई ख्याल राखेर एवं निश्चित तहका विद्यार्थीहरुलाई लक्ष्यित पाठक तोकेर प्रकाशित पुस्तकहरु भने सहयोगी पुस्तक मात्र हुन् । नेपालमा प्रकाशित आमसाचार पत्रकारिता अनुसन्धान आदिसम्बन्धी प्रायः पुस्तक यही श्रेणीमा पर्छन् ।
नेपालमा संचार अन्तर्गतका अनेक क्षेत्रमा विधागत जर्नल पाठ्यपुस्तक अनुसन्धान पुस्तक सन्दर्भ पुस्तक सहयोगी पुस्तक तालिम पुस्तक आदिको संख्यात्मक वृद्धि जति मात्रामा हुनु पर्ने हो त्यही नै भइनसकेको पृष्ठभूमिमा नवोदित प्राज्ञिक क्षेत्रलाई पूरै नकारात्मक राख्ने परनिन्दक दृष्टिकोणको प्रबद्र्धन हुने अवस्था वांछनीय होइन । पुस्तकको मूल्याङ्कन गर्दा अन्तर्वस्तु (कन्टेन्ट्) र परिवेश (कन्टेक्स्ट्) दुवै ख्याल राख्नै पर्छ । यी त प्राथमिक नै भए : पुस्तकमा लेखक/सम्पादकको मौलिक सोच विश्लेषण निष्कर्ष प्रस्तुत छ ? पुस्तक प्रकाशनका प्राविधिक मापदण्ड पुगेको छ ? लेखकीय चोरीबाट पुस्तक मुक्त छ ? साथै, प्राज्ञिक/शैक्षिक जगत्का लागि लेखिएको पुस्तकलाई कसी लगाउँदा अन्तर्वस्तुको स्तरलाई निम्न पक्षका आलोकमा पनि जाँच्नु पर्ने हुन्छ : लेखक/सम्पादक को हुन् ? उनको प्राज्ञिक संलग्नता विश्वविद्यालयजस्ता उच्च प्राज्ञिक संस्थासँग छ ? सम्बन्धित विधाका विज्ञका रुपमा उनको पहिचान छ ? सम्बन्धित क्षेत्रमा उनको निरन्तरता रहेको वा हुने देखिन्छ ? उनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाले फेलोसिप आदि प्रदान गरेका छन् ? उनले मौलिक अनुसन्धान गरेका छन् ? उनका अनुसन्धान देशभित्र र देशबाहिरका जर्नलमा प्रकाशित भएका छन् ?

पाठ्यपुस्तक, सन्दर्भ पुस्तक, सहयोगी पुस्तक, तालिम पुस्तक, स्वतन्त्र अनुसन्धानमूलक पुस्तकको क्षेत्र (स्कोप) घोषित उद्देश्य एवं लक्ष्यित पाठकका सन्दर्भमा कसी लगाएर मात्र निष्कर्षमा पुग्नु पर्ने हुन्छ । जस्तै : लेखक/सम्पादक स्वयंले उच्चमाध्यमिक तहका लागि सहयोगी पुस्तक वा पाँचहप्ते तालिमका लागि तयार पारिएको पुस्तक भनिसकेपछि त्यसलाई कसी लगाउँदा सोही मापदण्ड लागू गर्नु पर्छ भने सन्दर्भ पुस्तकको मूल्याङ्कन गर्दा त्यतिले पुग्ने कुरै भएन ।
आमसंचार तथा पत्रकारिताबारे नेपाली लेखक/सम्पादकद्वारा उत्पादित पुस्तक सबै महान् गुण सम्पन्न छन् वा सबै पत्रु छन् भन्नु अतिसामान्यीकृत गैरजिम्मेवार कुरा हुन् । यी पुस्तकहरु पनि अन्यत्रका र अन्य विधाका पुस्तकहरुझैँ नै उच्च, मध्यम र सामान्य स्तरका छन् । अनेक ‘नीर-क्षीर-विवेकी’ समीक्षकहरुले अन्तर्वस्तु एवं पाठविश्लेषण गरिसकेपछि मात्र टिप्पणीका आधारहरु खडा हुनेछन् । ती टिप्पणी पनि संख्या र गुणस्तर दुवैको सहअस्तित्वका पक्षमा हुनु वांछनीय छ ।

(अधिकारी भाषा तथा आमसंचार विभाग, काठमाडौँ विश्वविद्यालयमा प्राध्यापन गर्छन् । विगतमा विभिन्न पत्रपत्रिकाका सम्पादक, विभिन्न अनुसन्धान परियोजनाका निर्देशक एवम् मदन भण्डारी मेमोरियल कलेजमा पत्रकारिता विभागका प्रमुख रहिसकेका अधिकारीका दुई दर्जन भन्दा बढी पुस्तक-कृतिहरुका साथै राष्ट्रिय-अन्तर्राष्ट्रि प्रकाशनमा दर्जनौँ अनुसन्धान एवं सयौँ विश्लेषणात्मक लेखहरु प्रकाशित भइसकेका छन् ।)

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s


%d bloggers like this: