भारतवर्षमा लेखनकलाको प्राचीनता

– निर्मलमणि अधिकारी ‘आयोदधौम्य’
भारतवर्षमा लेखनकला प्राचीनकालदेखिनै व्यवहारमा थियो भन्ने कुरा निर्विवाद छ, तर समयको निर्धारणभने अझसम्म हुन सकेको छैन । यससम्बन्धी अन्वेषण हुँदैजाँदा एक दिन समय पनि यकिन हुने नै छ ।

“भारतवर्षमा आस्तिक र नास्तिक दुवै सम्प्रदायमा जुन परम्पराहरू उपलब्ध छन् तिनीहरूमा लेखनकला -कम्तीमापनि मुख्य लिपि) को आविष्कारको श्रेय ब्रह्मालाई छ । ब्रह्माबाट लिपिको आविष्कारको कुरा ‘मनुसंहिता’ को नूतन संस्करण, ‘नारदस्मृति’ -सन् ६२० मा ‘बाण’ ले यसको उल्लेख गरेका छन्), मनुमाथि गरिएको बृहस्पतिको ‘वार्तिक’, ह्वेन साङ् -युवाङ् च्वाङ् समेत भनिइने प्रसिद्ध चिनियाँ यात्री) तथा जैनग्रन्थ ‘समवायांग सूत्र’ -परम्पराबाट प्राप्त तिथि इसापूर्व ३००) मा पाइन्छ । ‘समवायांग सूत्र’ को कथा ‘पण्णावणा सूत्र’ -परम्पराबाट प्राप्त तिथि इसापूर्व १६८) मा पनि दोहोर्याइएको छ । बादामी -एक स्थान विशेष) मा ब्रह्माको एक मूर्ति प्राप्त भएको छ जसको समय लगभग सन् ५८० मानिन्छ । सो मूर्तिमा ब्रह्माको एक हातमा ताडपत्र छ । पछिका मूर्तिहरूमा ताडपत्रको स्थानमा कागज पाइन्छ, जसमा लेखावट पनि देखाइएको छ । यी मूर्तिहरूमा पनि सोही कथातर्फसंकेत छ । ब्रह्माबाट उत्पत्तिको यो कथा विशेष गरी ती भारतवर्षीय लिपिहरूका सम्बन्धमा हो, जो बायाँबाट दायाँतर्फलेखिन्छ । चीनको बौद्धग्रन्थ ‘फवाङशुलिन’ मा यो सारा कथा पाइन्छ । त्यहाँ ब्रह्मालाई ‘फाङ’ भनिएको छ । माथि उल्लेखित दुइटै जैनग्रन्थ तथा ‘ललितविस्तर’ मा सबभन्दा महत्वपूर्ण लिपिलाई ‘बंभी’ या ‘ब्राह्मी’ भनिएको छ । यसबाट पनि सो कथा (ब्रह्माबाट लिपिको आविष्कार भएको) को प्रचलनको संकेत हुन्छ । यी यावत् साक्ष्यहरूको आधारमा त्यो लिपिलाई ‘ब्राह्मी’ भन्नु नै उपयुक्त देखिन्छ, जुन लिपिमा अशोकका अधिकांश आदेश-लेख लेखिएको छ या जो त्यसैका अघिल्ला विकसित रूप हुन् ।
बेरुनी (एक लेखक) ले अर्कै कथा बताएका छन् । बेरुनीका अनुसार हिन्दूहरूले लेख्न भुलिसकेका थिए र दैवी प्रेरणाबाट पराशर-पुत्र व्यासले पुनः यसको खोज गरेका हुन् । यस प्रकार भारतवर्षीय लिपिको इतिहास कलियुगदेखि अर्थात् इ.पू. ३१०१ देखि शुरु हुन्छ । यी पुराण-कथाहरूबाट यस्तो प्रतीत हुन्छकि हिन्दूजनले अत्यन्त प्राचीनकालमा नै (निश्चयनै इस्वी सन्को प्रारम्भ हुनुअगावै र सम्भवतः ३०० इ.पू. भन्दापनि अगावै( आफ्नोमा लिपिको उत्पत्ति कहिले (कुन मितिमा) भएको थियो भन्ने कुरा भुलिसकेका थिए । किन्तु उनीहरूको परम्परामा केही अंश यस्ता बचेका छन्, जो यस सम्बन्धमा धेरै महत्वपूर्ण छन् । माथि जुन दुई जैनग्रन्थको चर्चा गरियो, तिनमा १८ लिपिहरूको उल्लेख छ । ‘ललितविस्तर’ (बौद्धग्रन्थ) बाट थाहा हुन आउँछकि बुद्धको समयमा ६४ लिपिहरू प्रचलित थिए । दुवै सूचीमा कतिपय नामहरू समान छन् । तीमध्ये चार लिपि त निश्चयनै ऐतिहासिक छन् । वर्तमान भारतवर्षीय लिपिहरूकी जननी ‘ब्राह्मी’ वा ‘बंभी’ का अतिरिक्त दुई अन्य लिपिहरूको पनि पहिचान ज्ञात लिपिहरूबाट गर्न सकिन्छ । दायाँबाट बायाँतिर लेखिने ‘खरोष्ठी’ या ‘खरोट्ठी’ को आविष्कार ‘फवाङशुलिन’ (चीनियाँग्रन्थ) को अनुसार ‘खरोष्ठ’ (गधाको जस्तो ओठ भएका) ले गरेका थिए । -द्रष्टव्य : यहाँ भगवान् विष्णुको हैहय अवतारलाई संकेत गर्न खोजिएको पो हो कि ।) यो त्यही लिपि हो जसलाई विद्वानहरूले पहिले ब्याक्टिरियन, इण्डो-ब्याक्टिरियन, ब्याक्ट्रो-पालि, एरियानो-पालि आदि-आदि नामहरूले जनाएका थिए । ‘द्राविडी’ या ‘डामिली’ शायद ब्राह्मीकै अंशतः स्वतन्त्र भेद हो । हालैमा कृष्णा जिल्लाको भट्टप्रिोलुको स्तूपबाट प्राप्त धातुपात्रहरूबाट यसको पत्तो लागेको छ । यिनको अलावा, ‘पुष्करसारी’ या ‘पुक्खरसारिया’ नामपनि ऐतिहासिक हो । यसको सम्बन्ध ‘पुष्करसादि’ या ‘पौष्करसादि’ -उत्तरी बौद्ध-परम्पराको ‘पुष्करसारि’) नामसँग छ । पाणिनी, आपस्तम्ब धर्मसूत्र र अन्य ग्रन्थमा यस नामका एक या अनेक धर्मशास्त्रीहरू र
वैयाकरणहरू उल्लेखित छन् । असम्भव छैनकि ‘पुष्करसद’ वंशको कुनै व्यक्तिले कुनै नयाँ लिपिको आविष्कार गरेको होस् या कुनै प्रचलित लिपिकै संस्कार गरेर त्यसलाई नयाँ रूप दिएको होस् । …. …. यस कुराको पर्याप्त सम्भावना छकि इ.पू. ३०० मा भारतवर्षा अनेक लिपिहरू ज्ञात या प्रचलित थिए । ….”
माथि गरिएको चर्चा यस स्तम्भकारले अनुवाद गरी यहाँ प्रस्तुत गरेको हो । प्रसिद्ध जर्मन भारतविद् जर्ग ब्यूलरद्वारा लेखिएको र सन् १८९६ मा प्रकाशित ग्रन्थको मंगलनाथ सिंहद्वारा हिन्दीमा अनुवाद गरी सन् १९६६ मा प्रकाशित पुस्तकबाट नेपाली भाषामा अनुवाद गरिएको हो । लेखनको प्रयोग सम्बन्धमा साहित्यिक प्रमाणका बारेमा चर्चा गर्दै थप भनिएको छ ः “वाशिष्ठ धर्मसूत्र एक वैदिक गन्थ हो । कुमारिल -लगभग ७५० इस्वीसन्का प्रसिद्ध महान् दार्शनिक) को मतानुसार आफ्नो मूल रूपमा सो ग्रन्थ एक ऋग्वैदिक सम्प्रदायको अंग थियो । यसको रचना ‘मनुसंहिता’ भन्दा पहिले र ‘मानवर्-धर्मसूत्र’ भन्दा पछि भएको मानिन्छ । ‘मनुसंहिता’ सँग सबै परिचित छन्, तर ‘मानवर्-धर्मसूत्र’ अब लुप्त भइसकेको छ । ‘वाशिष्ठ धर्मसूत्र’ मा यो कुराको स्पष्ट प्रमाण छकि ‘वैदिक’ कालमा लेखन-कलाको पर्याप्त प्रचार थियो । वशिष्ठ दस्तावेज -लिखित) लाई कानूनी प्रमाण मान्छन् । यसमा पहिलो सूत्र कुनै प्राचीन ग्रन्थ या परम्परा-प्राप्त कृतिको उद्धरण छ ।” जर्मन विद्वान ब्यूलर ‘वेदाङ्ग’ हरूमध्येमा पाणिनीको व्याकरणको पनि गणना हुने तथ्य उल्लेख गर्दै त्यसमा ‘लिपिकर’ या ‘लिबिकर’ का समस्त पदहरूको उल्लेख भएको बताउँछन् । ब्यूलरको मतमा यसको अर्थ ‘लेखक’ हो । उनी महाकाव्यहरू -रामायण र महाभारत) मा भएका लेखनसम्बन्धी उल्लेखलाई निक्कै प्राचीन भएको मान्नुपर्ने पनि बताउँछन् । भारतवर्षा लेखनकला प्राचीनकालदेखिनै व्यवहारमा थियो भन्ने कुरा निर्विवाद छ, तर समयको निर्धारणभने अझसम्म हुन सकेको छैन । यससम्बन्धी अन्वेषण हुँदैजाँदा एक दिन समयपनि यकिन हुने नै छ ।
Also visit:
http://nirmalamani.blogspot.com/2006/05/blog-post_31.html

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s


%d bloggers like this: