एक अन्तर्वार्ता : संचारको साधारणीकरण ढाँचाबारे

एक अन्तर्वार्ता : संचारको साधारणीकरण ढाँचाबारे
(साभार : मिथिलान्चल विशेष दैनिक, २०६७ भदौ २१, पृ. ३)

काठमाडौँ विश्वविद्यालय, भाषा तथा आमसंचार विभागमा मिडियाअध्ययनका प्राध्यापक निर्मलमणि अधिकारी संचारको सैद्धान्तिक अध्ययनका क्षेत्रमा एक विशिष्ट प्रतिभा हुन् । संचारको हिन्दू दार्शनिक/सांस्कृतिक अध्ययनका क्षेत्रमा त झन् यिनी आधिकारिक विज्ञ नै मानिन्छन् । अधिकारीद्वारा प्रतिपादित संचारको साधारणीकरण ढाँचा (Sadharanikaran Model of Communication) पूर्वीय/हिन्दू दृष्टिकोण अनुसार निर्मित संसारकै पहिलो संचारढाँचा हो । यसलाई संचारविज्ञानको गहन उपलब्धिका रुपमा स्वीकार गर्दै देश-विदेशका विभिन्न विश्वविद्यालयहरुमा अध्ययन/अध्यापन गरिन्छ । संचारसिद्धान्त, पत्रकारिता, साहित्य एवं दर्शनजस्ता क्षेत्रमा अधिकारीद्वारा लिखित दुई दर्जन भन्दा बढी पुस्तक-कृतिहरु र दर्जनौँ अनुसन्धान-लेखहरु प्रकाशित भइसकेका छन् ।
संचारविद् अधिकारीसँग भएको कुराकानी यहाँ प्रस्तुत छ ः

संचारविद् अधिकारीसँग पत्रकार जीवेश झाले गर्नुभएको कुराकानी यहाँ प्रस्तुत छ ः
साधारणीकरण सिद्धान्तबारे संक्षिप्त जानकारी दिनुस् न ।
साधारणीकरण सिद्धान्त भन्नाले भारतवर्षीय काव्यशास्त्रको एक सिद्धान्त बुझिन्छ । यस सिद्धान्तले कुनै एक व्यक्तिको अनुभूति र अभिव्यक्तिलाई कसरी अन्य व्यक्तिहरुले बुझ्दछन् कसरी सफलतापूर्वक रसास्वादन हुन्छ भन्ने व्याख्या गर्दछ । यसलाई भरतमुनिको नाट्यशास्त्र मा वर्णित रससिद्धान्तका आधारमा भट्टनायकले व्याख्या गरेका थिए । साहित्यिक समीक्षाका क्षेत्रमा सदैव चर्चित रहेको यो सिद्धान्तको सान्दर्भिकता ज्ञानका अन्य विधामा पनि हुने कुरातर्फ भने पछि मात्र विद्वानहरुको ध्यान गएको हो । संचारको सैद्धान्तिक अध्ययनका क्षेत्रमा पनि साधारणीकरण सिद्धान्त सान्दर्भिक रहेको भनी भारतीय विद्वानहरु जे.एस. यादव र आई.पी. तिवारीले सन् १९८० मा व्याख्या गरेपछि विश्वभरका संचारअध्येताहरुको ध्यान यतातर्फ तानियो । सोही साधारणीकरण सिद्धान्तलाई संचारका परिप्रेक्ष्यमा थप विश्लेषण गर्दै साचारको साधारणीकरण ढाँचा बनाइएको हो ।

तपाईँले प्रतिपादन गर्नुभएको संचारको साधारणीकरण ढाँचा (Sadharanikaran Model of Communication) लाई कसरी परिभाषित गर्नु हुन्छ ?
संचारप्रकि्रयालाई हिन्दू विश्वदृष्टिकोणबाट गरिएको सैद्धान्तिकरणको चित्रमय प्रस्तुति नै साधारणीकरण ढाँचा हो । यसले हिन्दू समाजमा संचारप्रकि्रया कसरी व्यवहारित हुन्छ भन्ने कुरालाई प्रस्तुत गर्दछ । यसले हिन्दू समाजमा “सहृदयताका लागि संचार” भन्ने मान्यता रहेको प्रष्ट्याउँछ ।

यो ढाँचा प्रतिपादन गरिनुको पृष्ठभूमिबारे प्रष्ट्याइदिनु हुन्छ कि !
पश्चिमा सन्दर्भमा संचारको सैद्धान्तिक अध्ययन गरी सिद्धान्त र ढाँचाहरु निर्माण गर्ने लहर नै चलेकाले धेरैवटा संचारढाँचाहरु बनाएका छन् । हाम्रोमा भने पहिलोपल्ट वि।सं। २०६० सन् २००३ मा यो ढाँचा प्रस्तुत गरिएको हो । आमसंचार र पत्रकारिता विषयमा एम.ए. को शोधपत्रमार्फत् मैले साधारणीकरण ढाँचा प्रस्तुत गरेको थिएँ । प्राचीन साधारणीकरण सिद्धान्तलाई संचार अध्ययनका सन्दर्भमा अर्थापन गर्दै एवं भरतमुनिको नाट्यशास्त्र र भतृ्रहरिको वाक्यपदीय का आधारमा यसको निर्माण गरिएको हो । गैरपश्चिमा संस्कृतिलाई प्रतिनिधित्व गर्ने पहिलो संचारढाँचा हुने गौरव यसले पाएको छ ।

हिन्दू समाजमा हुने संचारप्रकि्रयालाई यसले कसरी प्रतिनिधित्व गर्दछ ?
हिन्दू समाज पनि आफैँमा विविधतायुक्त समाज हो । त्यसैले कुनै एउटा मात्र संचार-सिद्धान्त एवं ढाँचाले सारा हिन्दू समाजको शतप्रतिशत प्रतिनिधित्व गर्छ भन्न सकिँदैन । तर जति नै विविधतायुक्त भए तापनि हिन्दू समाजका केही आधारभूत पक्ष भने समान छन् । साधारणीकरण ढाँचामा त्यस्ता आधारभूत पक्षलाई ख्याल राखिएकाले यसले हिन्दू समाजमा व्यवहारित साचारको सामान्यीकृत प्रतिनिधित्व गर्न सक्दछ । संचारकर्ताहरुबीच सहृदयता हुनु नै हिन्दू पद्धतिमा संचारको आदर्श लक्ष्य हो भन्ने कुरालाई साधारणीकरण ढाँचाले देखाउँछ ।

यसलाई हिन्दू संचार सिद्धान्त पनि भनिएको पाइन्छ । किन ? यसलाई धार्मिक वा साम्प्रदायिक आधारमा हेरिने खतरा कत्तिको देख्नु हुन्छ ?
हो यसलाई हिन्दू संचार सिद्धान्त पनि भनिएको पाइन्छ । यसको अर्थ के हो भने यसको मूल हिन्दू संस्कृति एवं दर्शनमा रहेको छ र यसलाई हिन्दू समाजले आफ्नो व्यवहारमा अङ्गीकार गरेको पाइन्छ । यसरी उक्त सिद्धान्त/ढाँचाको उद्भवलाई जनाउनका लागि त्यसको भनिएको हो । यसको कुनै धार्मिक वा साम्प्रदायिक अर्थ छैन । जसरी ‘योग’ लाई सबै धर्म सम्प्रदाय संस्कृतिका मानिसकालागि उपयुक्त मानिएको छ त्यसरी नै साधारणीकरण पनि बृहद् प्रयोजन भएको सिद्धान्त हो ।

के साधारणीकरण ढाँचा हिन्दूबाहेक अन्य संस्कृतिमा पनि लागू हुन सक्छ ?
यो हिन्दूबाहेक अन्य संस्कृतिमा लागू हुन सक्छ कि सक्दैन भन्ने कुराको निक्र्योल गर्न सजिलो छैन । एकातिर संचारको अध्ययन संस्कृतिसापेक्ष हुनु पर्छ भन्ने विश्वव्यापी मान्यता भएकाले विभिन्न सांस्कृतिक परिवेशमा संचारलाई बुझ्न विभिन्न सिद्धान्त र ढाँचाहरु चाहिन्छन् भन्ने नै मान्नु पर्छ । अर्कोतिर “सहृदयताको लागि संचार” भन्ने जुन मान्यता साधारणीकरण ढाँचाले बोकेको छ त्यसको वैश्विक मूल्य रहेको छ भन्न पनि हिच्किचाउनु पर्दैन । त्यसैले यो संचार ढाँचालाई जुनसुकै परिवेशमा एउटा सन्दर्भ-ढाँचाका रुपमा लिन सकिन्छ । विश्वशान्ति एवं विश्वबन्धुत्वको प्रबद्र्धन तथा द्वन्द्वव्यवस्थापनका लागि यसले सकारात्मक योगदान पुर् याउन सक्छ ।

संचार तथा पत्रकारिताको अध्ययनका क्षेत्रमा नेपालको अवस्थालाई वैश्विक अवस्थासँग कसरी तुलना गर्नुहुन्छ ?
संचार तथा पत्रकारिताको अध्ययन विश्वका विभिन्न देशमा विभिन्न किसिमसँग भइरहेको छ । संस्कृति, मानव संसाधन तथा भौतिक संरचनात्मक विकास यी अनेक पक्षमा रहेको विविधताका कारणले गर्दा फरक फरक ठाउँमा फरक फरक अवस्था हुनु स्वाभाविक पनि हो । केही समययता हामीले यस विधामा निक्कै प्रगति गरेका छौँ भन्न हिच्किचाउनु पर्दैन तर सैद्धान्तिक र व्यावहारिक दुवै पाटामा हामीले गर्न बाँकी काम अझै धेरै छन् ।

नेपालमा संचार तथा पत्रकारिताको अध्ययनलाई विकास गर्नका लागि के गर्नु पर्ला ?
सैद्धान्तिक अध्ययनकै सन्दर्भमा केन्द्रित भएर भन्नुपर्दा बितेका धेरै वर्ष नेपालमा पश्चिमा सिद्धान्तहरुको अन्धानुकरण मात्र गर्नेखालको प्रवृत्ति देखिएको थियो । हालका वर्षहरुमा त्यस्तो प्रवृत्तिमाथि प्रश्न उठाउन थालिएको छ । तर प्रश्न मात्र उठाएर पुग्दैन वैकल्पिक ज्ञान प्रणाली पनि विकास गर्न सक्नु पर्छ । नेपालमा वैश्विक र स्थानिक दुवै ज्ञानलाई समेट्ने गरी ‘ग्लोकल’ (Glocal) अध्ययन पद्धतिलाई प्रबद्र्धन गर्नु पर्छ भन्ने मेरो मान्यता हो ।
This interview can be read here too
http://sadharanikarantheory.blogspot.com/2010/09/blog-post.html

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s


%d bloggers like this: