वैयक्तिक स्वतन्त्रता : चाणक्य र जेएस मिलका दृष्टिकोण

वैयक्तिक स्वतन्त्रता : चाणक्य र जेएस मिलका दृष्टिकोण
निर्मलमणि अधिकारी
(First published in Prachi Bimonthly, 2063 B.S.)
वैयक्तिकता र सामुहिकताको समन्वित रुप नै हिन्दूत्वमा रहेको हुन्छ । एकातिर सामाजिक व्यवहारमा हिन्दू संस्कृति समष्टि-प्रधान रहेको छभने अर्कोतिर आध्यात्मिक प्रयोजनमा यो सदैव व्यष्टि-केन्द्रित रहेर चिन्तन गर्दछ ।

विषय प्रवेश
जीवन र जगत्का बारेमा वैदिक हिन्दू अवधारणा र पश्चिमा अवधारणामा आधारभूत अन्तर छ भन्ने तथ्य सबैले मानिआएकै कुरा हो । यस्तो दार्शनिक पृथक्ताको प्रभाव गहन हुनु स्वाभाविकै हो । हामीले दैनन्दिन व्यवहारमा विशेष ख्याल नराखिकन स्वतः गरिरहेका साना साना कार्यहरुमा पनि हाम्रा सांस्कृतिक पृष्ठभूमि र तिनलाई पनि निर्देशन गर्ने दार्शनिक मान्यताहरुले भूमिका निर्वाह गरिरहेका हुन्छन् ।
हिन्दू संस्कृतिको मुख्य विशेषताका रुपमा मानिने आध्यात्मिकतासँग व्यक्तिको सामाजिक हैसियतको परिभाषा निरपेक्ष रहन सक्दैन भने आधुनिकता मोडर्निज्म भनिने ‘प्याराडाइम’ को सापेक्षता नहेरी पश्चिमा सोच प्रष्टिँदैन । कम्तीमा पनि कति चाहिँ भन्न सकिन्छ भने सहस्राब्दियौंदेखि प्रवाहमान मान्यताहरुलाई यथेष्ट नबुझी कुनै समाज विशेषमा व्यक्तिको भूमिकालाई कसरी परिभाषा गर्ने भन्ने सवालमा स्पष्टता आउँदैन । वैयक्तिक स्वतन्त्रताको हिन्दू मान्यता र पश्चिमा मान्यता आ-आफ्ना बृहद् परिप्रेक्ष्यबाट निरपेक्ष रहेर परिभाषित हुन सक्दैनन् ।
त्यसो त हिन्दू अवधारणा र पश्चिमा अवधारणा भन्ने शब्दावलीहरु आफैंमा निक्कै व्यापक अर्थ दिने शब्दावलीहरु हुन् । यिनका मूर्त परिभाषा दिनै पनि कम्ती गाह्रो छैन । तथापि यिनीहरु एक-आपसमा स्वायत्त अर्थ दिने शब्दावलीहरु भएको अस्पष्ट छैन । यहाँ चाणक्यको मतलाई हिन्दू अवधारणा तथा जेएस मिलको मतलाई पश्चिमा अवधारणा का प्रतिनिधि मानेर वैयक्तिक स्वतन्त्रताको अवधारणाको तुलनात्मक अध्ययन गरिएको छ ।

चाणक्य ः
दार्शनिक आचार्य चाणक्यलाई कौटिल्य विष्णुगुप्त तथा वात्स्यायन नामले पनि चिनिन्छ । उनको समय इशापूर्व ३५०-२७५ मानिएको छ । कौटिल्यको नामबाट लिखित अर्थशास्त्र चाणक्यको नामबाट लिखित नीतिशास्त्र एवं वात्स्यायनको नामबाट लिखित कामसूत्र विश्वभरि नै प्रसिद्ध छन् । उनी आचार्य चणकका छोरा हुन् । तक्षशीला विश्वविद्यालयका आचार्यका रुपमा युवावस्थामै ख्याति कमाएका चाणक्यले तत्कालीन समयमा हजारौं टुक्रामा विभाजित भारतवर्षको एकीकरण गराई एउटै बलियो केन्द्रीय सत्ताको मियोमा बाँधेका थिए ।
ग्रीसेली ऐतिहासिक दस्तावेजहरुका आधारमा उनी सिकन्दर महान् अलेजक्जाण्डर द ग्रेट भनिने सम्राटका समकालीन ठहरिएका छन् । सिकन्दरले भारतमाथि आक्रमण गर्नु पूर्व नै त्यसको सङ्केत पाएर चाणक्यले भारतवर्षको एकीकृत शक्ति बनाएर विदेशी आक्रमणकारीको प्रतिरोध गर्नु पर्नेमा जोड दिएका थिए । पाटलिपुत्रमा सत्तारुढ नन्दवंशी राजाले सिकन्दरविरुद्ध युद्धमा जान अस्वीकार गरेपछि चाणक्यले सर्वप्रथम नन्दवंशलाई सत्ताच्यूत गराएर आफ्नो विद्रोही अभियानलाई गति दिएका थिए । विश्वविजयी भनिएका सिकन्दरलाई परास्त गर्ने सेनाको गठन चाणक्यद्वारा नै भएको थियो । करिब सन् ३२७ तिर चाणक्यको सेनाले ग्रीसेली सेनालाई परास्त गरेको मानिन्छ ।
विजय पताका फहराएपछि चाणक्यले आफ्ना शिष्य चन्द्रगुप्त मौर्यलाई स्वाधीन एवं अखण्ड भारतवर्षको सम्राटका रुपमा प्रतिष्ठित गराए । त्यसपछिका केही वर्ष चाणक्य भारतवर्षका महामन्त्रीका रुपमा रही साम्राज्यलाई सुदृढ गराए र साम्राज्यको स्थिरतामा उनी आश्वस्त भएपछि अन्त्यमा तक्षशीलामै फर्केर अध्यापनमा रमाए । बहुआयामी व्यक्तित्वका धनी एवम् अद्वितीय विद्वान चाणक्यले सिद्धान्त र व्यवहार दुवैमा सफलता पाएको देखिन्छ । यस्तो दृष्टान्त प्रायः दार्शनिकको जीवनमा पाइँदैन ।
आचार्य चाणक्यलाई पश्चिमाहरु मेकियावेलीसँग तुलना गरेर बुझ्ने गर्छन् । तर यसरी तुलना गर्नु अनुपयुक्त भएको भारतवर्षीय दर्शनका ज्ञाताहरुको ठहर छ । जीसस क्राइस्टलाई ‘लाइट् अफ् वल्र्ड’ र भगवान् बुद्धलाई ‘लाइट् अफ् एसिया’ भनेर बुद्धलाई पश्चिमाहरुले न्यूनाङ्कन गरेजस्तै गलत मनशाय वा संस्कृत शब्द ‘धर्म’ को अंग्रेजी उल्था “religion” भनेर गरेजस्तै अज्ञानता चाणक्यलाई मेकियावलीसँग तुलना गर्नुमा पनि छ भन्ने गरिएको पाइन्छ । यस लेखको विषय-परिधि भन्दा बाहिर पर्ने भएकाले हामी त्यस बारेमा विस्तृत चर्चा गर्दैनौं । यहाँ हाम्रो चर्चाको केन्द्रबिन्दु चाणक्य नीतिशास्त्रमा आचार्यले वैयक्तिक स्वतन्त्रता र सामाजिक सम्बन्ध बारेमा सारा वैदिक दर्शनको सारलाई एउटै श्लोकबाट कसरी खिचेका छन् भन्ने चाहिँ हो । त्यस बारेमा उनको मतलाई प्रसिद्ध पश्चिमा दार्शनिक जोन स्टुआर्ट मिलको मतसँग तुलना समेत गरिएको छ ।

जेएस मिल ः
प्रसिद्ध अंग्रेज दार्शनिक जोन स्टुआर्ट मिल उपयोगितावाद तथा वैयक्तिक स्वतन्त्रता का मसीहाका रुपमा प्रसिद्ध छन् । दार्शनिक जेम्स मिलका छोराको रुपमा उनको जन्म सन् १८०६ मे २० तारिखमा र मृत्यु सन् १८७३ मे ८ तारिखमा भएको थियो । उनको शिक्षादीक्षा तीन वर्षकै उमेरमा सुरु भएकोमा १३ वर्ष पुग्दा नपुग्दै उनले अध्यापन कार्य प्रारम्भ गरेका थिए ।
दार्शनिक जेरेमी बेन्थमका अनुयायी तथा लण्डन रिभ्यू र वेस्टमिन्स्टर रिभ्यूका सम्पादकका रुपमा बौद्धिक जगतमा ख्याति कमाएका मिल १७ वर्षको उमेरमा इस्ट इण्डिया कम्पनीका कर्मचारी बने भने कम्पनी बन्द भएपछि राजनीतिमा प्रवेश गरी सांसद भएका थिए । सांसदका रुपमा उनको भूमिका उल्लेख्य रह्यो- उनले महिला मताधिकार मजदुर वर्गको हित र भूमिसुधार सम्बन्धमा विशिष्ट योगदान पुर् याए । बहुआयामी व्यक्तित्वका धनी यी दार्शनिकको बारेमा एकजना लेखकले भनेका छन् – उन्नाइसौं शताब्दीका सबै भन्दा बुद्धिमान र सबै भन्दा उदार व्यक्तिहरुमध्ये जेएस मिल एक हुन् ।
मिलको लेखनक्षेत्र विस्तृत रहेको देखिन्छ । राजनीतिशास्त्र अर्थशास्त्र तर्कशास्त्र न्यायशास्त्र आदि अनेक विधाहरुमा उनको कलम चलेको छ । पुस्तक अन लिबर्टी सन् १८५९ वैयक्तिक स्वतन्त्रताको पक्षमा सबै भन्दा महत्वपूर्ण आवाजका रुपमा प्रतिष्ठित छ । स्वतन्त्रता सम्बन्धमा संसारका कुनै पनि भाषामा लेखिएका पुस्तकहरुमध्ये उक्त पुस्तकलाई सर्वश्रेष्ठ मान्ने गरिएको छ ।

शरीर र मस्तिष्कमाथि व्यक्तिको सम्प्रभुता ः
मिल भन्छन्- कुनै पनि व्यक्तिको व्यक्तित्वको पूर्ण विकासका लागि स्वतन्त्रता अपरिहार्य हुन्छ । उनको दर्शनको सार हो – “प्रत्येक व्यक्तिको आफू आफ्नो शरीर र आफ्नो मस्तिष्कमाथि सम्प्रभुता हुन्छ ।” व्यक्तिको स्वतन्त्रतामाथि कुनै दैवी शक्ति कुनै व्यक्ति कुनै राज्य वा कुनै लोकपि्रय सरकारले समेत बाधा पुर् याउन नसक्ने भन्दै वैयक्तिको स्वतन्त्रताको पक्षमा मत उनले व्यक्त गरेका छन् ।
विभिन्न व्यक्तिको सुखानुभूति विभिन्न कुराबाट हुन्छ । यसमा अर्काले दमन गरेर वा लादेर हुने होइन । त्यसैले मिल भन्छन्- एकैजना व्यक्तिको पनि विचारलाई दमन गर्न पाइँदैन । वैचारिक स्वतन्त्रता व्यक्तिको मानसिक स्वास्थ्यका लागि अत्यावश्यक शर्त हो । यदि एकजना व्यक्तिबाहेक अरु सबैजनाको एकमत छ भने पनि त्यो फरक मत हुने व्यक्तिलाई बलपूर्वक मौन गराउने अधिकार छैन । विचार र अभिव्यक्तिको स्वतन्त्रता प्रत्येक व्यक्तिको जन्मसिद्ध अधिकार हो ।
दार्शनिक मिलले आन्तरिक स्वतन्त्रता विचारको स्वतन्त्रता का साथै बाह्य स्वतन्त्रता कार्यको स्वतन्त्रता पनि अत्यावश्यक भएकोमा जोड दिएका छन् । मिलका अनुसार कार्य पनि उत्तिकै स्वतन्त्र हुनु पर्छ जतिकि विचार । वास्तवमा प्रत्येक व्यक्तिलाई आफ्नो विचारअनुसार कार्य गर्ने स्वतन्त्रता हुनै पर्छ । त्यसैले प्रत्येक व्यक्तिले आफ्नो सुखका लागि उपयुक्त कर्म गर्न पाउनु व्यक्तिको अधिकार हो भन्छन् यी दार्शनिक ।
उनले मनुष्यका सबै कार्यलाई दुई प्रकारमा विभाजन गरेका छन्- व्यक्तिगत कार्य र सार्वजनिक कार्य । यसमध्ये पहिलोको सम्बन्ध व्यक्तिको व्यक्तिगत जीवनसँग छ; जस्तै- लवाइखवाइ धार्मिक आस्था आदि । व्यक्तिगत कार्यमा सामान्यतया अपवादबाहेक व्यक्तिलाई असीमित स्वतन्त्रताको प्रत्याभूति हुनु पर्ने पक्षमा उनी रहेका छन् । उनी जोड दिन्छन्- प्रत्येक व्यक्तिलाई आफ्नो इच्छाअनुसार स्वतन्त्रतापूर्वक जीउन दिनु नै मानवजातिको लागि हितकर हुन्छ । वैयक्तिक स्वतन्त्रताको प्रत्याभूति व्यक्तिका लागि साथै समाजका लागि समेत हितकारी हुन्छ भन्नेमा उनी दृढ छन् ।
सार्वजनिक कार्यका सम्बन्धमा भने उनी असीमित स्वतन्त्रताका पक्षपाती होइनन् । मिल भन्छन्- “व्यक्ति आफ्ना कार्यका लागि त्यति हदसम्म मात्र स्वतन्त्र छ जबसम्म उसको कार्यले अन्य व्यक्तिलाई हानी पुर् याउँदैन ।” मिलको वैयक्तिक स्वतन्त्रताको आधार सुखसिद्धान्त हो भन्ने यहाँनेर हामीले ख्याल राख्नु पर्छ । उनले व्यक्तिले आफ्नो सुखका लागि स्वतन्त्र विचार राख्न पाउने र स्वतन्त्र कर्म गर्न पाउने अधिकारको पक्षमा पैरवी गरेजस्तै एक व्यक्तिले राखेको विचार र गरेको कर्मले समाजका अन्य व्यक्तिले दुःख नपाऊन् भन्नेमा पनि जोड दिएका छन् । यसरी हेर्दा उनले पैरवी गरेको वैयक्तिक स्वतन्त्रता नैतिक बन्धनयुक्त छ ।

सामाजिक कार्यमा समाजप्रधान व्यक्तिगत कार्यमा व्यक्ति प्रधान ः
चाणक्य भन्छन्- “कुलको भलाइकोलागि एउटालाई त्याग्नू गाउँकोलागि कुललाई त्यागिदिनू । देशको हित हुन्छभने लागि गाउँलाई त्याग्नू र आत्म-कल्याणकोलागि समस्त पृथ्वीको त्याग उचित हुन्छ ।”
यसआधारमा सरसरी हेर्दा हिन्दू विचारधारा समष्टि-प्रधान रहेको छ- किनभने यसले भन्दैछकि कुलको भलाइको लागि एउटालाई त्याग्नू गाउँको लागि कुललाई त्यागिदिनू तथा देशको हित हुन्छ भने त्यसका लागि गाउँलाई त्याग्नू । योभन्दा ठूलो समूह-प्राधान्य कहाँ हुनसक्छ ! तर “आत्म-कल्याणकोलागि समस्त पृथ्वीको त्याग उचित हुन्छ” भनेकोलाई कसरी हेर्ने नि ! यता मीमांसा-दर्शनको धारणा छकि सारा संसार एकातिर र वेदको आदेश एकातिर छभने पनि वैदिक मत नै मान्य हुन्छ । वैयक्तिकताका यस्ता साक्ष्यहरुलाई देख्दादेख्दै “पूर्व” समष्टि-प्रधान वा समूहवादी रहेको भन्ने मत प्रथम-दृष्ट्या उपयुक्त लागेपनि सारमा एकाङ्गी निष्कर्ष हुनेछ । वास्तवमा वैयक्तिकता र सामुहिकताको समन्वित रुप नै हिन्दूत्वमा रहेको हुन्छ । एकातिर सामाजिक व्यवहारमा हिन्दू संस्कृति समष्टि-प्रधान रहेको छभने अर्कोतिर आध्यात्मिक प्रयोजनमा यो सदैव व्यष्टि-केन्द्रित रहेर चिन्तन गर्दछ । यसको समुचित कारण छ ।
हामीले व्यवहारमा पनि बुझ्न सक्ने कुरा होकि एक जनाको कारणले सारा समाजलाई हानि पुग्न सक्दछ वा फाइदा पनि पुग्न सक्दछ; किनकि समाजका सदस्यका रुपमा हरेक व्यक्ति-व्यक्ति अन्तरनिर्भर र सम्बद्ध छन् । तर आध्यात्मिक प्रयोजनमा यस्तो हुँदैन । प्रत्येक जीवात्मा मोक्ष वा पतनकोलागि आफूमात्र जिम्मेवार हुन्छ । मनुस्मृतिमा भनिएको छ- “परलोकमा आमा-बुबा श्रीमती पुत्र वा हितैषी-मित्रजनहरु कोही पनि सहायक हुँदैनन्; केवल धर्म मात्र साथमा हुन्छ । यो जीव एक्लै आउँछ र यहाँबाट एक्लो नै जान्छ; एक्लैले पुण्य-पापको फल पनि भोग्दछ ।” त्यसैले आध्यात्मिक प्रयोजनमा वैयक्तिक स्वतन्त्रता पूर्णरुपेण प्रदान गरिएको हो ।
हिन्दू जीवनमा मानवको लक्ष्य धेरै जान्नु होइन उसको लक्ष्य त सत्य जान्नु हो । हिन्दूधर्मको लक्ष्य परम् सत्यको साक्षात्कार नै हो । यस क्रममा सत्यान्वेषणकोलागि इन्द्रियजन्य बोध सक्षम छैन भन्ने पनि उसलाई बुझाइएको हुन्छ । अझ भन्नुपर्दा इन्द्रिय-सुखले सत्य-साक्षात्कारको यात्रामा मानिसलाई दिग्भ्रमित पार्दछ भन्ठानिन्छ । गीतामा भनिएको छ- “इन्द्रियका इन्द्रियार्थमा राग र द्वेष दुवै छुपेका हुन्छन् ती दुवै मानिसका शत्रु हुन् तिनका वशमा नपर्नू ।” त्यसैले “जुन योगी बाह्य विषयहरुलाई त्यागेर आत्मसुखमा रमाउँछ त्यो ब्रह्मयोगयुक्त योगी अक्षय सुख पाउँछ ।” यहाँ इन्द्रियहरुलाई निषेध गरिएको होइन किन्तु तिनको अपूर्णतालाई सम्झाइएको हो ।
देह र आत्माको पृथक्ता, देहको अनित्यता र आत्माको नित्यता, आत्माको चैतन्यता तथा देहमाथि आत्माको शासन जस्ता मौलिक मान्यताहरुले वैदिक हिन्दू दर्शनलाई अन्य दर्शनहरु भन्दा पृथक् विशिष्ट स्वरुप दिएका हुन् । पश्चिमा अवधारणामा ‘आत्मा’रुपी शरीरको शासक छैन जसले अचेतन वा अर्धचेतनमाथि समेत नियन्त्रण राखोस् । तर हिन्दू अवधारणामा आत्मा अचेतन वा अर्धचेतन मनद्वारा निर्देशित कि्रयाकलापमाथि समेत नियन्त्रण गर्न सक्षम छ र त्यहीको आत्माको शासनमा इन्द्रियलाई राख्नुपर्ने स्वच्छन्द छोड्नु नहुने हिन्दू मत रहेको छ । त्यस्तै हिन्दू सोच अनुसार आध्यात्मिक वा धार्मिक कर्म नै लक्ष्य हुनुपर्दछ किनभने आध्यात्मिक समुन्नतिको लागि लक्ष्य गर्दा त्यसबाट भौतिक लाभ त आनुषङ्गिक रुपमा स्वतः प्राप्त भइहाल्छ ।
व्यक्ति जस्तै समाज पनि अन्तर्मुखी र बहिर्मुखी हुन्छन् भन्ने मान्दा पश्चिमी सभ्यता मूलतः बहिर्मुखी सभ्यता हो भने पूर्वीय सभ्यता मूलतः अन्तर्मुखी सभ्यता हो । त्यसैले यहाँ आत्मिक उन्नतिमाथि जोड दिइयो उता वैज्ञानिक तार्किक विकासमाथि जोड दिइयो । हिन्दू विचारक विज्ञान पनि जान्दछ तर ऊ त्यसमा अल्झँदैन । विज्ञानलाई ज्ञान प्राप्तिको खुड्किलो बनाएर अमृतत्व पाउनु नै उसको अभीष्ट हुन्छ । श्वेताश्वतरोपनिषद्मा ब्रह्मतत्व भन्दा ठूलो जान्नुपर्ने, जान्नयोग्य तत्व नभएको बताइएको पनि यहाँनेर स्मरणीय छ । यस्तो परमतत्वको प्राप्तिका लागि लाग्ने भएकाले मुमुक्ष्ालाई संसारका कुनै नियमले नछुने निष्कर्षमा चाणक्य पुगेका हुन् । त्यसैले त उनले भने- आत्मकल्याणको लागि समस्त पृथ्वीको त्याग गर्न पनि तयार रहनू ।

निष्कर्ष ः
पृथक् पृष्ठभूमिका दार्शनिक भए तापनि वैयक्तिक स्वतन्त्रताका सम्बन्धमा चाणक्य र जेएस मिलका विचारहरु धेरै नै निकट रहेको हामीले देख्यौं । फरक कति मात्र होकि जेएस मिलले वैयक्तिक स्वतन्त्रताको सवाललाई व्यक्तिको भौतिक तह र मानसिक तहमा हेरेका छन् भने चाणक्यले त्यो भन्दा पल्तिर आध्यात्मिक तहसम्म दृष्टि पुर् याएका छन् । जुन सांस्कृतिक पृष्ठभूमि तथा धार्मिक मान्यतामा उनीहरु हुर्के त्यसलाई विचार गर्दा यो भिन्नता स्वाभाविक हो ।
उता पश्चिमा मतमा यताजस्तो ‘मोक्ष’ वा ‘निर्वाण’ सँग मिल्दोजुल्दो अवधारणा छैन; त्यहाँ उद्धार (साल्भेसन) को अवधारणासम्म चाहिँ पाइन्छ । त्यसैले दार्शनिक मिल शरीर र मस्तिष्कमाथिको सम्प्रभुतालाई जोड दिन्छन् । वैदिक हिन्दू जीवनमा मोक्ष एउटा अनिवार्य एवम् परम् तत्वको रुपमा रहेको छ; यद्यपि यसको प्राप्तिको प्रकि्रयाबारेमा मत-विविधता अवश्यै छन् । त्यसैले दार्शनिक चाणक्य वैयक्तिक स्वतन्त्रताको सर्वोत्कृष्ट सार्थकता मोक्षप्राप्तिमा देख्छन् । तर यहीँनेर ख्याल राख्नु पर्ने कुरा के छ भने हिन्दू जीवनमा मोक्षप्रतिको अत्यधिक आग्रहको अर्थ भौतिक जगत्प्रतिको निरपेक्षता होइन । इन्द्रियजन्य मोह वा भ्रमप्रति अनिच्छा भएतापनि मानव चेतनाप्रति वैदिक मतमा अगाध श्रद्धा रहेको छ । त्यसैले चाणक्य सामाजिक व्यवहारमा व्यक्तिको हितलाई भन्दा समाजको हितलाई महत्व दिन्छन् ।
अन्त्यमा प्रुेन्च दार्शनिक रोम्ााँ रोलाँलाई उद्धृत गर्दै बिट मारौं जसले भनेका छन्- “खासगरी केही वर्ष यता म युरोप एसियाको चेतनालाई एक-अर्काको निकट ल्याउनु पर्ने आवश्यकता महसुस गरिरहेको छु । चिन्तनका यी दुई गोलाद्र्ध हुन् । यी दुईलाई एक बनाउनु आउने युगको महान् उद्देश्य हुनु पर्छ ।”

One Response to “वैयक्तिक स्वतन्त्रता : चाणक्य र जेएस मिलका दृष्टिकोण”

  1. raj paudel Says:

    सर योत अत्यन्तै उत्कृस्ट बिबेचना हो |बुज्ने हो भने एसले बैचारिक भ्रम लाई नै नस्ट गरि दिन्छ |

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s


%d bloggers like this: