आफ्नै-आफ्नै सपना बोकेका दुई पुस्तासँग

यहाँ प्रकाशित यो सामग्री पढ्नु अघि मेरो अर्को ब्लगमा राखिएको सामग्री पढ्ने हो भने पृष्ठभूमि अझै प्रष्टिने छ ।

मलाई परिवारका दुई पुस्ताले आ-आफ्नै तवरले प्रशिक्षित गर्नु भएको थियो । मेरा पिताजी र मेरा दाई दुईजनासँगबाट मैले बिल्कुलै फरक-फरक विधाहरु पढ्न पाएको थिएँ । उहाँहरु दुबैसँग आफ्नै-आफ्नै सपना थिए र ती अधूरा-अपूरा सपनालाई विपनामा साकार गर्न उहाँहरु दत्तचित्त हुनुहुन्थ्यो । ती दुबै कल्पनामा ऐक्यतापनि थियो ।

सनातन हिन्दूधर्मशास्त्रका प्रकाण्ड विद्वान धार्मिक प्रकृतिका अनि आफ्ना अडानमा अत्यन्तै दृढ रहने स्वभावका पिताजी पण्डित रुद्रमणि (उहाँकी आमा अर्थात् मेरी हजुरआमाले दिनुभएको नामचाहिँ “चिराजीवि”) र एक अक्षर पनि नचिन्नुभएकी, साह्रै दयालु-मायालु अनि अत्यन्तै परिश्रमी आमा – रमादेवी (उहाँको नाम माइतीमाचाहिँ “सीता”) को प्यारो छोरो म । मेरा माता-पितालाई के विश्वास रहेको थियो भने मेरो जन्म भगवान्को प्रसाद स्वरुप भएको हो । एक वर्षसम्म नित्य भगवद्-पूजन पश्चात् मेरो जन्म भएको भन्ने कुरा उहाँहरुले मलाई धेरैपल्ट बताउनु भएको छ । त्यसैकारणले पनि होला सानैदेखि मेरो विशेष ख्याल राखिएको थियो ।
पिताजीका छोराहरु तत्कालीन परिवेश अनुरुप सुपठित भएतापनि उहाँहरुले पिताजीको आफ्नो विद्या अर्थात् सनातन हिन्दू धर्मशास्त्र नपढी नयाँ सरकारी शिक्षा हासिल गरेको हुँदा मेरा पिताजीलाई आफ्नो शेष पछि परम्परा कसले थाम्ने भन्ने सवालले टोकिरहेको थियो ।
छोराहरुलाई संस्कृत शिक्षा दिन उत्कट इच्छा-आकांक्षा हुँदाहुँदैपनि कतै संस्कृत पढेकै कारणले जागिर नपाएर भविष्यमा आफ्ना सन्तानले दुःख-कष्ट पाउने पो हुन्कि भन्ने आशंका पनि भएकाले उहाँका छोरा-छोरीको शिक्षादीक्षा सरकारी विद्यालयमार्फत् नै भयो । अर्को उत्तिकै उल्लेख्य पक्ष केपनि होभने मेरा दाजुहरुमध्ये कतिपयले स्वयम् नै पिताजीको जस्तो जीवन-दर्शन र मान्यताप्रति व्यावहारिक तवरलेनै अनास्था प्रकट गरिदिएर पिताजीको आफ्नो सन्तानलाई संस्कृत धार्मिक शिक्षा दिने इच्छा-आकांक्षामाथि तुसारापात गरिदिनु भएको थियो । पिताजीले जे-जे नगरिदिए हुन्थ्यो जे-जे नखाइदिए हुन्थ्यो इच्छा राख्नुहुन्थ्यो त्यही-त्यही गर्दिने/खाइदिने सन्तानका कारण कहिलेकाहिँ पिताजी साह्रै निराश एवं दुःखी भएको मैले देखेको छु । अब पिताजीको आशा ममाथि थियो । उहाँ “भगवद्कृपावश जन्मेको” पुत्रलाई आफ्नो बिँडो थाम्ने उत्तराधिकारीका रुपमा हेर्नुहुन्थ्यो । उहाँको आशा ममाथि थियो भन्नुको अर्थ केभने उहाँ मलाई आफूजस्तै ‘पण्डित’ बनाउन चाहनुहुन्थ्यो । यतिमात्रै होइन नि उहाँ मेरालागि आधुनिक शिक्षा दिने कुरामा त झन् बढी सचेत हुनुहुन्थ्यो । उहाँको इच्छा केभने म विद्यालयमा आधुनिक शिक्षा हासिल गरुँ र घरमाचाहिँ परम्परागत शिक्षा । अर्थात् उहाँको चाहना थियो- छोरोले दुबै ‘विद्या’ पढोस् – अंग्रेजी पनि र संस्कृत पनि । छोरोले एकैचोटी दुई-दुईतर्फको पढाइ थाम्नसक्छ भन्नेमा अचम्मसँग विश्वस्त हुनुहुन्थ्यो मेरा पिताजी । माध्यमिक विद्यालयस्तरमा पढ्दासम्म एस.एल.सी. पास हुँदाको बेलासम्म उहाँको विश्वासलाई मैले कायम राखेको पनि थिएँ । पछिचाहिँ मेरो पढाइ पहिलेजस्तो रहेन ।
मेरा दाजु हुतमणिकोबारेमा कुरा गर्दा उहाँ प्रविणता प्रमाणपत्र (आई.ए.) तहको पढाइ सक्दानसक्दै गाउँको प्राथमिक विद्यालयमा शिक्षक भएर बस्नु परेको थियो । मलाई के लाग्थ्यो भने परिस्थितिले उहाँमाथि ठूलो अन्याय गरेको थियो ।
पिताजीका तीनवटी श्रीमतीतर्फका तीन परिवार भएकाले सबै एकै ठाउँमा बस्न सम्भव थिएन । छुट्टाभिन्न हुँदाखेरीमा एक त हामी कान्छीतर्फका सन्तान भएकाले साना थियौं; जेठी र माइली आमातर्फका दाजुहरु त जागिरे भएकाले नियमित आम्दानीको बाटो थियो -यदि पिताजी नहुने होभने हाम्रो त बिचल्ली नै हुन्थ्यो; अनि यसका अतिरिक्त उहाँहरुबाट पिताजीको जीवन-दर्शनप्रति द्रोह गरिएकालेपनि स्वभावतः पिताजी हामीसँग बस्नुभएको थियो । उमेरमा अतिनै पौरखी भएतापनि पिताजीको वृद्धावस्थालाई विचार गर्दा मेरो दाजुले घर-व्यवहार सम्हाल्नु परेको थियो ।
दाई १८ वर्ष पुग्दानपुग्दै गृहस्थीले पुरै किच्यो र महान् सम्भावना बोकेको एउटा युवा त्यत्तिकै कुण्ठित भयो । जसरी मलाई अवसर मिल्यो त्यो अवसर मेरो दाईलाई मिलेको भए आज म जे छु त्योभन्दा धेरै उपलब्धि मेरो दाजुले हासिल गर्नुहुनेथियो भन्नेमा म सधैं विश्वस्त छु । उहाँको प्रतिभाको समुचित उपयोग हुन नसकेकोमा मलाई सदा खेद छ । मेरा पिताजीको महान् प्रतिभा एवं विराट विद्वत्ता र योगदान पनि यो समाजले जति चिन्नुपर्ने हो त्यति चिन्न सकेन । पिताजी घर-व्यवहारमा यति धेरै अल्मलिनु पर्योकि उहाँभन्दा निकै निम्न प्रतिभा र योग्यता भएकाहरु नक्कली मुजुर भएर नाचिरहन पाइरहे । मेरा जेठाबाठा दाजुहरुले पिताजीलाई सघाइदिएकाभए स्थिति अर्कै हुनेथियो भन्ने मेरो मनमा शैशवावस्था देखिनै परेको छ । अनेक पक्षबाट पिताजीलाई काँध थाप्न पाएकोमा मलाई सन्तोष छ ।
मेरो दाजुले आफ्नो इच्छा-आकांक्षालाई त्यसै गुट्मुट्याएर घर-व्यवहारमा अल्मलिनु पर्यो तर उहाँको हार्दिक इच्छा आफ्नो पि्रय भाइलाईचाहिँ जसरीपनि उन्नति-प्रगतिको शिखरमा पुर् याउनेमा दृढ थियो । त्यसकारण शिशु अवस्थाबाटनै उहाँले मेरो पढाइ-लेखाइमा विशेष ध्यान पुर्याउनुभयो । मेरा दिदीहरु -भारती र बिस्नु-सँगपनि मैले केही पढेको त हुँदोहुँ तर अहिले मलाई सम्झना छैन । आमाको सम्बन्धमा मैले आरम्भमै भनिसकेको छु एक अक्षर पनि नचिन्नु भएकी भनेर । तर आफू नपढेपनि छोरा-छोरीलाई पढाउने कुरामा आमा यति धेरै ध्यान पुर् याउनु हुन्थ्योकि बर्णन गरिसाध्य छैन । ज्ञान-आर्जननिमित्त एकदमै उपयुक्त वातावरण भएको घर थियो हाम्रो ।
मलाई परिवारका दुई पुस्ताले आ-आफ्नै तवरले प्रशिक्षित गर्नु भएको थियो । मेरा पिताजी र मेरा दाई दुईजनासँगबाट मैले बिल्कुलै फरक-फरक विधाहरु पढ्न पाएको थिएँ । उहाँहरु दुबैसँग आफ्नै-आफ्नै सपना थिए र ती अधूरा-अपूरा सपनालाई विपनामा साकार गर्न उहाँहरु दत्तचित्त हुनुहुन्थ्यो । ती दुबै कल्पनामा ऐक्यतापनि थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s


%d bloggers like this: