पत्रकारिता विरुद्ध पत्रकारितावाद

पत्रकारिता विरुद्ध पत्रकारितावाद
– निर्मलमणि अधिकारी
पत्रकारिता र पत्रकारितावाद एउकै कुरा होइनन् ।

पत्रकारिता एक प्रकारको आमसंचार हो जसमा समाचार संकलन एवं लेखन सम्पादन र उत्पादन गरी आमसाचारमाध्यममार्फत् वितरण गरिन्छ । आधुनिक मानव समाजमा यो एक प्रकारको पेसा व्यवसाय एवं उद्योग हो । जनताका पक्षमा योगदान गरी जनविश्वास कमाएर राज्यको चौथो अंग भनेर प्रतिष्ठा कमाएको सामाजिक संस्था पनि हो पत्रकारिता । पत्रकारिता विद्यालय महाविद्यालय विश्वविद्यालयजस्ता शैक्षिक संस्थानमा अध्ययन गरिने ज्ञानको एक आधुनिक विधा पनि हो ।
पत्रकारिताको महत्वको बखान जति नै गरे पनि केचाहिँ भुल्नु हुँदैन भने यो समाजको एक अंग हो र यो समाजका लागि हो । स्पष्टतः भन्नु पर्दा समाज प्राथमिक हो र पत्रकारिता त्यसका विभिन्न अवयवमध्ये एक अवयव मात्र हो ।
तर कतिपय व्यक्तिहरु पत्रकारितालाई नै प्राथमिक मान्छन् र पत्रकारिता पत्रकारिताका लागि (Journalism for just journalism’s sake) हो झैँ गर्छन् । यिनीहरुमध्ये पनि अतिवादीहरुको व्यवहार र अभिव्यक्ति हेर्दा त पत्रकारिता समाजका लागि हुनु पर्नेमा समाज पत्रकारिताका लागि (Society for journalism instead of journalism for society) भन्ठानेको देखिन्छ । यस्तो सोच राख्नेहरुले पत्रकार हुनासाथ विशेषाधिकारै प्राप्त भएकोजस्तो ठान्छन् र हरेक कुरामा पत्रकारिताक्षेत्र वा पत्रकारहरुलाई विशेष सुविधा दिनुपर्छ भन्ने माग गर्छन् । यसरी आत्मकेन्द्रित सोच राख्नेहरुका लागि पत्रकारिता पेसा व्यवसाय एवं उद्योग सामाजिक संस्था तथा ज्ञानको विधा भन्दा पनि कुनै राजनीतिक सिद्धान्तजस्तो सिद्धान्त वा वाद (Ideology) बन्न पुग्छ ।
पत्रकारितालाई पेसा व्यवसाय एवं उद्योग सामाजिक संस्था तथा ज्ञानको विधाको रुपमा समाजका सबै पक्षले सहजै स्वीकार्छन् । यसको सही प्रयोगले समाजका लागि विशिष्ट योगदान पुर्याउँछ भन्नेमा पनि मतैक्य नै छ । तर पत्रकारितावाद (Journalism-as-ideology) भने त्यस्तो सर्वस्वीकार्य छैन बरु यसलाई खराब कुरा मानिन्छ । व्यवहार र अभिव्यक्तिमार्फत् पत्रकारितावादको लक्षण देखाउनेहरु स्वयम् पनि पत्रकारितावाद भन्ने नामाकरणसँग तसर्िन्छन् ।
पत्रकारितावादले पत्रकारिताको स्वस्थ विकास गर्दैन । यसले त बरु पत्रकारिताका नाममा सीमित व्यक्ति वा समूहले नेतृत्वको दाबी गर्ने तथा नेतृत्वको वैधानिकताको आडमा सीमित व्यक्तिहरुले आफ्नो फाइदाका लागि सरकार वा अन्य संस्थाहरुसँग सौदाबाजी बार्गेनिङ् गर्ने जस्तो स्थिति पैदा हुन्छ । पत्रकारितावादको चरम विकृत प्रवृत्तिमा अनैतिक तथा गैरकानुनी कामसमेत गर्ने तर पत्रकार भएको कारणले आफूले उन्मुक्ति पाउनु पर्छ भनी दाबी गर्ने अवस्था हुन्छ ।
नेपालको सन्दर्भमा कुरा गर्नुपर्दा पत्रकारितावादका स्पष्ट लक्षणहरु देखा परिसकेका छन् । पत्रकार हुनासाथ विशेषाधिकारै प्राप्त भएकोजस्तो ठान्ने र हरेक कुरामा पत्रकारिताक्षेत्र वा पत्रकारहरुलाई विशेष सुविधा दिनुपर्छ भन्ने माग गर्ने र अनैतिक तथा गैरकानुनी काम गरे पनि पत्रकार भएको भन्दै उन्मुक्ति पाउनु पर्छ भनी दाबी गर्ने प्रवृत्ति यहाँ संस्थागत भइरहेको देख्न सकिन्छ । यो यस्तो विकृति हो जसको निराकरण समयमै गर्न नसक्दा स्वयम् पत्रकारिताक्षेत्रकै लागि घातक हुन्छ । पत्रकारिताको स्वस्थ विकासका लागि यसलाई पेसा व्यवसाय एवं उद्योग सामाजिक संस्था तथा ज्ञानको विधाको रुपमा प्रतिष्ठित गराउनमै जोड दिनु पर्छ ।
—- आमसंचार र पत्रकारिता (पाँचौँ संस्करण) बाट ।
पहिलो संस्करण वि सं २०६० मा प्रकाशित आमसंचार र पत्रकारिताको पाँचौँ संस्करण चाँडै नै प्रकाशन हुँदैछ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s


%d bloggers like this: