हेलो सर, हिप हिप हुर्रे

हेलो सर, हिप हिप हुर्रे
निर्मलमणि अधिकारी
विजयोत्सवमा वा उत्साह वर्धनको निमित्त चिच्याउने, कराउने वा अनेक किसिमका नारा लगाउने चलन उहिलेपनि थियो र अहिलेपनि छ । अचेल संसारमा यसरी प्रचलित नाराहरूमध्येमा शायद सबैभन्दा प्रचलित नारा “हिप हिप हुर्रेनै हो । यसको मूल संस्कृत भाषा एवम् आर्य हिन्दू सभ्यता रहेको तथ्यतर्फअनुसन्धाता विद्वानहरूको दृष्टि पुगेको छ ।

भनिन्छकि उहिल्यै रंगभूमिमा खेलकुद आदि प्रतियोगित हुँदा होस्, वा रणभूमिमा लडाइँ चल्दा होस्, उत्साहपूर्वक “शिव शिव हरे” को घोष गरिन्थ्यो । यही “शिव शिव हरे” भाषा तथा संस्कृतिको भेदमा कालान्तरमा “हिप हिप हुर्रेमा परिणत भएको हो । जसरी संस्कृतको ‘सप्ताह’ फारसी भाषामा पुग्दा ‘हप्ताह’ (वा ‘हप्ता’) बन्न पुग्यो त्यसरीनै “शिव शिव हरे” लाई “हिप हिप हुर्रेभन्नु कुनै अनौठो भएन ।
आधुनिक विश्व मानव समुदायको निमित्त आर्य वैदिक संस्कृति एवम् संस्कृत भाषाको योगदान के-कस्तो छ भन्नेबारेमा अध्ययन गर्न लागिपरेका विद्वानहरूले पत्ता लगाएका तथ्यहरू रोचक त छन् नै, साथै अद्भूत पनि छन् । ती सबैको चर्चा एकै लेखमा गरेर के साध्य ! तिब्बत, चीन, थाइल्याण्ड, जापान देखिलिएर कम्बोडिया, लाओस, मलेशिया, इण्डोनेशिया, फिलिपिन्स सम्मका इतिहास, सभ्यता एवं संस्कृतिमा आर्य वैदिक संस्कृति एवम् संस्कृत भाषाको योगदान पुगेको छ । अनि, अस्ट्रेलिया, स्पेन, ग्वाटेमाला, पेरु, अमेरिका, ब्रिटेन, जर्मनीसम्म जहाँ-कहिँपनि प्राचीन आर्य वैदिक संस्कृतिको भग्नावशेष भेटिने तथ्यपनि छँदैछ । इरान, इराक, सउदी अरब, इजिप्ट, इथियोपियादेखि लिएर ग्रीस, रुस, साइप्रस, इटाली, त्रिनिडाड-टोबेगो, मरिशश, फिजी, अजरबैजान, बाल्टिकक्षेत्र आदि-इत्यादि जुन-कुनै भूभागपनि आर्य वैदिक संस्कृतिको परिधिबाट बाहिर छैनन् । यो एक आर्य ब्राह्मणको आत्मरति मात्र ठान्ने मूर्खता कसैले नगरुन् । समयक्रममा यी सब प्रमाणित हुँदै जानेनै छन् भन्नेमा हामी विश्वस्त छौं । जेहोस्, यहाँचाहिँ हामी तीमध्येका केही तथ्यहरूका सर्न्दर्भमा मात्र भएपनि चर्चा गरिएको हो ।
एक भाषाको शब्द अर्को भाषामा पुग्दा कसरी पुग्ने हो त्यसको केही टुंगो हुँदैन । कतिपय अवस्थामा त कालान्तरमा मूल-शब्दसँग नयाँ शब्दको नाता खुट्ट्याउन समेत गाह्रो पर्ने भइदिन्छ । तर भाषाशास्त्री एवं नृशास्त्रीहरूको तीक्ष्ण दृष्टिले धेरै कुरा पत्ता लगाइछाडेको पनि छ । रमाइलो लाग्छ थाहा पाउँदा (हिजो आज देखभेटमा वा दूरभाष (फोन) मा बोल्दा सर्वप्रथम बोलिने शब्द ‘हेलो’ संस्कृत मूलको पो रहेछ । विद्वानहरूले यसको पुष्टिकालागि विभिन्न उदाहरणहरू दिएका छन् । जस्तै, अभिज्ञान शाकुन्तल नाटकबाटै लिऊँ एउटा उदाहरण । दुष्यन्तले शकुन्तलालाई बोलाउँदा भनेको पाइन्छ -‘हला शकुन्तले !’ तथा विदूषकलाई बोलाउँछन् -‘हल विदूषक !’ त्यही प्राचीन अभिवादननै आजको विश्वव्यापी अभिवादन ‘हेलो’ बन्न पुगेको हो भन्ने विद्वानहरूको मान्यता रहेको छ ।
‘श्री’ शब्द वैदिक कालदेखिनै प्रसिद्ध एवम् लोकप्रिय रहिआएको छ । शिष्टाचारपूर्वक कुनैपनि व्यक्तिका नामको अघिल्तिर ‘श्री’ राख्नु हाम्रो सभ्यता हो । यो शब्द पवित्रता एवम् श्रेष्ठताको द्योतक भएको हामीलाई थाहा छ । यही ‘श्री’ शब्दबाट अंग्रेजी भाषाको ‘सर’ जन्मेको हो भन्ने निष्कर्षा विभिन्न विद्वान भाषाशास्त्रीहरू पुगेका छन् । अंग्रेज परम्परामा सर शब्दको अर्थ हाम्रो ‘श्री’को अर्थसँग मिल्दो भएकोपनि यहीँनेर स्मरणीय छ । संस्कृतको ‘श्री’ अंग्रेजीको ‘सर’ शब्दको मूल हुनुले गर्ने संकेतहरू महत्वपूर्वक छन् भन्ने कतिपय विद्वानहरूको मत रहेको छ । त्यसो त, संस्कृत शब्द ‘मातर’ (आमा) र अंग्रेजी शब्द ‘मदर’, ‘पितर’ (बाबु) र ‘फादर’, ‘भ्रातर’ (दाजु/भाइ) र ‘ब्रदर’ आदिजस्ता सयौं वा हजारौं उदाहरणहरू उल्लेख गर्न सकिन्छ ।
अरु त अरु, अरब देशहरूमा प्रचलित मुद्रा ‘दीनार’को सम्बन्ध प्राचीन मिथिलासँग जोड्नेहरू समेत छन् । अध्यात्म रामायण, बालकाण्डको छैटौं सर्गबाट उद्धृत श्लोक (दीनाराणां कोटिशन्त रथानामयुन्त तथा ।। अश्वानां नियुतं प्रादाद्गजानां षट्शतं तथा ।। पत्तीनां लक्षमेकं तु दासीनां त्रिशतं ददौ ।।) को आधारमा दाबी गरिएको छकि मिथिलानरेश जनकको मुद्राको नाम ‘दीनार’ रहेको थियो । यस्ता दाबीलाई सहजै नकार्नु हुँदैन, -कम्तीमा पनि यसखालका दाबीलाई अप्रमाणित भन्ने कुनै अर्को बलियो आधार नभइन्जेलसम्म त नकार्न मिल्दैन ।
पन्ध्रौं शताब्दीमा अमेरिका पुग्दा कोलम्बस भारतनै पुगेको भ्रममा पर्नुको पछाडी के कारणहरू थिए होलान् – के त्यो उसको अज्ञानता मात्र हुँदो हो त – होइन, बरु तत्कालीन अमेरिकाली सभ्यताको भारतीय सभ्यतासँगको समरुपताले कोलम्बस र साथीहरूलाई झुक्याएको हुनसक्छ । अमेरिकी महाद्वीपमा हजारौं वर्षघि विकसित मय, इन्का, अजटेक सभ्यताहरू भारतवर्षीय सभ्यताकै अंग-उपांग थिएकि भन्नेतर्फपो यसले इंगित गर्छ । विस्तृत अनुसन्धान, उत्खनन्, अन्वेषण नगरी केही ठोकुवा गरिहाल्नु बुद्धिमानी निश्चयनै हुनेछैन । त्यहाँको मय सभ्यताको रामायण तथा महाभारत जस्ता ग्रन्थमा वणिर्त ‘मय’ नामका मायावी एवम् पौरखी पात्रसँग केही सम्बन्ध छकि भनेर अनुसन्धान गरिहेर्नु बुद्धिमानी हुनेछ ।

One Response to “हेलो सर, हिप हिप हुर्रे”

  1. Indra Dhoj Kshetri Says:

    I felt very happy to read this piece. In fact, Nirmal Sir is trying his best to unravel the impacts of oriental civilization in other civilizations. There is no doubt that ours is one of the oldest civilizations. Hindu as Sanatan religion, which unlike others i.e. Islam or Christianity which were propagated by Muhammad or Christ, developed on its own over thousands of years. We need to keep digging out such facts and evidences to revive and regain our civilizational pride and superiority over lately influencing Eurocentric or Americanized approach to civilizations. Nirmal Sir’s efforts are really commendable. Look forward to getting chance to read more pieces like this.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s


%d bloggers like this: