कुनचाहिँ रोज्ने ?

धर्म मान्ने कि नमान्ने भन्ने विवाद आजको मात्र विवाद होइन । शदियौं अगाडी देखि नै यस संबन्धमा वाद विवाद प्रतिवाद चल्दै आइरहेको हो ।

नास्तिकहरु जे सुकै भनिरहेका होऊन् आस्तिकहरुचाहिँ सदा विश्वासी छन् कि फगत् ईश्वरीय तत्व मात्र सदा सुखदायी छ । परमात्मा मात्र जीवनमा पनि साथ हुनुहुन्छ र मृत्युमा पनि साथ हुनुहुन्छ । अरु कोही यस्ता छैनन् जोसँग एक पटक वियोग नहोस् । भौतिक सुख क्षणिक् हो भने आध्यात्मिक सुख चाहिँ अक्षय । धर्म वा रेलिजन वा मजहब जे भनेर होस् ईश्वरीय सत्ताप्रतिको आफ्नो आस्थालाई मान्छेले एउटा नाम दिएको छ । शुरुमा धर्म-तत्व साझा थियो अखण्डित थियो एउटै थियो र धर्म भनेपछि पुगिहाल्थ्यो । तर आज पुग्दैन । कुन धर्म यस्तो सवाल आउँछ र औद्योगिक ट्रेडमार्क जस्तै धार्मिक ट्रेडमार्क चाहिने स्थिति छ । हिन्दू धर्म बौद्ध धर्म जैन धर्म सिख धर्म बोन धर्म यहुदी धर्म इस्लाम धर्म इसाई कि्रश्चियन धर्म शिन्तो धर्म आदि-इत्यादि । यी त धार्मिक ट्रेडमार्क हुन् । यदि हामी ट्रेडमार्कको स्तरमा मात्र नअड्कने हो भने वास्तविक धर्म-तत्व एउटै हो उही नै हो । सृष्टिको उषाकालदेखि मानवले स्वतः आत्मसात् गरेको धर्मको उत्तराधिकार बोकेको धार्मिक ट्रेडमार्क चाहिँ अहिले आएर सनातन धर्म वा हिन्दू धर्म भएको छ । सनातन धर्मको पहिचानलाई सिध्याउन चाहनेहरुले यसका विरुद्ध कैयौं प्रहार गर्दै आएका छन् । पौराणिक कालमा हिरण्यकशिपु आदिले र ऐतिहासिक कालमा पनि अनेकौं आततायीहरुले यसलाई सिध्याउन सकेजति प्रयास गरेका थिए र अहिले पनि विविध कोणबाट सनातन धर्म माथि आक्रमण भइरहेका छन् । जे होस् तर यो धर्म समाप्त हुने छैन । यो त सृष्टिले स्वतः आत्मसात् गरेको शाश्वत तत्व हो । वास्तविक धर्म-तत्वको विजय कसैले रोक्न सक्दैन ।
हो धर्मको नाम लिएर पाखण्डी ढोँगी रुढीवादी तथा बदमासहरुले राज गरेको स्थिति पनि नभएको होइन । यस्ताहरुलाई चिनेर गलहत्याउनु पर्छ । तर धर्मको नाम लिएर कुनै व्यक्ति वा समूहले गलत काम गर्यो भने पुराका पुरा धर्मलाई नै गाली गर्ने प्रवृत्ति चाहिँ कदापि ठीक होइन । दोष धर्मको होइन । धर्म त खराब हुनै सक्दैन । कसैले धर्मको दुरुपयोग गर्यो भने त्यसमा धर्मको के दोष दोषी त दुरुपयोग गर्नेवाला व्यक्ति पो हुन्छ । यो वा त्यो नानाभाँति कारण देखाउँदै धर्ममाथि आक्षेप गर्नु निकृष्ट एवम् अधम् कार्य हो । धर्मबाटै मानिसले वास्तविक सुख शान्ति आनन्द प्राप्त गर्न सक्छ । धर्मको विरोधमा लाग्नु त खलचरित्र हो ।
धर्म-तत्व एउटै हुँदाहुँदैपनि यत्राविधि धार्मिक सम्प्रदाय किन जन्मिए भन्ने सवाल महत्वपूर्ण सवाल हो । यी विविध धर्महरु सनातन धर्मबाट नै जन्मेका हुन् । देश काल परिस्थिति अनुरुपका लौकिक व्यवहार कालान्तरमा धार्मिक मान्यतामा परिणत भएका देखिन्छ । धर्म के हो भन्नेमा रनभुल्ल परेकाहरुले मुण्ड मुण्ड बुद्धि अनुसार व्यवहारीकृत गर्दै जाँदा एउटै मूलबाट भंगालाहरु छुट्टिएझैं सनातन धर्मबाट विभिन्न धार्मिक सम्प्रदायहरु छुट्टिए । अलि अलि गर्दै जाँदा पछि धेरै नै फरक आयो अनि मेरै चाहिँ ठीक हो भनेर झगडिन थाले । प्रष्टै छ कि कूपमण्डुकताले अन्ध कट्टरता जन्मायो । त्यस्ताहरुले धर्मका निहुँमा नरसंहार मच्चाए पनि । भ्रम फैलिएको स्थिति छ कि धर्म के हो के हो । तर यथार्थ कुरा यही हो कि सनातन धर्म नै सबै धर्मको मूल हो । असली धर्म-तत्व एउटै हो । विभिन्न धार्मिक सम्प्रदायबीचमा मेलमिलापका यथेष्ट ठाउँ छन् ।
सृष्टिको आरम्भमा मानवले स्वतः आत्मसात् गरेको धर्म आज शुद्ध स्वरुपमा उसरी नै हामीले आत्मसात् गरिरहेका छौं त उत्तर सकारात्मक छैन तर पूर्णतया निराश बन्नुपर्ने स्थिति पनि छैन । हामीले पुनः सत्ययुगका आदर्श आत्मसात् गर्न नसक्ने कुरै छैन । तर त्यसका निमित्त धर्म-तत्वको सही बाटो पहिल्याउनु जरुरी छ । धर्म-तत्वको सही बाटो पहिल्याउन पहिला त धार्मिक ट्रेडमार्कहरु मध्येको पनि बढी ठीकचाहिँलाई पहिल्याएर त्यसमा लाग्नु पर्यो नि त । वैदिक दर्शनद्वारा दिग्दर्शित हिन्दूत्व नै त्यस्तो ठीक बाटो हो ।
हिन्दू दर्शन मुक्तिको बाटो देखाउँछ । हाम्रो लक्ष्य के त मुक्ति । तर अरु दर्शन उद्धारको मात्रै कुरा गर्छन् । चाहे बाइबल पढ्नोस् या कुरान पढ्नोस् त्यहाँ तपाईंका उद्धारका कुरा मात्र छन् । तपाईं पापमय हुनुहुन्छ अरे र त्यो पापबाट उद्धार भएपछि परमपिताले प्रमोदवन तथा अल्लाहले जन्नत दिनुहुन्छ । तर यता हिन्दू दर्शनको बाटोमा उद्धार त सामान्य कुरा हो प्राथमिक स्तरको – यहाँ त मुक्तिको कुरा छ । हिन्दू दर्शन उद्धारमा मात्र सीमित छैन यो त मानव मुक्तिको दर्शन हो । कुरा त कम्युनिष्टहरु पनि मुक्तिकै गर्छन् तर यो दर्शनबाट मानव-मुक्ति हुनेवाला छैन । यसबाट मुक्तिको आशा राख्नु व्यर्थ छ । मानव-मुक्तिका लागि सही दर्शन वेद उपनिषद् गीता आदिद्वारा दिग्दर्शित दर्शन नै हो । मैले पश्चिम होइन पूर्वतिर भनेर सही बाटो देखाउन नै चाहेको हूँ ।
जन्मेपछि मृत्यु अवश्यम्भावी छ । तर त्यो मृत्यु त्यतिबेला सार्थक हुन्छ – यदि हामी सार्थक जीवन बिताएर आएका छौं भने । जीवन सार्थक कसरी पार्ने त बडो महत्वको सवाल छ । जन्मनु भन्दा अघि म कहाँ थिएँ किन मेरो जन्म भयो मरेपछि म जाने कहाँ हो मेरो हेतु के हो यी सबै सवालका जवाफ हाम्रा महान् पुर्खाहरुले दिएका छन् । तत्वज्ञानले भरिएका छन् हाम्रा धर्मशास्त्र । तर समयको प्रवाहमा धेरै कुरा खण्डित भएका र कति कुरा मनखुशी थपिएका पनि छन् । हामीले धर्मशास्त्रबाट यथार्थ कुरा लिन सक्नु पर्दछ । यथार्थ कुरा चालेर लिनलाई ठूलै खुबी चाहिन्छ नि ! आपत् यहीँ त छ । आफूसँग खुबी भए राम्रै हुन्छ नत्र खुबी भएको को छ उही भएठाउँमा जानै पर् यो । तर जगत् छ नाटक घर । आफू हो कालनेमी तर अभिनय गरिरहेछ ऋषिको । दुष्टले सन्तको अभिनय गर्दैछ त कसरी पत्तो पाउने हेर्दा उस्तै छ हाउभाउ ठ्याक्क मिल्छ । भौंतारिँदा भौंतारिँदै के के हुने हो के के । परन्तु बाटो हुँदैनभएको कहाँ हो र बाटो चिन्नु र त्यसलाई अवलम्बन गर्नु त मानवको काम हो । हामीले आफूलाई सत्यपथमा लगाउनु पर्छ भन्ने मेरो आग्रह छ । मैले पश्चिम होइन पूर्वतिर भनेर अँध्यारो होइन उज्यालोतिर भनेर सत्यपथ भनेर अनि भोगवाद होइन योगवाद भनेर मानव समाजका निमित्त सर्वोत्तम बाटो दिग्दर्शित गर्न चाहेको हूँ ।
पहिला त निश्चित गर्नु पर् यो कि हाम्रो लक्ष्य के हो लक्ष्य निर्धारणको तह देखि नै धेरै कुरा निर्धारित हुन्छन् । आध्यात्मिक मुक्तिलाई लक्ष्य जसले बनायो उसले जीवनको बाजी जित्यो । तर समस्याका लर्कन छन् । पेट भोको छ आङ नाङ्गो छ बस्ने थात-थलो छैन यो भए त्यो छैन अनि त्यो भए यो छैन । यता उता कता भनेर अल्मलिँदा-अल्मलिँदैमा भौंतारिँदैमा हुरुक्क प्राण जान्छ गइरहेकै छ । यो संसारमा जति पनि भौतिक सुख-सुविधाहरु छन् तिनीहरुलाई प्राप्त नगरुन्जेल ती साह्रै लोभलाग्दा हुन्छन् आकर्षक हुन्छन् । परन्तु उही चीज सधैंका लागि आफ्नै स्वामित्वमा रहेपछि तिन्मा उत्तिको आकर्षण रहँदैन । साह्रै रहरले किनेको लुगा थोत्रिएपछि फालिन्छ । तर ईश्वरीय प्रेम जति पुरानो भएतापनि अपि्रय हुँदैन बासी हुँदैन आकर्षणहीन हुँदैन र कदापि थोत्रिँदैन । यहीँनेर मलाई स्मरण भइरहेछ – योग हो परमात्मासँगको मिलन र भोग हो भौतिकताको खाल्डोमा पतन । हामीले भोगवाद त्यागेर योगवाद अवलम्बन गर्नु नै मानवका निमित्त सुहाउँदो कार्य हो ।
योगवाद अवलम्बन गर्नु भन्नाको मतलब जोगी बन्नु हो भनेर कसैले भन्छ भने उसको अल्पबुद्धिप्रति टीठ मान्नुपर्ने हुन्छ । धर्म मान्ने भनेर संसारको आफ्नो कर्तव्य छाड्ने कुरा हाम्रो निमित्त अस्वीकार्य छ । धर्मले त कर्तव्य पालन गर्न लगाउँछ । अहिले संसार यति दुःखमय किन भइरहेछ किनकि मानव समाजले वास्तविक धर्म-तत्व आत्मसात् गरिरहेको छैन । यदि धर्म-तत्व आत्मसात् गर्ने हो भने साराका सारा समस्याहरु सुल्झिनेछ भन्नेमा म पूर्ण विश्वस्त छु । हृदय उज्यालिएको मान्छेको दुःख समूल नष्ट हुन्छ । आध्यात्मिकताले मान्छेलाई सदा आनन्दमय बनाउँछ । आध्यात्मिकता पलायन होइन । आध्यात्मिकता, धार्मिकता त मानवताको औचित्य प्रमाणित गर्दछ ।
धर्म मान्दै नमान्ने जमात आफ्नो ठाउँमा छँदैछ । धर्म मान्दैछौं भन्ठान्नेहरुमध्ये पनि अधिकांश धार्मिक सम्प्रदायगत ट्रेडमार्कमा रल्लिइरहेका छन् । अनि एउटा सम्प्रदाय विशेषको कुरा गर्दा पनि आ-आफ्नै तालका रितिमा अल्मलिएका देखिन्छ । अब त्यसरी नरल्लिऔं र सही बाटोमा लागौं भन्ने हाम्रो आह्वान हो । सन्दर्भलाई केन्द्रिकृत गर्दाखेरीमा सवाल कुन चाहिँ रोज्ने भन्ने हो । धर्म रोज्ने कि अधर्म सत्य रोज्ने कि असत्य उज्यालो रोज्ने कि अँध्यारो जीवन रोज्ने कि मृत्यु क्षणिक सुख रोज्ने कि अक्षय सुख योगवाद रोज्ने कि भोगवाद पूर्व रोज्ने कि पश्चिम निश्चित रुपमा हामी धर्मका पक्षधर हौं । हाम्रो रोजाइ असत्य होइन सत्य हो अँध्यारो होइन उज्यालो हो मृत्यु होइन जीवन हो भोगवाद होइन योगवाद हो क्षणिक सुख होइन अक्षय सुख हो र पश्चिम होइन पूर्व हो ।
राजनीति र धर्मका बीचमा कस्तो सम्बन्ध हुनुपर्छ भन्ने बारेमा पनि हामी स्पष्ट हुनु पर्दछ । धर्मलाई राजनीतिमा मिसाउने तथा राजनीतिलाई धर्ममा मिसाउने कुरा हामीलाई मन पर्दैन तर राजनीतिलाई धर्मले निर्देशित गर्नैपर्छ भन्नेमा हामी प्रष्ट छौं । राजनीतिले धर्मलाई पछ्याउनु पर्छ तर धर्मले राजनीतिको पछि लाग्ने होइन । अहिले राजनीति यति बिध्न विकृत एवम् घिनलाग्दो भएकै राजनीतिज्ञहरुले धर्म-तत्व आत्मसात् नगरेको हुनाले हो । यदि राजनीतिलाई साँच्चै नै लोककल्याणकारी बनाउने हो भने अब धार्मिक प्रवृत्तिको नेतृत्व नै एक मात्र विकल्प हो । हुन त यसो भन्नासाथ ूलौ साम्प्रदायिकता भयो ………। धार्मिक कलह हुने भयो ………। ू भन्ने जस्ता श्याल हुइयाँ मच्चाउन थाल्नेछन् थुप्रैले । तर यो सब धर्म-तत्व नबुझ्ने मूर्खहरुको हल्ला मात्र हो । धार्मिक प्रवृत्तिको नेतृत्व भन्नुको अर्थ कुनै सम्प्रदाय विशेषको हालिमुहाली होइन । भगवान् श्रीराम पृथु जनक चाणक्य तथा राजा महीन्द्र मल्ल जस्ता शासक चाहनु र रामराज्य तथा सत्ययुग जस्तो प्रणाली रोज्नुको अर्थ बुझ्न नसक्ने अल्पबुद्धिहरु वा बुझेर पनि त्यस विरुद्ध लाग्ने खलपात्रहरु नै त्यस्तो हल्ला मच्चाउनमा रमाउँछन् । निशाचरहरुलाई उज्यालो मन नपर्नु स्वाभाविक नै हो पनि । तर हामी त सत्यका पक्षधर हौं । त्यसो हुँदा हामीले रामराज्य तथा सत्ययुगको पक्ष लिनु नै हाम्रो निमित्त स्वाभाविक कार्य हो । सत्य अनादिकाल देखि छँदैछ र अनन्तकाल सम्म रहनेछ । अनि सत्य हिजो पनि सत्य थियो आज पनि सत्य छ र भोली पनि सत्य नै रहनेछ । सत्य नै धर्म हो । सत्यम् शिवम् सुन्दरम् हो धर्म । धर्मबाट विमुख कुनै पनि नीति अस्वीकार्य छ । धर्मबाट विमुख राजनीति पनि अस्वीकार्य छ । भौतिक उन्नति पनि गर्नुपर्छ आध्यात्मिक उन्नति पनि गर्नुपर्छ । यहाँ केही मान्छेले अर्काको भाग समेत हडप्ने र धेरै मान्छेहरु चाहिँ भोकै रहने नाङ्गै रहने जुन स्थिति छ त्यसलाई हटाउन र वास्तवमै कल्याणकारी प्रणालीका निमित्त धर्म निर्देशित राजनीति आवश्यक छ ।
स्पेसटाइम दैनिकमा आयोदधौम्यको नियमित स्तम्भ पृथक् विचारमा प्रकाशित
स्पेसटाइम दैनिक, वर्ष १ अंक २९७, २०५८ भदौ ९ शनिवार, पेज नं. ६ मा प्रकाशित

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s


%d bloggers like this: