देवताहरु : कति वास्तविक कति काल्पनिक

हिन्दूधर्मावलम्बीहरुले अनेक नाम र रुपका देवीदेवताको पूजा-आराधना गरेको देखिन्छ र हिन्दूका तेत्तिस कोटी देवीदेवता छन् भनिन्छ । तीमध्ये कति वास्तविक हुन् र कति काल्पनिक हुन् ?

– छुट्ट्याउनु सजिलो छैन । वैज्ञानिकतायुक्त धार्मिकता र धार्मिकतायुक्त वैज्ञानिकता- यी दुइटैले परिपूर्ण दृष्टिकोण नभई यथार्थ खुट्ट्याउनु सम्भव छैन ।
कतिपय व्यक्तिहरु जसरी स्वर्ग भन्नासाथ त्यसको अर्थ आकाशमाथिको अन्तरिक्षमा अवस्थित कुनै विशेष लोक भन्ठान्छन् अनि मरेपछि पुण्यात्मा व्यक्ति स्वर्गमा पुगेर त्यहाँ अप्सराहरुका साथमा बसी सम्पूर्ण सुख-सुविधा भोग गर्न पाइन्छ आदिइत्यादि भन्ने गरेका छन् त्यसरी नै देवता भन्नासाथ त्यही स्वर्ग भनाउँदो कुनै अलौकिक स्थानमा रहेका र चमत्कारिक क्षमता भएका व्यक्तिगत-सत्ता-विशेष ठान्दछन् । तर यस किसिमका भनाइले हाम्रो मूल धर्मशास्त्र वेदको वास्तविक आशयलाई क्षयीकरण गराएका छन् । निश्चयनै वैदिक परम्परामा विविध नाम र रुपका ईश्वरीय विभूतिको पूजा आराधना अर्चना उपासना गर्ने प्रेरणा दिइएको छ तर यसका साथसाथै ख्याल राख्नुपर्ने तथ्य के छभने त्यहाँ अनेकतामा एकताको अवधारणालाई विशेष जोड दिइएको छ । अर्थात् सबै ईश्वरीय विभूति एउटै ब्रह्म-तत्वको प्रकटीकरण हुन् । हिन्दू-संस्कृति यसरी ुएकमा अनेकु र अनेकमा एक आत्मसात् गरेको संस्कृति हो ।
अध्ययनबाट हामीलाई ज्ञान हुन्छकि हाम्रा धर्मशास्त्रले देवताहरुको नाममा विभिन्न प्रकारका यज्ञहरुको प्रेरणा दिनुको उद्देश्य तरह-तरहका सानाठूला व्यक्तिगत देवी-देवताहरुको मान्यता प्रचार प्रसार गर्नु थिएन एकै ब्रह्म-तत्व नै यिनीहरुको लक्ष्य हो । वास्तवमा विष्णु शिव गणपति इन्द्र वायु अग्नि आदिइत्यादि नामले एकै परब्रह्म परमेश्वरका विविध गुणहरुका सम्बन्धमा निर्देश गरिएको थियो कालान्तरमा पछि सोही नामका व्यक्ति-विशेषको प्रताप एवं यशका कारण अत्यधिक प्रभावित भएका मानिसहरुले नाम-समानतालाई लिएर यसलाई नै बहुदेववादी अवधारणाका रुपमा बुझे र समय बित्दैजाँदा त्यही धारणालेनै पूर्ण स्थापित विश्वासको रुप ग्रहण गर् यो । तर यथार्थता के होभने यी विभिन्न शक्तिहरुको मूलमा एकै ब्रह्म-तत्व नै स्थित छ । नत्र देवता शब्दको अर्थ सही रुपमा हुँदैन । कर्मकाण्डमा यज्ञको आहुति जुन देवताहरुलाई दिइने विधान छ- त्यसको विवेचना गर्दै मीमांसा-दर्शनमा एक मुख्य कुरा यो भनिएको छकि देवताको अर्थ कुनै दूरवर्ती लोकमा रहेका सूक्ष्म या स्थूल शरीरधारी व्यक्ति विशेष होइन परमात्माका विविध शक्तिहरु तथा जुन पदार्थहरु, जीवहरुमा ती शक्तिको विशेष विकास भएको छ तीप्रति यसको अर्थ लक्षित छ । सूर्य चन्द्र अग्नि इन्द्र वायु आदित्य सोम अश्वनी वरुण प्रजापति गणपति आदि जुन-जुन देवताको उल्लेख वेदमा बारम्बार पाउन सकिन्छ ती एउटै परमात्माका विभिन्न शक्तिहरु नै हुन् ।
पुराणहरुमा देवताका विभिन्न नामहरुलाई कतिपय अवस्थामा वेदमाजस्तै एउटै ब्रह्म-तत्व बुझाउन प्रयोग गरिएको छ र अन्य कतिपय अवस्थामाचाहिँ समान नामका कोही प्रतापी एवं यशस्वी अवतारी व्यक्तित्व सिद्ध महात्मा तथा प्रबुद्ध व्यक्तित्वका सन्दर्भमापनि ती नामहरु उल्लेखित छन् । यसमा कल्पनाशीलताको कमालपनि थपिएको छैन भन्न सकिने स्थिति देखिदैन । कतिपय ऐतिहासिक र कतिपय काल्पनिक समेत रहेका तिनै प्रतापी एवं यशस्वी अवतारी व्यक्तित्व सिद्ध महात्मा तथा प्रबुद्ध व्यक्तित्वहरुलाई समेत ध्यानमा राखेर हिन्दूका तेत्तिसकोटी देवता मानिएको हुनसक्दछ ।
यो समस्त विश्व परमात्माकोनै विराट रुप हो तसर्थ प्रत्येक प्राणी परमेश्वरकोनै अंशरुप हो । तीमध्येमा यदि जहाँ-कहिँपनि कसैमा सामान्यतया जोकोहीमा नपाइने कुनै विशेष गुण या शक्ति देखियो भने त्यसलाई परमात्माको विशेष विभूति मानेर सम्मान गर्ने गरिएको पाइन्छ । विशिष्ट क्षमतावान्लाई सम्मान गरिनु स्वाभाविक नै हो । अर्कातर्फ नवपुस्तालाई शिक्षा प्रदान गर्न आख्यानहरु बनाइनु पनि स्वाभाविकै हो । कतिपय आख्यानका पात्रहरु यदाकदा यति प्रभावशाली भइदिन्छन्कि समाजमा तिनीहरुको छुट्टै अस्तित्वबोध समेत हुनथाल्छ । हाम्रा कतिपय देवी-देवताहरु यस प्रकारले स्थापित भएका पनि होलान् भन्न सकिने स्थिति छ । लोक-कल्याणकारी महान् आत्माहरुको सम्मान गर्नु हिन्दू-समाजमा जीवनशैली नै बनेको छ र हिन्दू-समाज अवतारी व्यक्तित्व सिद्ध महात्मा तथा प्रबुद्ध व्यक्तित्वहरुमा इश्वरीय अंशावतार देख्दछ । अवतारी सिद्ध महात्माहरुका उपदेशहरुलाई अनुशरण गर्दै विभिन्न सम्प्रदायको स्थापना समेत भएको हामी पाउँछौं । हुन त हिन्दू-इतर समाजमा पनि यो कुरा लागू हुन्छ जस्तोकि मोहम्मदलाई ुअल्लाहुको पैगम्बर ठान्नु जीसस क्राइस्टलाई ईश्वर-पुत्र ठान्नु आदि । तिन्का जीवनगाथा गाउने क्रममा कति अतिराजना थपिएका छन् भन्ने पक्ष अध्ययन हुनसकेमा धेरै रहस्यका पर्दा खुल्न सक्छन् । वास्तविकतालाई काल्पनिकताको चास्नीमा डुबाइएको हुनसक्ने तथ्यतर्फ आँखा चिम्लनु अवैज्ञानिक दृष्टिकोण हुन जानेछ । अस्तु ।
स्पेसटाइम दैनिक, वर्ष २ अंक २४४, वि.सं. २०५९ असार २२ शनिवार, पेज नं. ६ मा प्रकाशित
स्पेसटाइम दैनिकमा आयोदधौम्यको नियमित स्तम्भ पृथक् विचारमा प्रकाशित

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s


%d bloggers like this: