वैज्ञानिकतायुक्त धर्म धार्मिकतायुक्त विज्ञान

‘धर्म’ र ‘विज्ञान’बीचको अन्तरसम्बन्ध कस्तो हुन्छ वा हुनु पर्ने हो भन्ने बारेमा धेरै चिन्तन-मनन भइसकेको छ । यो यस्तो विषय हो, जसबारेमा आउँदा दिनहरूमा अझै बढी चर्चा-परिचर्चा हुनेछ । यदि नहुने छाँटकाँट देखिएमा समाजका विद्वत्जनले यस सम्बन्धमा हल्लाखल्ला मच्चाइहाल्नु पर्दछ ।

कुनै युगमा पनि मानवलाई ‘धर्म’ र ‘विज्ञान’को आलोकबाट पर रहन दिनु हुँदैन । यिनका स्वरूप तथा यी दुईबीचको अन्तरसम्बन्ध सर्वसाधारण जनसमुदायलाई बोध भई मानिसले वैज्ञानिकतायुक्त धर्म एवम् धार्मिकतायुक्त विज्ञान अवलम्बन गरेको दिनमा हाम्रो संसारका सबै समस्याहरू समाधान हुनेछन् भन्नेमा म विश्वस्त छु । मानिसले पल-पल वास्ता गर्नु पर्ने, तर त्यतिधेरै चासो दिन नसकेका विषय-वस्तु हुन् ‘धर्म’ र ‘विज्ञान’ ।
म कुनै नौलो कुरा गरिरहेको छैनँ र म भन्दा अघिका पनि प्रायः विद्वानहरूले यी दुईको संयोजनका लागि जोड दिँदै आएका छन्; तथापि नदीका दुई किनारा कदापि नभेटिएजस्तै धर्म र विज्ञानको पनि मिलन-विन्दु हुनै सक्दैन भन्ने सोच्नेहरू यत्र-तत्र पाइन्छन् । आध्यात्मिकता र वैज्ञानिकता एकदमै विपरित ध्रुवमा छन् भन्छन् कतिपय मानिसहरू । सा“च्चै अधिकाधिक मानिसहरू धर्म र विज्ञान एक-आपसमा विकर्षित हुने विषय-वस्तु ठान्छन् । यस्तो परिवेशमा हामीमध्ये पनि धेरैलाई उही भ्रमले गाँज्नु आर्श्चर्यको कुरो होइन । तर यस्तो भ्रमलाई निवारण गर्नु आवश्यक छ । कम्तीमा पनि मान्छेहरूलाई झक्झक्याइ रहनु जरुरी छ कि ‘धर्म’ र ‘विज्ञान’लाई परस्पर विरोधी भन्ठान्ने तिम्रो सोच गलत छ ।
धार्मिकता र वैज्ञानिकता, दुबैको लक्ष्य सत्य उद्घाटन गर्नु नै हो । ‘धर्म’ र ‘विज्ञान’ प्रक्रियागत रूपमा कसरी फरक छन् भने विज्ञान भौतिक जगत्को जगमा स्थित जिज्ञासाको घरमा बसेर सत्यको अन्वेषण गर्दछ भने धर्म आन्तरिक रूपमा आत्मामा प्रतिष्ठित भएर सत्यको साक्षात्कार गर्दछ । अर्को तरिकाले भन्नु पर्दा, धर्म प्रायः शाश्वत सत्य को उद्घाटनप्रति बढी झुकाउ राख्दछ भने विज्ञानलाई पहिले सापेक्ष सत्य जान्ने चासो पर्दछ । विज्ञानको पनि संतृप्त अवस्थामा पुग्नु पर्ने ठाउँ त्यहीँ हो, जहाँ धर्मले लैजान्छ ।
यहाँनेर ज्ञातव्य कुरा के छभने दार्शनिकहरू विविध प्रकारका छन् ः कोही शाश्वत सत्य को उद्घोष गर्नेहरू; अनि कोही सापेक्ष सत्य को उद्घोषण गर्नेहरू । शाश्वत सत्य उद्घोषण हो धर्मको क्षेत्र; यता सापेक्ष सत्य उद्घोषण विज्ञानको क्षेत्र हो । शाश्वत सत्य लाई समयको प्रवाहले कुनै फरक पार्दैन; त्यसैले अनेक युगमा जति ऋषि, सन्त, महात्मा, ज्ञानी, गुरु, आचार्य, योगी अवतरित भए पनि तिनीहरूले बारम्बार उही कुरा दोहोर्‍याउने गरेका हुन् । वेदपश्चात् आएका उपनिषद्कालीन ऋषि देखि लिएर तिनका उत्तरवर्ती बुद्ध, तीर्थङ्कर, गुरु, सबैले उनै कुरा बताइरहेका छन्; यद्यपि शैली फरक छ, भाषा फरक छ, हावभाव फरक छ । तर गुदी कुरो उही हो । कन्फ्युसियस, लाओत्जू, जरथ्रुस्त, जीसस क्राइस्ट, पैगम्बर मुहम्मद, ओशो, कृष्णमूर्ति, साईबाबा, ब्रह्माकुमारी जो कसैले पनि भनेको गुदी कुरो त उही हो; परन्तु भन्नेका शैली र ग्रहण गर्नेका ल्याकतले पो फरक पारेको छ । यता भौतिक विज्ञानका महारथीहरूका प्राप्तिका सार पनि ती भन्दा फरक छैनन् ।
सापेक्षसत्य का अनुयायीहरू युगानुसार प्रासंगिक वा अप्रासंगिक ठहरिने हुन्छन् । हिजोका वैज्ञानिकका सिद्धान्त र सूत्रहरू आज मिल्दैनन् र आजका सिद्धान्त र सूत्रलाई भोलीका वैज्ञानिकले अझ विकास गर्नेछन् । धर्मकै नाममा आएका भए तापनि असत्य कुराहरू समयक्रममा त्यागिँदै छन् । तिनमा रहेका शाश्वत सत्य मात्र सदैव स्वीकार्य रहने हुन् । वास्तवमा सापेक्ष सत्य र शाश्वत सत्य बीचमा तालमेल मिलाउन कठिन छ । तर नमिलाई सुखै छैन । युगका अगुवाहरूले ‘शाश्वतसत्य’ र ‘सापेक्षसत्य’ दुबैको गतिसँग आफ्नो हिंडाइलाई तालमेल मिलाउनु पर्दछ । हाम्रो युगलाई पनि त्यसकिसिमको तालमेलको आवश्यकता छ ।
धर्म र विज्ञान यी दुबैको लक्ष्य उन्नति, प्रगति, विकास र सुख नै हो; अनि मानव कल्याण र शान्ति नै हो । सफलता-असफलता तथा सदुपयोग-दुरूपयोग चाहि“ पछिल्ला कुरा हुन् । उदाहरण खोज्न थाल्ने हो भने धर्मको पनि सदुपयोग र दुरूपयोग दुवै थोक गरेको पाइन्छ भने विज्ञानको पनि सदुपयोग र दुरूपयोग दुवै थोक गरेको पाइन्छ । कुनै उदाहरण विशेषलाई औंल्याएर छारो उडाइरहनु र त्यसैलाई र्सार्वजनीन ठान्नु मूर्खता हो । यो त पात्रता अनुसार फरक पर्ने कुरा हो । वास्तविकतामा धर्म र विज्ञानबीचमा कुनै मौलिक विरोध छैन ।
विज्ञानको प्राथमिकता बाह्य स्वरूपलाई छ भने धर्म आत्मिक चैतन्यको पक्ष लिन्छ । उही रुखका हाँगाबिँगाहरू जतासुकै फर्कून् न, जरा त एउटै हो । स्वाभाविक विविधतालाई देखेर एकत्व नदेख्नु कहाँसम्मको मूढता !
मानवलाई धर्म र विज्ञान दुबैले अरु सबै जीवभन्दा उच्चतहमा राखेका छन् । यो मानव शब्द बनेको छ तीन अक्षर मिलेर । मा – अज्ञान, अविद्या । न – बिना । व – वर्तन – कार्य ) । अर्थात्, अज्ञान-अविद्या त्यागेर कार्य गर्नेलाई मानव भनिएको छ । अज्ञान त्याग्नु भनेको ज्ञान प्राप्तितर्फलाग्नु हो, ज्ञान प्राप्त गर्नु ज्ञानी बन्नु हो, ज्ञानी बन्नु भनेको आफू र आफ्नो जगत् तथा त्यसको कारण जान्नु हो । यसरी आत्मज्ञानको स्थितिमा पुगेपछि आत्मज्ञान नै परमात्मा- ज्ञान (इश्वरप्राप्ति) को सोपान हो, इश्वर वा ब्रह्मतत्व साक्षात्कार गर्नु नै परमसत्य हो । मानवको परमलक्ष्य ‘मोक्ष’ हो ।
हाम्रा धर्मशास्त्रहरूले बारम्बार हामीलाई बताइरहेका छन् – धर्म नै सत्य हो । धर्मबिना मानव व्यर्थ छ । अनि त्यो वैज्ञानिक, जसको लक्ष्य नै जीवन र जगत्को सत्य अन्वेषण गर्नु हो, कसरी परमसत्य ब्रह्मतत्वबाट पर रहन सुहाउँछ – उसको खोज नै सत्यतर्फपरिलक्षित हुनेहुँदा ध्रुवसत्य एवं परमसत्य परब्रह्मलाई वैज्ञानिकले नकार्न मिल्दैन । धर्मको शुद्ध स्वरूप र विज्ञानको पनि शुद्ध स्वरूप र्छलङ्ग हुँदा धर्म र विज्ञानको एकत्व सहजै दृष्टिगोचर भइहाल्छ ।
विज्ञान र धर्मलाई भिन्न देख्नु दृष्टि-दुर्बलता हो । तथ्य कुरा के हो भने, धर्म र विज्ञान एउटै सिक्काका दुई पाटा हुन्, एक-अर्काका परिपूरक । यहा“नेर आधुनिक विज्ञान जगत्का महान् व्यक्तित्व आइन्सटाइनलाई उद्धृत गर्नु उपयुक्त हुनेछ।आइन्सटाइनको भनाइ छ- धर्मबिनाको विज्ञान लङ्गडो र विज्ञानबिनाको धर्म अन्धो हुन्छ । यदि अपूर्णताबाट पूर्णतातिर जाने हो भने धर्म र विज्ञान समानरूपेण अपनाइनु पर्छ । भनिएकै छ कि ज्ञान (धर्म) र विज्ञानको हात कर्ममा जोड्नु पर्दछ ।
आज तथाकथित आधुनिकताको मदले चूर भएकाहरूमध्ये धेरैको प्रवृत्ति देखिएको छ कि विज्ञानको नाम लिँदै धर्मको विरोधमा बकबकाउँदै हिंड्छन् । शिक्षाको नाममा स्थापित मूल्य-मान्यता विरोधी कुराहरू प्रचारित गर्ने फेशन चलेको छ। तर, जुन शिक्षाले सद्वृत्ति जागृत गराउँदै हृदयमा प्रविष्ट भएर मानवलाई एक श्रेष्ठ-जीवन-स्वप्नले भर्दैन, त्यो शिक्षा होइन साक्षरता मात्रै हो । अहिले शिक्षाको नाममा फगत् साक्षरता मौलाएको छ, यद्यपि कागजी प्रमाणपत्रहरू दिएर-लिएर बकाइदा विद्वत्ताको बिगुल फुकिरहेको स्थिति छ । देखिएकै छ कि परम्परा तथा स्थापित मूल्य-मान्यता बारेमा अनर्गल बकबास गर्ने लफङ्गाहरूलाई क्रान्तिकारी ठान्दिने गरेको । आफ्नै घरमा आगो झोस्ने, अनि टुप्पातिर बसी फेद काट्ने कार्य पनि क्रान्ति – हास्यास्पद । परम्परा, संस्कार, संस्कृतिका असल पक्ष पनि देख्न नसक्ने अन्धाहरू तथा विज्ञानको गलत व्याख्या गर्दै शास्त्र, इश्वर, धर्मको उपहास गर्न समेत अघि र्सर्ने उद्दण्डहरू यत्रतत्र छ्यास्छ्यास्ति भेट्न पाइन्छ । हामी यस्तो निर्रथक क्रान्ति अस्वीकार गर्दछौं । वास्तवमा क्रान्ति सकारात्मक हुनुपर्छ र निर्माण औचित्ययुक्त । हामी नकारात्मकताले भरपूर ध्वंशका पक्षधर होइनौं, हामी त सकारात्मक क्रान्तिका पक्षधर हौं ।
अर्कातिर ‘धर्म’ भन्ठानेर अन्धविश्वास, फाहोरमैला, विकृतिलाई पनि अँगालेर बस्न चाहने कूपमण्डूकहरू पनि नभएका होइनन् हाम्रो समाजमा । धार्मिक तथा परम्परावादी हुनुको अर्थ यो होइनकि हिजो जे गरिन्थ्यो आज पनि हुबहु उही गरियोस् । थुप्रै कुराहरू देश, काल, परिस्थिति अनुरूप परिवर्तन, परिमार्जन हुन्छन् /हुनुपर्दछ । आजभन्दा पचास वर्षअघि बागमती नदीमा नुहाएमा पुण्य मिल्छ भनेर प्रतिदिन स्नान गरेको परम्परालाई कायम राख्न आज फोहोरले डुङ्डुङ्ती गनाएको बागमतीमा नुहाउनु त भएन नि !
अनि बागमती फोहोर भयो भनेर छिःछिः दुर्दुर् मात्र गर्ने र त्यतातिर पाइलै नहाल्ने जस्तो ‘सुघ्घरीपना’ पनि के काम – वैज्ञानिकतायुक्त धर्म र धार्मिकतायुक्त विज्ञान सम्मत कुरा त यो हुन्छकि बागमती नदीको हिजोकै गौरव कायम राख्न यसलाई शुद्धिकरण गरियोस् ।
यस कुरालाई अर्को एउटा उदाहरणबाट हेरौं । सुनलाई बहुमूल्य सम्पत्तिको रूपमा लिने प्रचलन हाम्रो समाजमा छ । यो धातुमा के त्यस्तो जादू छ कुन्नि ! जे होस्, सुनको गहना धेरै समयसम्म लगाउँदा त्यसमा कस (मयल) लाग्छ र त्यति राम्रो गहना मयलका कारण फोहोर र घिनलाग्दो पनि देखिन्छ । अब कस नै कसले छोपिएको सुनको त्यो गहनालाई के गर्ने – यस सन्दर्भमा विभिन्न किसिमका प्रवृत्ति र व्यवहार हामी देख्दछौं । यीमध्ये तीनथरी प्रमुख छन् । एकथरी हुन्छन् जो आफ्नो गहनामा मयल परोस् वा जेसुकै होस्, त्यसलाई जस्ताको तस्तै स्वीकार गर्दछन् । गहनामा जमेको फोहोरलाई पनि गहनाकै अभिन्न अंग ठान्ने उनीहरू कसैले कस सफा गर्ने प्रयास गरेमा त्यसलाई सहँदैनन् । अनि अर्काथरीचाहिँ गहनामा लागेको फोहोरलाई मात्र देख्छन् र त्यो गहनालाई नै फाल्ने कुरा गर्दछन् । यी दुई अतिवादीहरूका बीचमा नीर-क्षीर विवेकी व्यक्तिहरू पनि हुन्छन्, जो गहनामा जमेको फोहोरलाई शुद्धिकरण गर्दै शुद्ध स्वरूपमा गहनालाई उजिल्याउन प्रयास गर्दछन् । सुनको शाश्वततालाई चिन्दछ र्’धर्म’ले र त्यसमा लागेको फाहोरलाई फाल्दछ ‘विज्ञान’ले ।
अहिले मान्छेहरू धर्मको अनौठा-अनौठा परिभाषा गर्छन् । हिन्दू धर्म, बौद्ध धर्म, जैन धर्म, सिख धर्म, बोन धर्म, शिन्तो धर्म, क्रिश्चियन धर्म, इस्लाम धर्म, यहुदी धर्म, आदि-इत्यादि । यी त सम्प्रदाय हुन्, मजहब हुन्, रेलिजन हुन् । असली धर्मतत्वलाई यस्ता ‘ट्रेडमार्क’ले छोपेका छन् । ‘धर्म’ भन्ने जुन शब्द छ, यसको समानार्थकमा ‘रेलिजन’ तथा ‘मजहब’लाई बुझ्नु गलत छ । धर्म त व्यापक छ र रेलिजन-मजहब-सम्प्रदायले धर्मको पूरा अर्थ हुँदैन ।
यसबारेमा म थप चर्चा गर्न चाहूँला । ‘धर्म’लाई अंग्रेजी शब्द रेलिजन को समानार्थक मानेर अनुवाद गर्ने गरिएतापनि वास्तवमा यो सही अनुवाद होइन । धर्म शब्दको खास अर्थ र रेलिजन शब्दको अर्थमा ठूलो भिन्नता छ । ‘रेलिजन’ले एउटा सम्प्रदाय वा ‘मजहब’ मात्र जनाउँछ; यता ‘धर्म’चाहिँ व्यापक अर्थ भएको शब्द हो । आरम्भमा धर्म-तत्व एउटै थियो तापनि कालान्तरमा मान्छेले धर्मका नाममा अनेक कर्महरू अपनाउँदै गयो; अनेक रीतिरीवाज, विधि-विधान, चाल-चलन, प्रथाहरू प्रचलित हुँदैगए; अनि धर्मलाई तिनै भौतिक क्रियाकलापका आधारमा छुट्ट्याउने/ खुट्ट्याउने गर्न थाले । देश, काल, परिस्थितिमा अनेकता हुँदा कर्म, रीतिरीवाज, विधि-विधान, चाल-चलन, प्रथा आदि जस्ता भौतिक क्रियाकलापमा पनि अनेकता आउन थाल्नु स्वाभाविकै भयो । तर, जब मान्छेले वास्तविक धर्म-तत्वलाई बिर्सेपछि विकसित गरिएका भौतिक क्रियाकलापलाई नै धर्म ठान्न थाल्यो तबदेखिनै मतभेद पनि प्रकट भयो । धर्मको वास्तविक तत्वलाई भन्दापनि यिनै कुराहरूलाई महत्व दिने प्रवृत्तिले धर्मका नाममा संर्घष सुरु गरायो । संसारमा धर्मका नाममा पटक-पटक हिंसा भड्केको छ; धर्मको निहुँमा मानव-रक्तको खोलो धेरैपल्ट बगेको छ । ‘धर्म’ सम्प्रदायगत ट्रेडमार्कले छोपिएर मान्छे धर्मको भ्रममा अन्तर-कुन्तरमै जकडियो । अहिले त धर्म भन्नासाथ “कुनचाहिँ धर्म -“, अनि मेरो धर्म र तेरो धर्म भनेर आपसी लडाइँ, मारकाट गर्ने बहाना बनाएका छन् धर्मलाई ।
यदि मानव समाजले असली धर्म-तत्व आत्मसात् गर्ने होभने धर्मका नाममा हुने गरेका सारा द्वन्द्वको औचित्य नै रहने छैन । प्रारम्भमा धर्म-तत्व एउटै थियो; तब अहिले किन हुन सक्दैन – अवश्य हुनसक्छ । यसका निमित्त वैज्ञानिक विश्व-दृष्टिकोण आवश्यक छ । धर्मको मीमांसा विज्ञानको कसीमा गर्ने हो भने दूधको दूध पानीको पानी नछुट्टिने कुरै छैन ।
विश्वको सर्वप्राचीन धर्मग्रन्थ ‘वेद’ भएकाले यसमा वणिर्त धर्म-तत्वलाई मानव समाजको ‘आदिधर्म’ मान्नुपर्ने हुन्छ । हुन पनि वेदमा कहिएको धर्म सम्प्रदायगत ‘ट्रेडमार्क’ भन्दा अलग्गै र सारा मानव-समाजकालागि समानरूपेण लागू हुनसक्ने छ । यहाँनेर मलाई मेरा परमपूज्य पिताजीको उपदेश स्मरण हुन्छ( “वेद विश्वको विधान हो भन्नुमा अत्युक्ति हुनेछैन । ‘वेद’को अर्थ हो ज्ञान । ज्ञान भनेको जान्नु हो । जान्नका निमित्त सिक्नु पर्दछ । सिक्नुलाई शिक्षा भनिन्छ । शिक्षा प्राप्त गरिसकेका व्यक्तिहरू शिक्षित कहलाउँछन् र वास्तवमा उनीहरू शिष्ट बन्दछन् । यही शिष्ट शब्दमा आचार समेत जोडिएपछि बन्छ- शिष्टाचार । आचार शब्द आङ्ग उपसर्ग पूर्वक चर धातुबाट बनेको र आङ्गपूर्वक चर धातुको गर्नु अर्थ भएको हुनाले आचारको अर्थ हो- गरिने कुरा । शिष्टहरूले गरिने कुरा शिष्टाचार र गर्न नहुने कुरा अनाचार भन्ने हाम्रो परम्परा छ ।
यो कुरा यसरी गर्नु भनेर सूत्र (छोटकरी) रूपमा सिकाउने र त्यसको विपरीत व्यवहार नगर्नलाई व्यवस्था गर्ने लिखत वा ग्रन्थलाई विधान भन्ने चलन छ । एकै वाक्यमा बताउनुपर्दाखेरिमा, वेद विश्वको विधान हो किनकि यसले शिष्टाचारको ज्ञान दिन्छ र मानव समाजलाई अनाचारबाट जोगाउँछ ।
वेदमा दुई किसिमको शिक्षा पाइन्छ । एक, व्यावहारिक र अर्को, पारमार्थिक । व्यावहारिक शिक्षा सूत्र रूपमा पाइन्छ र पारमार्थिक शिक्षा विस्तृत रूपमा । यसको रहस्य केभने व्यावहारिक वस्तुहरू बदलिइ रहन्छन् । बदलिइ रहने वस्तुको विशेष बयान गर्नु र्व्यर्थ कुरा हुन्छ । पारमार्थिक वस्तु बदलिँदैनन्; ती सधैं एकनाश रहन्छन् । परमार्थ -सत्य-वस्तु) को पत्ता लगाउने हुनाले यिनलाई पारमार्थिक भनिएको हो र यस सम्बन्धी शिक्षालाई पारमार्थिक शिक्षा भनिन्छ । पारमार्थिक शिक्षाको अर्को नाम हो अध्यात्मज्ञान ।”
वेद-निर्देशित धर्म-तत्वलाई अवलम्बन गर्नासाथ धर्मका नाममा सृजित सारा समस्याहरू समाधान हुन सक्दछन् । धर्म यस्तो तत्व हो जसका कारणले मनुष्य पशु बन्नबाट जोगिएको छ । अर्थात्, धर्मनै यस्तो चीज हो जसका कारण मान्छे अरु भन्दा पृथक् रहेको छ । धर्म अवलम्बन गर्दैन भने मान्छेले श्रेष्ठताको दाबी गर्न मिल्दैन । धर्मले मान्छेको आध्यात्मिक, आधिदैविक, आधिभौतिक अभ्युदय गराउँछ ।
‘रेलिजन’को /’मजहब’को चक्करमा नपर्ने होभने; तिन्लाईनै धर्म ठानेर भ्रममा नपर्ने होभने र्व्यर्थ हुनेछन् ‘जेहाद’ र ‘क्रुसेड’हरू । धर्म लडाइँ गर्ने चीज होइन; यो त पवित्र जीवन-पद्धति हो । धर्म शब्द ‘धृ’ धातु (धारणा गर्नु)बाट निष्पन्न भएको हो । यसबाट देखिन्छकि धर्मको अर्थ धारणा हो जसले हामीलाई जीवनकोलागि धारणाहरू प्रदान गर्दछ । ती धारणाहरूको फलस्वरूप मान्छेको जीवन पतनबाट बच्दछ । धर्मले हामीलाई नराम्रा काम-कुराबाट बच्ने ज्ञान दिन्छ । धर्मले मानवलाई राम्रा नियम, राम्रा गुण, असल विचार र दृष्टिकोण अपनाउन भन्छ; अनि नराम्रो काम गर्नबाट रोक्छ । धर्मज्ञानको धेरै भाग नैतिक-चारित्रिक शिक्षायुक्त छ । संसारमा जतिपनि धर्म छन्, तिन्को एउटा मुख्य उद्देश्य मानवको चरित्रको उत्थान हो । जस्तोकि ऋग्वेदमा जीवनका शाश्वत मूल्यहरूको स्थापना एवं अवलम्बन गर्न धर्मले प्रेरणा दिन्छ । अनि, मनुस्मृतिमा धर्मको लक्षण बताइएको छकि धैर्य, क्षमा, दम (‘विषय-वासना’ हटाउनु), अस्तेय, शौच, इंद्रियनिग्रह, धी (बुद्धि), विद्या, सत्य र अक्रोध यी धर्मका दश लक्षण हुन् । यसमा कुनै सम्प्रदायवालाले आपत्ति जनाउनु पर्ने वा अस्वीकार गर्नुपर्ने के छ र ! महर्षि कणाद जब भनिरहेका हुन्छन्कि जसबाट अभ्युदय, उन्नति या कल्याण हुन्छ तथा “मुक्ति’ प्राप्ति हुन्छ त्यही धर्म हो (यतोभ्युदयनिःश्रेयससिद्धिः स धर्मः) -तब कहाँनेर छ विवाद/ अस्वीकार गर्नुपर्ने ठाउँ –
ऋग्वेदमा भनिएको छकि एक्लै खानेवाला पापी हो र बाँडेर खानेवाला पुण्यभागी हुन्छ, धर्म पाउँछ । यस्तो मानवतावादी धारणालाई कुनै सम्प्रदायको भनेर कसैले आलोचना गर्न सक्छ – वास्तवमा समस्त विश्वको साझा विश्वर्-धर्म बन्न वेदद्वारा निर्देशित गरिए अनुरूपको ‘धर्म’मात्र सक्षम छ । यदि विभिन्न सम्प्रदायगत ‘ट्रेडमार्क’हरूमध्येबाट रोज्नु परेमाचाहिँ जसले वेदको उत्तराधिकार बोकेको छ त्यहीतर्फहामी र्फकनु पर्ने हुन्छ ।
धर्म अवलम्बन गर्नुको मतलब धर्मका नाममा मारकाट मच्चाउनु वा द्वेष फैलाउनु भनेको पटक्कै होइन । धर्मका नाममा लडाइँ, मारकाट, हिंसा, शस्त्रास्त्रको उपयोग आदि-इत्यादि त राजनीति हो, अर्थनीति हो; धर्मनीति होइन । कहिलेकाहिँ तीपनि आवश्यक पर्लान्; तर तिन्लाईनै धर्म मान्नु गलत हो । धर्मयुक्त जीवनमा तीबाट प्रायः पर रहनु पर्दछ । कर्म, रीतिरीवाज, विधि-विधान, चाल-चलन, प्रथा आदि जस्ता भौतिक क्रियाकलापमा अनेकता भएकै निहुँमा शस्त्रास्त्रको बलमा अरुलाई आफ्नो मतमा तान्न ‘जेहाद’ र ‘क्रुसेड’ गर्नु धर्म होइन । एउटा धार्मिक व्यक्तिले अर्को व्यक्तिलाई पनि आफूजस्तै देख्ने हुनाले त्यहाँ परपीडा हुँदैन, द्वेष हुँदैन, क्रोध हुँदैन, झै-झगडा र मारकाट हुँदैन, हिंसा हुँदैन । परोपकार उसको जीवनको स्वाभाविक कर्म हुन्छ । ‘सर्वे भवन्तु सुखिनः’को भावनाले भरिपूर्ण हुन्छ धार्मिक व्यक्ति । धर्म मानवताको उच्चतम स्वरूप भएकाले ‘वसुधैव कुटुम्बकम्’लाई स्वतः आत्मसात् गरेको हुन्छ /हुनुपर्छ । तब, कुटुम्ब-कुटुम्ब बीचमा पनि केको युद्ध –
यता विज्ञान पनि त बन्धुहत्या गर्न जन्माइएको होइन । तर विज्ञानको विकासलाई विनाशको अट्टाहासमा परिणत गर्नेहरू पनि छन् । सारा संसार युद्धको विभिषिकाले त्रस्त भएर त्राही त्राही गरिरहँदा विज्ञानको घोडा चढेर हिंस्रक मनोवृत्तिका मान्छेहरू बन्धुहत्यामा जुटेका छैनन् र ! तर मूल स्वरूपमा हिंस्रक, विनाशक होइन विज्ञान । ऊ पनि धर्म जस्तै कल्याणकारी हो ।
धर्मको अर्को समानार्थक शब्दावली शायद सत्यम् शिवम् सुन्दरम् मात्रै हुनसक्ला । यस्तो धर्म कसरी विज्ञान-असम्मत हुन सक्छ –
त्यसो त मान्छेहरूमा धर्म र विज्ञान एक-अर्काका शत्रु भएको भ्रम पर्नुको कारण छ । विगतमा चर्चले कैयौं वैज्ञानिकहरूलाई प्रताडित गरेको, कतिपयलाई जिउँदै जलाएको, यस्तो यस्तो घृणित कार्य गरेको थियो । बाइबलको, इर्साई धर्मको खोल ओडेर पोप-पादरीहरूले विज्ञानको दमन गर्ने दुस्प्रयास धेरैपल्ट गरे । अचेलपनि इस्लामको नाममा फतवा जारी गरिएका हामी सुन्छौं । यी पनि कुरानको, इस्लाम धर्मको खोल ओडेर विज्ञानलाई सिध्याउन चाहन्छन् । जस-जसलाई सत्यसँग द्वेष छ, तिनीहरू विज्ञानसँग डराउँछन् । दुर्भाग्यको कुरा हो कि विज्ञानसँग डराउने यस्ता मर्ूखहरूले धर्मको आड लिने चलाखी देखाउने गरेका छन् ।
धर्मको प्रतिकूल कुराहरूलाई समेत धर्म नै ठान्दिने-मान्दिने गलत कार्य भएको छ । मार्क्सले धर्मको विरोध गरेको पनि चर्च, पोप, पादरी, मुल्ला, मौलवी, मठाधिशहरूको व्यवहार देखेर नै हो । यदि मार्क्सलाई कोही सुयोग्य गुरुसँग वेद, उपनिषद्, गीता आदि पढ्ने सौभाग्य मिलेको भए उनी स्वयम्ले आफ्नो कम्युनिष्ट मेनिफेस्टो बाकसमा थन्क्याइदिने थिए । उनलाई त्यो सौभाग्य मिल्न सकेन र एउटा व्यक्तिको अभाग्यले डोर्‍याएर साराका सारा कम्युनिष्टहरू धर्मको नामस“ग नै उतर्सिने विडम्बनापूर्ण स्थिति रह्यो । उनका उत्तराधिकारीका रूपमा आएका एंगेल्स, लेनिन, स्टालिन, माओ आदिको समस्या पनि उही हो । तपाईंलाई थाहै छ कि स्वयम् स्वामी विवेकानन्द समेत सुयोग्य गुरु रामकृष्ण परमहंस स“ग भेट नहुँदासम्म उग्र नास्तिक हुनुहुन्थ्यो । तर सुयोग्य गुरु प्राप्त गर्ने उहाँको सौभाग्य थियो । त्यस्तै सौभाग्य नपाएकाहरू मात्रै नास्तिकताको अँध्यारोमा जकडिन्छन् ।
यहा“ धर्मको स्वरूप नबुझेरै धर्मको नाम पारेर द्वन्द गरिएको देखिन्छ । धर्मको नाममा ठूल्ठूला नरसंहारकाण्ड पनि मच्चाए । अर्काको प्राणहत्या गरेर, अरुलाई मारेर धर्म हुने भए को पापी हुँदो हो – पण्डावादले र सामन्तीहरूको मनलाग्दी र आफूअनुकूल व्याख्या तथा स्वेच्छाचारिताले वास्तविक धर्मतत्व पछाडी धकेलियो । हुँदाहुँदा धर्म र विज्ञानलाई त विपरित ध्रुवमा राख्न थालियो । मान्छेको धर्मको नाममा साँघुरिएर सम्प्रदाय, मजहब, रेलिजनको घेरामा जकडिए । धर्मको विरोध गर्नेहरूको स्थिति त झन् विडम्बनापूर्ण भयो – उनीहरू झन् निम्नस्तरको सम्प्रदायका उपासक पो हुनपुगे । उदाहरण दिन सकिन्छ – कम्युनिष्टहरू धर्मको उग्र विरोध गरिरह“दा आफूहरू मार्क्स, लेनिन, माओका तस्वीर पूजा गर्छन् र तिनीहरूको अन्ध र्समर्थनको तरिका संकीर्ण सम्प्रदाय वा मजहबको जस्तै छ । यद्यपि उनीहरू विज्ञानको धेरै दुहाइ दिन्छन् । कम्युनिष्ट-इतरका नास्तिकहरू, जस्तै ः पूँजीवादी, पनि उही ड्याङ्का हुन् । हामीले बुझ्नैपर्ने कुरा छ कि रेलिजन-मजहब-सम्प्रदायरु विज्ञानबिनाका पनि हुनसक्लान्, तर धर्म कदापि विज्ञानबिनाको हुँदैन । धर्मको जग विज्ञान हो, धर्म विज्ञान-प्रतिपादित छ । आधुनिक विज्ञान अझ पूर्णतातिर लागेपछि हामी यही निष्कर्षा पुग्नेछौं कि धर्म र विज्ञान एक-अर्काका विरोधी होइनन् । शुद्ध रूपमा रहन दिइएको ‘धर्म’को र पूर्णतामा पुगेको ‘विज्ञान’को क्षेत्र एउटै हो । एउटा चरमोत्कर्षा पुगेपछि विज्ञान धर्मसमक्ष नतमस्तक हुन्छ र सही स्वरूपमा धर्मले विज्ञानलाई ममतापूर्वक अङ्गीकार गर्दछ ।
एक्लो धर्मको अनुशरण गर्छु भन्दाखेरी मान्छे अन्ध-संकीर्णतावादमा जकडियो, अनि एक्लो विज्ञानको अनुशरणले चाहिँ मान्छेलाई उग्र-भौतिकतावादको भासमा पतन गराउने स्पष्टै छ । धर्म र विज्ञानको समन्वय नै ठीक कुरा हो र यही अत्युत्तम हुनेछ । धर्म र विज्ञानको एकत्वमा मानव समाजको हित निहित छ । अबका दिनमा धर्मको पक्ष वजनदार हुनुको कारण के पनि हो भने मानव समुदायलाई उसको उज्ज्वल भविष्यका निमित्त धर्म-तत्वको आवश्यकता झन् बढेको छ । मलाई के लाग्छ भने मानव जति बढी मात्रामा शक्तिसम्पन्न हुन्छ उति नै बढी मात्रामा उसलाई धर्म-तत्व आवश्यक हुन्छ । धर्म र विज्ञानको समन्वय अबका दिनहरूमा झन् झन् अत्यावश्यक देखिएको छ ।
सबभन्दा महत्वपूर्ण सवाल के हुनसक्छ भने धर्मले मानव समुदायलाई भविष्यमा कस्तो योगदान पुर्याउला – त्यही योगदानमा नै यसको महत्व पनि प्रष्टिएला । मैले बारम्बार भनेको छु कि धर्म भन्दाखेरीमा धर्मको नाममा पलाप्पिएका आडम्बर, ढोँग, पाखण्ड, रुढीवादिता तथा लौकिक व्यवहार आदिलाई मात्रै ठान्नु हुँदैन र असली धर्म-तत्व बुझ्नु पर्दछ । त्यस्तो असली धर्म-तत्वसँग विज्ञानको कुनै वैरभाव हुँदैन । अनि त धर्म र विज्ञानकाबीचमा सामञ्जस्यताले मानव जातिमा प्रकाशमय प्रभाव पार्नेछ ।
यहाँनेर एकजना विद्वानलाई उद्धृत गर्नु सान्दर्भिक होला, जसको भनाइ छ ः- मलाई कस्तो लाग्छ भने त्यस्तो प्राणीका निमित्त धर्म जीवनको आवश्यकता नै हुन्छ जो चेतनासम्पन्न छ र त्यसैको परिणाम स्वरूप शक्तिसम्पन्न पनि छ, अनि जो त्यसै कारणले गर्दा छनोट गर्नैपर्ने अपरिहार्य दायित्व पनि बहन गर्न पुग्छ । मानिसको शक्ति जति ठूलो हुन्छ त्यति नै ठूलो मात्रामा उसलाई धर्म आवश्यक हुन्छ । यदि विज्ञानको प्रयोग धर्मद्वारा प्रेरित र निर्देशित भएन भने विज्ञान लोभ लालचाका लग्गूपनका निमित्त प्रयोग हुनेछ र विज्ञानले लोभलालचालाई प्रभावकारी रूपमा त्यति सेवा पुर्याउनेछ जसको फलस्वरूप विज्ञान विनाशकारी हुन पुग्नेछ । त्यस्तै अर्का एकजना विद्वान भन्छन् ः- आध्यात्मिकता र भौतिकताका सम्बन्ध बारेमा जुन धारणा लोकप्रचलित भइरहेको पाइन्छ त्यसमा अब मौलिक परिवर्तन ल्याउनु आवश्यक छ । आध्यात्मिक कल्याणको स्तरलाई उचाल्नु नै हाम्रो पहिलो चासो हुनुपर्छ र भौतिक कल्याणका स्तरको उन्नयनलाई दोस्रो प्राथमिकता दिइनुपर्छ । अर्कोशब्दमा भन्नुपर्दा समाजको सांस्कृतिक, धार्मिक, शैक्षिक विद्वत्तात्मक तथा कला कार्यक्रम, पूर्ण रोजगारी तथा लोक-कल्याणका अन्य भौतिक पक्षलाई अवश्यै उच्चस्तरको आध्यात्मिक समाजको निर्माणका प्रयोजनका निमित्त विकसित गरिनुपर्दछ ।
कठोपनिषद्, द्वितीय अध्याय, तृतीय वल्ली, श्लोक ७/८ मा भनिएको छ ः
इन्द्रियेभ्यः परं मनो मनसः सत्त्वमुत्तमम् ।
सत्त्वादधि महानात्मा महतो˜व्यक्त मुत्तमम् ।।
अव्यक्तात्तु परः पुरूषो व्यापको˜लिङ्ग एव च ।
यं ज्ञात्वा मुच्यते जन्तुरमृतत्वं च गच्छति ।।
अर्थात् इन्द्रिय भन्दा मन श्रेष्ठ छ, मन भन्दा बुद्धि उत्तम छ, बुद्धि भन्दा त्यसको स्वामी जीवात्मा उच्च छ र जीवात्मा भन्दा अव्यक्त शक्ति (प्रकृति अथवा माया) उत्तम छ । परन्तु अव्यक्त भन्दा पनि परमात्मा श्रेष्ठ छन्, जो निराकार रूपले र्सवत्र व्याप्त छन् । यही ब्रह्मतत्वको ज्ञान भएर नै जीवात्मा मुक्त हुन्छ र अमृतस्वरूप ब्रह्ममा प्राप्त हुन्छ ।
शरीर अनित्य छ । जुन वस्तुको जन्म हुन्छ, त्यसको मृत्यु पनि हुने निश्चित भएकाले शरीर विनाशी छ । यस्तो आदि र अन्त्य भएको शरीर परम् सत्य हुन सक्दैन । इन्द्रियहरू पनि नाशवान् हुन् । वस्तुतः शरीर आत्माको साधन मात्र हो । आत्मा नित्य र अविनाशी छ । यो न कहिल्यै जन्मिन्छ, न त कहिल्यै मर्छ, यो त अजन्मा, अविनाशी, प्राचीन र सनातन हो । हामी जो मृत्यु भएको भन्दछौं, त्यो त मानिसले पुराना फाटेका लुगाहरू त्यागेर नयाँ लुगा लगाएझैं वा र्सपले काँचुली फेरेझैं आत्माले आफ्नो वासस्थान फेरेको हो । जबसम्म विषय-वासनाबाट मन विरत हुँदैन, तबसम्म यस्तो प्रक्रिया चलिरहन्छ (जसलाई पुनर्जन्म भनिन्छ । तर आत्मज्ञान प्राप्त भइसकेपछि पुनः जन्मने कुनै प्रयोजन नै बाँकी नरहने हुनाले पुनर्जन्म हुँदैन । मानिसको जन्म ठूलो पुण्यले मात्र मिल्ने हुनाले यसलाई मोक्ष पाउनको लागि सदुपयोग गर्नैपर्दछ ।
भौतिक सुखलाई हामी निषेध गर्दैनौं, प्रत्युत महत्वपूर्ण ठान्दछौं । हिन्दू जीवनमा मोक्षप्रतिको अत्यधिक आग्रहको अर्थ भौतिक जगत्प्रतिको निरपेक्षता होइन । इन्द्रियजन्य मोह वा भ्रमप्रति अनिच्छा भएतापनि मानव चेतनाप्रति वैदिक मतमा अगाध श्रद्धा रहेको छ । मानव शरीरलाई मूलतः पापमय मान्ने पाश्चात्य अवधारणा रहेको छ । हिन्दू अवधारणामा पञ्चतत्वबाट बनेको शरीर त मोक्षको साधन हो; जुन साधन त्यति महान् लक्ष्यकालागि सहायक बन्नेवाला छ, त्यस्लाई पापमय कसरी मान्न सकिन्छ र ! क्षणभंगुर भएतापनि यसले मोक्षको प्राप्तिमा पुर्‍याएको सहयोगप्रति कृतज्ञता भाव रहेकै हुन्छ एक आदर्श हिन्दूमा । त्यसैले त मोक्षको प्राप्तिनेरै पुगिसक्दा पनि भर्तृहरि भन्छन् – “हे माता पृथ्वी, पिता वायु, मित्र अग्नि, सुबन्धु जल, भ्राता आकाश ! तिमीहरूलाई मेरो यो अन्तिमपल्ट हात जोडी नमस्कार छ, तिमीहरू सबैको साथबाट उत्पन्न पुण्यका आधिक्यले स्फुरित भएको निर्मल ज्ञानले मोहको सारा महिमालाई पार गरी म परब्रह्ममा लीन भइरहेको छु ।”
यस्तो कृतज्ञता भाव रहन्छ हिन्दू जीवन पद्धतिमा । पुरुषार्थ-चतुष्टयका रूपमा मोक्ष चरम् प्राप्ति अवश्यै हो; मानव जीवन पाएर पनि मोक्ष नपाउनेले महानतम् अवसर गुमाएको ठानिन्छ; किन्तु त्यस शृंखलामा अर्थ, काम र धर्म पनि छन् भन्ने हामीले भुल्नु हुँदैन । अर्थ र काम भौतिक उन्नतिको कसीका रूपमा रहेका छन् भने धर्म भौतिक र आध्यात्मिक उन्नतिको सेतुका रूपमा रहेको छ । अवश्य नै धर्मले परलोक सुधार्छ; तर धर्मको ध्येय त्यतिमात्रै चाहिँ हुँदैहोइन । ‘इहलोक’ पनि यसले सुधार्नु पर्दछ र सुधार्दछ पनि । यदि यसले ‘इहलोक’ सुधार्न नसक्ने हो भने यसको उपादेयता नै प्रश्नको घेरामा पर्दछ । वास्तवमा धर्म र विज्ञानको समन्वय नभई पुरुषार्थ चतुष्टयको पर्ूण्ा-प्राप्ति हुँदैन । वैदिक परम्पराका दर्शन-शास्त्रको विशेषता छकि यी मनुष्यका आधिभौतिक, आधिदैविक, आध्यात्मिक सबै तहलाई सम्बोधित गर्दछन् ।
अर्थात्, वैज्ञानिकतायुक्त धर्म एवम् धार्मिकतायुक्त विज्ञान । धर्म र विज्ञानको सहकार्य, सह-अस्तित्व एवं सामञ्जस्यताको कुरा गर्दा म कुनै नयाँ र असम्भव कुरा गरिरहेको छैन । धर्म र विज्ञानको ऐक्यता, सहकार्य, सह-अस्तित्व, सामञ्जस्यताले मानव समुदायको हित हुने कुरामा विश्वस्त हुन सकिन्छ । आजको पुस्ताको हरेक व्यक्तिले यसैको निमित्त प्रयत्न गर्नु उसको ‘युगधर्म’ हो । अस्तु ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s


%d bloggers like this: